२१ कार्तिक २०८१, बुधबार
त्रिशूलीमा बस खस्दा ८ जनाको मृत्यु,आठ जना घाइते (अपडेट)

  • टाइम्स संवाददाता

  • ६ भाद्र २०८०, बुधबार १२:५९

काठमाडौं: धादिङको गजुरी–२ चालिसे भन्ने स्थानबाट त्रिशूली नदीमा यात्रु बस खस्दा ८ जनाको मृत्यु भएको छ । आठ जना घाइते भएका छन् । काठमाडौंबाट पोखरा जाँदै गरेको प्रदेश ३–०१–००५ ख ९९५२ नम्बरको बस आज बिहान सवा ११ बजे सडकबाट करिब ४० मिटर तल त्रिशूली नदीमा खसेको थियो ।

दुर्घटनामा २ महिला र ६ पुरुष गरी ८ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता एवम् डिएसपी सन्तु जयसवालले जानकारी दिए । ‘घटनास्थलबाट १६ जनाको उद्धार गरिएको थियो, तिनीहरुमध्ये ८ जनाको डेथ भएको छ र ८ जना घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ,’ डिएसपी जयसवालले भने । घटनास्थलमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली उद्धारमा खटिएका छन् ।
घाइते १६ जनामध्ये १४ जनालाई थप उपचारका लागि काठमाण्डौ पठाएको र दुई जनाको स्थानीय स्वास्थ्य संस्थामै उपचार भइरहेको छ  ।ज्यान गुमाउनेमध्ये दुई जना महिला र छ जना पुरुष हुन् । गाडीमा कति यात्रु थिए भन्ने खुलेको छैन । गाडीका चालक तथा सहचालकको अवस्था पनि थाहा नभएको डीएसपी जयसवालले भने ।

 

अपडेट

पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी गाउँपालिका वडा नम्बर २ चालिसेमा बुधबार भएको बस दुर्घटनामा मृत्यु भएका मध्ये ३ जनाको परिचय खुलेको छ।

परिचय खुलेका मृतकमध्ये म्याग्दीको रघुगंगा गाउँपालिका ३ बस्ने ५० वर्षीय थानबहादुर भण्डारी, पर्वतको मोदी गाउँपालिका १ बस्ने १५ वर्षीया कृतिक शर्मा पौडेल, धादिङ गजुरी गाउँपालिका ८ बस्ने अन्दाजी २५ वर्षीय सविन रम्तेल रहेका इलाका प्रहरी कार्यालय गजुरीले जनाएको छ ।

कार्यालयका अनुसार अरु पाँच जनाको परिचय खुल्न बाँकी छ। १६ जना घाइतेमध्ये १४ जनालाई उपचारका लागि काठमाडौं रेफर गरिएको छ। ८ जनालाई गजुरी अस्पताल र ६ जनालाई प्राथमिक स्वास्थ्य केन्द्र गजुरीमा सामान्य उपचारपछि थप उपचारका लागि काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।

एक जना घाइतेको टिचिङ अस्पताल मलेखुमा उपचार भइरहेको छ। एक जना गजुरी अस्पतालमा उपचारपछि डिस्चार्ज भएका छन्। सहचालक नुवाकोट बेलकोटगढी नगरपालिका ६ का ३४ वर्षीय रोशन तामाङको सकुशल उद्धार गरिएको प्रहरीले जानकारी दिएको छ।

काठमाडौंबाट म्याग्दी जाँदै गरेको प्रदेश ३–०१–००५ ख ९९५२ नम्बरको बस बुधबार बिहान सवा ११ बजे सडकबाट त्रिशुली नदीमा खसेको थियो।

Nabintech