२० बैशाख २०८१, बिहीबार
मैले चाहेको मेरो सरकार ।

  • स्वतन्त्र नागरिक 

  • २० भाद्र २०८०, बुधबार ०७:५३

स्थानीय सरकार गणतान्त्रिक शासन ब्यबस्थाको सुन्दर पक्ष  हो । गणतन्त्रको आगमन सगै गाउँ गाउँमा सिंह दरबार भन्ने नाराले ब्यापकता पायो । स्थानीय सरकार जनताको सबै भन्दा नजिकको सरकार हो। संघ र प्रदेशको आफ्नै खालका कर्तव्य र महत्त्व होलान । तर स्थानीय सरकार जनताको दैनिकी सग जोडिएको सरकार हो। स्थानीय सरकारको कारण जनताका दैनिकीमा पक्कै पनि सकारात्मक परिवर्तन  आयो होला । स्थानीय सरकार  सम्बन्धित राज्यका जनताले मेरो सरकार भनी गर्वका साथ अनुभुत गर्न सक्ने हुनुपर्छ ।
  मेरो सरकार  कस्तो हुनुपर्छ ?
मेरो  सरकार नीति, विधि र पद्धतिमा चलोस र कानुनी राज्यको सर्बोच्चतालाई आत्मसात गरोस् । कुनै अमुक स्वार्थ समुहको गोट्टी हैन सबै बर्ग, समुदाय,तह तप्काका जनताको सामुहिक भावनाको साझा चौतारी बनोस।  सामाजिक विकृति, विसङ्गती, अनियमितता र कुनैपनी बहानामा हुने अन्याय अत्याचारको विरुद्धमा निर्मम बनोस् ।
मेरो सरकार विरोधका स्वरहरु सुन्नै नसक्ने फोबिया बाट ग्रसित नबनोस, मेरो सरकार त सबैका स्वरहरु सुन्ने र सुनेका स्वरहरुलाई वास्तविकताको कसीमा जाचेर तदअनुरुप प्राथमिकताका आधारमा समस्याको ब्यबस्थापन गर्न सक्ने कुसल अभिभावक  बनोस् । लैङगीक समानता, जनसहभागिता, पार्दर्शिता,निष्पक्षता, समावेशीकता, समन्यायीकता, जनता प्रती उत्तरदायी, प्रभावकारी  कार्य प्रणाली र भ्रष्टाचार प्रती शून्य सहनसिलता यसका मुल आदर्श बनुन।  मेरो सरकार सत्यको पक्षमा सतिसाल झै दृढ र सगरमाथा झै अटल बनोस् ।
मेरो सरकार भाडाका मिडिया बाट आफ्नो विज्ञापन मार्फत  आफ्न कमजोरी लुकाउन तत्पर  नहोस् , मेरो सरकार त भएका कमि कम्जोरी  सुधार्दै उन्नत कार्य कौशलको अदभूत क्षमताले दुनियाँलाई  सदमार्गमा डोर्‍याउन सफल बनोस् । मेरो सरकारले सामाजिक मिडियामा लाग्ने  लालछना र आरोपको प्रतिउत्तर निकृष्ट प्रतिक्रियाबाट हैन सत्यताको प्रमाण सगै सानदार कर्म र दमदार व्यबहारले देवस। मेरो सरकार मुठ्ठी भर कारिन्दाको कुरा सुनेर निमुखामा बर्बरता मच्चाउने तानाशाह हैन, सही ब्यक्ति सहि ठाउँमा ब्यबस्थापन गरि जनउत्तरदायी प्रशासनलाई बढावा दिने सफल ब्यबस्थापक बनोस् । मेरो सरकार चुक्ली, चाप्लुसीको व्यावसाय गर्ने मानवरुपी बुख्याचाहरुको चङ्गुलमा नडुबोस, मेरो सरकार  त समस्याको जरो सम्म पुगेर समस्याको दीर्घकालीन समाधान  गर्दै सामाजिक आवश्यकता पूरा गर्न हरसम्भव तल्लीन रहोस् ।
मेरो सरकार मेरै गोरुको बाह्रै टक्का भन्ने अभिमान र अहंकाररुपी तेजावको पोखरीमा नडुबोस, मेरो सरकारले विचार र अनुभवको विशाल महासागर बाट नौनी झिक्न सक्ने ल्याकत राखोस। मेरो सरकार मनि, मसलको उन्मादले लठ्ठीएका लठेतहरुको रखवाली गर्ने चौकिदार हैन, मेरो सरकार दिनभरको कठिन कर्मले ईमानको दुई  रोटी खाने गरिब र निमुखाहरुको भरोसाको भर्‍याङ बनोस् ।  मेरो सरकार गरिब असहाय हरुको झुपडी उजाड्ने मैमत्ता हात्ती हैन,  समस्याको तुवाँलोले घेर्दा सर्बप्रथम गरिब, निमुखाले सम्झने असल साथी बानोस।
मेरो सरकार आउँदो चुनाव कसरी जित्ने भन्दै सकुनीका जाल जस्ता अनेकन हत्कण्डा बुन्दै नबसोस, मेरो सरकार आफ्नो शरहद भित्रका जनताको जीवन स्तर सुधार गर्न दुरगामी महत्त्वका आयोजना सम्पन्न गर्न एकलब्य झै तल्लीन रहोस। फुलको वास्ना वरिपरि मान्छेको वास्ना डाडा परि भने झै  मेरो सरकारले अवलम्बन  गरेको विकासको मोडलको सर्वत्र चर्चा हुँदा म जस्तै तमाम सोझासाझाको छाती गर्वले फुलोस। मेरो सरकार कम्जोरी औल्याउने प्रती मुखमुखै लाग्ने संस्कारहीन सनतान जस्तो नहोस् , मेरो सरकार त जिम्मेवारीको सवालमा खरो उत्रने जिम्मेवार अभिभावक जस्तो होस।
मेरो सरकार किलिष्ट भाषाको प्रयोग   र ठुला गफ मार्फत जनता झुक्याउने प्रपन्चमा नलागोस, मेरो सरकारले बोधगम्य संचार मार्फत आफ्न कुरा बुझाउने अनि जनताका स्पन्दनको भाषा बुझ्ने र स – साना  समस्या सुल्झाइ दिने सामर्थ्य राखोस। मेरो सरकारको बास चार तारे होटेल र महलमा हैन, बर्षाको पानी छेक्न नसक्ने बुकुरो र झुपडीमा होस् । मेरो सरकार असहाय हरुको टेक्ने लौरो र निमुखाहरुको पक्षमा बुलन्द आवाज बनोस् । मेरो सरकार आर्तहरुका चहराई रहेका घाउको सितल मलम बनोस् ।
इतिहासको कालखण्डमा कयौं सरकार आउछन् र जान्छन् तर मेरो सरकार एक युगमा एकचोटि आउने दुनियाँका लागि एउटा उदाहरणीय रामराज्य  बनोस् । मेरो सरकार भोकाका लागि भोजन र नाङ्गाका लागि कपास बनोस, गरिबीको सागरमा डुबेका झुपडीका जनताको भरोसायोग्य बास बनोस् । मेरो सरकारले शक्ति, सत्ता र जवानी क्षणभङ्गुर हुन भन्ने तथ्य राम्रो सग मनन गरोस्  र झिनामसिना स्वार्थबाट बाहिर निस्कदै जनताको जीवनस्तरमा आमूल परिवर्तन ल्याउने दृढ प्रतिज्ञा गरोस् ।
मेरो सरकारको सामीप्यता गगनचुम्बी महलका मालिक सग मात्रै हैन जेठमासको हुरी र बर्षाको पानीको त्रासले कहालिएका भुइँ मान्छे सग पनि होस् । मेरो सरकारको अर्जुनदृस्ठि ब्यक्तिगत लाभका छिद्र तिर हैन समाजलाई पछाडी पार्ने प्रगतिका बाधकहरु औल्याउँदै त्यस्ता अवरोधको सामुल नष्ट गर्न तिर लागोस। मेरो सरकार म भन्दा ज्ञानी यो दुनियाँमा कोही छैन भन्ने आडम्बरले बेलून फुले जस्तो नफुलोस यो दुनियाँमा सर्वज्ञानी कोही हुदैन भन्ने यथार्थलाई मनन गर्दै प्रतिभाको कदर र सदुपयोग बाट समाजको रुपान्तरणमा लागोस। मेरो सरकार अफ्नो वरपरका भाजन मण्डलीहरुका प्रसंशामा नभुलोस, इतिहासमा कयौं बादशाहहरुको साम्राज्य त्यस्तै बुख्याचाहरुको मुर्खताका कारण धोस्त भएका तथ्य आत्मसात गर्दै सत्यको आवाज सुनोस अनि यथार्थ धरातलमा टेकोस ।
मेरो सरकार मेरो र अर्काको भन्ने दरिद्र मानसिकताले ग्रसित नबनोस, सबै मेरा सबै प्रती मेरो  समान कर्तव्य भन्ने बिसाल भावनाको चौडा छातीले सुसज्जित बनोस् । मेरो सरकार जनताको प्रेरणाको स्रोत बनोस् , सरकारको मेहनत र निष्ठाले जनताको लगन र आत्मबल जुरुक्क उठोस।
सरकार !
मेरो गाउँको भत्केको चौतारो उस्तै छ , मेरो बस्तीका झुपडी सम्म जाने बाटोको खाल्डो उस्तै छ। तिम्रो इगो र ईष्र्याले आहात भएकी जुनेलीको ब्यथा उस्तै छ, तिम्रो सनकको शिकार हर्केको कथा उस्तै छ। केही संचारका साधनले गाउने तिम्रो गुणगानको रत्तिभर बिश्वास छैन यता किनकि तथ्यको कसीमा खण्डित छ्न ती सब गुणगान र मागदाबी ।  आक्रोशको आकडाले सिमा ननाघ्दै, घृणाको घैटोमा प्वाल नपर्दै तिमी जनजनको मनमनमा बस । तिमी जनताको असल मित्र बन शुभकामना !!
Nabintech