२ जेष्ठ २०८१, बुधबार
चिकित्सक कुटपिटको बिरोधमा बाकेका अस्पतालहरुको पनि ओपिडि सेवा प्रभावित

भेरी अस्पतालको ओपिडी सेवा बन्द गरिएपनि इमरजेन्सी सेवा भने सुचारु


  • टाइम्स संवाददाता

  • ३१ भाद्र २०८०, आईतवार १४:०५

नेपालगञ्ज : हेटौंडाको सन्चो अस्पतालका दुई जना चिकित्सकमाथि कुटपिट भएको घटनाका दोषीलाई कारबाहीको माग गर्दै देशभरिका अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द भएका छन् । बाँकेका भेरी अस्पताल, नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल, वेष्टर्न अस्पताल लगायतका ओेपिडी सेवा पनि बन्द भएका छन् ।

केही क्लिनिकहरु बन्द भएपनि अधिकांश क्लिनिकहरु भने संचालनमा छन् । अस्पतालको सेवा बन्द हुँदा उपचारकालागि पुगेका विरामीहरु भने मर्कामा परेका छन् । उनीहरु अस्पतालमा टाँसिएको सूचना हेर्दै आफ्नो बिरामीले उपचार पाउने आशमा अस्पताल परिसरमा ढुकेर बसिरहेका छन् । नेपाल चिकित्सक सङ्घले दोषी माथि कारवाही माग गरेको छ । बिरामीको उपचार गरिरहेको अवस्थामा चिकित्सकमाथि साङ्घातिक आक्रमण भएकामा हालसम्म दोषीलाई कारबाही हुन नसक्दा समग्र स्वास्थ्य क्षेत्रमा त्रासको अवस्था सिर्जना भएको जनाएको छ ।

संघले सम्पूर्ण सरकारी स्वास्थ्य संस्था, मेडिकल कलेज, निजी अस्पताल तथा क्लिनिकमा आकस्मिकबाहेकका सम्पूर्ण स्वास्थ्य सेवा बन्दको निर्णय अनुसार नेपालगञ्ज मेडिकल कलेजले पनि ओपिडी सेवा बन्द गरेको अस्पतालका सहनिर्देशक डा.नितेश कनोडियाले बताए । उनले कलेजका शैक्षिक गतिविधिहरु भने नरोकिएको बताए । देशभरका स्वास्थ्य संस्थामा अनिवार्य रूपमा स्वास्थ्य संस्था सुरक्षाबलको व्यवस्थासहित भयरहित वातावरणमा स्वास्थ्य सेवा प्रवाह गर्ने व्यवस्थाका लागि पनि सङ्घले सरकारसँग माग गरेको छ ।

अस्पतालमा बिरामीको मृत्यु भएको घटनालाई लिएर भदौ २७ गते सन्चो अस्पताल दुई चिकित्सकमाथि कुटपिट भएको थियो । भेरी अस्पतालको ओपिडी सेवा बन्द गरिएपनि इमरजेन्सी सेवा भने नरोकिएको प्रमुख कन्सल्टेन्ट फिजिसियन डा.राजन पाण्डेले बताए । बिरामीहरुलाई दुःख दिने मनसाय आफुहरुको नभएपनि चिकित्सकहरुमाथि नै कुटपिट भएपछि असुरक्षित भएर संघको निर्णय अनुसार एक्यबद्धता जनाइएको बताए । उनले कार्यकक्षमा खटिएका चिकित्सकमाथिको कुटपिट सहन नसकिने पनि स्पष्ट पारे ।

Nabintech