२१ बैशाख २०८१, शुक्रबार
थारु समुदायले आज अटवारि पर्ब मनाउदै

  • टाइम्स संवाददाता

  • ३१ भाद्र २०८०, आईतवार १५:१४

नेपालगञ्ज : पश्चिम नेपालको तराई र भित्रि मधेसका थारुले आइतवार आज अट्वारी पर्व धुमधामसँग मनाउँदैछन् । दाजुभाई र दिदिबहिनी वीचको सम्बन्ध जोड्ने, बढाउने र सुधार्ने पर्वको रुपमा यो पर्वलाई लिइन्छ । यो पर्वमा दाजुभाईले विवाहित दिदिबहिनीलाई कोसेली दिने चलन छ । यो अनिवार्य जस्तै मानिन्छ ।

पश्चिम नेपालका थारुले कृष्ण जन्माष्टमीपछि अट्वारी मनाउँछन् । थारु जाती ‘माघी’ र दसैँ पछि ‘अट्वारी’ पर्वलाई तेस्रो ठूलो पर्वको रुपमा मनाउँदै आएका छन् । यो पर्वलाई थारु समुदायले दुई दिनसम्म मनाउँछन् ।

कृष्णजन्माष्टमीको दुई हप्तापछि पर्ने आइतवारका दिन अट्वारी मनाइने भएकोले यो पर्वलाई अट्वारी भनिएको हो । पश्चिम नेपालको दाङ, वाँके, वर्दिया, कैलाली, कञ्चनपुर तथा सुर्खेत जिल्लाका थारु जातीले यो पर्व उल्लासका साथ मनाउने गर्दछन् ।

‘अट्वारी’ पर्वमा थारु समुदायका प्रायः पुरुष ब्रत बस्छन् । पुरुषहरु भालेले डाँको छोड्नु भन्दा पहिले दर खान्छन् । यसलाई थारु समुदायले ‘भिन्सरया’ भन्दछन् । पुरुषहरु निराहार ब्रत बस्छन् । र, दिउँसो गन्यारी काठबाट आगो निकालेर देवतालाई चढाउने रोटी पकाउँछन् । यो आगो मुखले फुक्न मिल्दैन । मुखले फुके अशुद्ध हुन्छ भन्ने मान्यता छ । ‘गन्यारी काठबाट निकालिएको आगो मुखले फुकेमा अशुद्ध मानिन्छ र फेरि अर्को आगो निकालेर रोटी पकाउनु पर्छ,’ थारु गुर्वा मोहनलाल चौधरीले भने ।

आइतवार ब्रत बसेका पुरुषले सोमबार विहान अट्वारीको फर्हार (फलहार) गर्छन् । अट्वारीको ब्रत बस्ने पुरुषहरु विहानै उठेर नजिकैको नदी, खोलामा स्नान गरेर बैठक कोठालाई लिपपोत गरि तीन, पाँच या सात थरिका तरकारी पकाउँछन् । तरकारीमा चना, मटर, केराउ, सिल्टुङको तरकारी अनिवार्य हुन्छ । फह्रार गर्नका लागि पोइँको पातको तरकारी पनि अनिवार्य जस्तै हुन्छ ।

यी विभिन्न थरिका तरकारी र भात टपरीमा राख्ने र आधा भाग आफ्ना चेलीबेटीका लागि अर्को टपरीमा राखिन्छ । र, सवै थरिका तरकारी र भात अलिकती झिकेर आगोलाई चढाइन्छ । यसलाई नै थारु समुदायले फह्रार कहर्ना (फर्हार गर्ने) भन्दछन् ।

ब्रत बसेका सवैले फर्हार गरिसकेपछि घरका सवैजना सँगै बसेर भात खान्छन् । अट्वारीको बेलुकीपख चेलीबेटीका लागि छुट्याइएको अग्रासनको रोटी र सोमवार विहान गरिएको फह्रारको भात तथा तरकारी आफ्नो विवाहित चेलीबेटीलाई अग्रासनको रुपमा दिने चलन छ ।

 

Nabintech