७ मंसिर २०८१, शुक्रबार
तिहारको पहिलो दिन आज ‘काग तिहार’, साँझ यमदीप दान

कागले मान्छेको अनुहार हेरेर को मित्र र को शत्रु हो भनेर थाहा पाउन सक्छ


  • टाइम्स संवाददाता

  • २५ कार्तिक २०८०, शनिबार ०५:४८

नेपालगञ्ज:हिन्दु धर्मावलम्बीहरूको दोस्रो ठूलो चाड तिहार अर्थात यमपञ्चक सुरु भएको छ । आजदेखि यमपञ्चक सुरू भएको हो । कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितियासम्मको पाँच दिन यमराज आफ्ना सबै कारम छाडेर बहिनी यमुनाकहाँ अतिथिका रुपमा बस्ने भएकाले यो पाँच दिनलाई यमपञ्चक भन्ने गरिन्छ ।

कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म पाँच दिन मनाइने तिहार पर्वको पहिलो दिन आज ‘काग तिहार’ । आज बिहानै स्नान गरी मिष्ठान्न परिकार बनाएर कागलाई सम्झेर घरको छत वा घरबाहिर पात वा दुना टपरीमा कागलाई खानेकुरा राखिन्छ । आज कागलाई पूजा आजा गरी खान नदिई आफूले खाएमा पापको भागी हुनपर्ने धार्मिक मान्यता छ ।

त्यसैले आज घरमा पाकेका सबै परिकारहरू दुना, टपरी, पातमा राखेर कागलाई घरको कौसी वा आँगनमा का…का…का…भन्दै बोलाएर खान दिइन्छ । धर्मशास्त्र अनुसार यमराजले राखेको मानिसको जन्म मृत्युको विवरण पृथ्वीसम्म ल्याउने र लैजाने काम कागले नै गर्ने मान्यता छ । यमराजको दूतको रुपमा मानिएको कागको पूजा गरेर आज काग तिहार मनाइँदैछ । कात्तिक कृष्ण त्रयोदशीका दिन कागपूजा गरिन्छ ।

कागलाई सन्देश वाहकको रुपमा हेरिने भएकाले शुभ सन्देशको अपेक्षा गर्दै कागको पूजा गरिन्छ । काग यमराजको अत्यन्त प्रिय भक्तसमेत हो । वर्षभरि कागले घरआँगनमा सुखद र प्रगतिशील खबर मात्र ल्याओस् भन्ने कामनाका साथ काग तिहार मनाउने गरिन्छ । गाँउघरमा अझै पनि घर अगाडि काग करायो भने केही सन्देश वा घरमा पाहुना आउने जानकारीको दिएको भन्ने विश्वास गरिन्छ । कागलाई चराहरू मध्यको निकै उदण्ड, धूर्त र चलाख पंक्षी पनि मानिन्छ ।

वैदिक सनातन हिन्दू धर्ममा कागलाई यमदूतका रुपमा चित्रण गरेको पाइन्छ । कागले यमलोकमा गएर पृथ्वीबासीका कर्मका बारेमा चित्रगुप्तलाई सूचित गर्दछ र यमराज रहेसम्म कागको विनाश सम्भव नभएको धार्मिक मान्यता छ । अक्सफोर्ड विश्वविद्यालयको अध्ययन भनिएको छ, ‘कागको दिमागले लगभग चिम्पाञ्जी र मानिसको जस्तै तरिकाले काम गर्छ । कागले मान्छेको अनुहार हेरेर को मित्र र को शत्रु हो भनेर थाहा पाउन सक्छ ।’

आजै यमदीप दान पनि 

कार्तिक कृष्ण त्रयोदशी तिथि परेकाले आज शनिबार साँझ यमदीप दान गर्नुपर्ने समितिले जनाएको छ । समितिका अध्यक्ष प्रा. अधिकारीले साँझ त्रयोदशी तिथि परेका दिन यमदीपदान गर्नुपर्ने बताए।

‘सायंकालमा त्रयोदशी भएका दिन यमदीपदान शुरु गर्नुपर्ने र प्रातः कालमा त्रयोदशी भएका दिन काग तिहार मनाउनुपर्ने शास्त्रीय व्यवस्था अनुसार यस्तो निर्णय गरिएको हो’, उनले भने।

यमपञ्चकका अवसरमा यमदीप दान गरे यमयातनाबाट मुक्ति पाइने शास्त्रीय मान्यता छ। यमदीपदान गर्दा दक्षिण फर्काएर गर्नुपर्ने धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले जानकारी दिए।  कार्तिक कृष्ण चतुर्दशी पारेर आइतबार बिहान कुकुरको  पूजा गरिनेछ। आइतबार नै साँझ लक्ष्मीपूजा गरिँदैछ।

काग सम्बन्धित केही रोचक प्रसंगहरू

कागलाई अशुभ सन्देश प्रवाह गर्ने पंक्षीको रुपमा लिइन्छ । धर्मशास्त्रमा उल्लेख भएअनुसार नरक लोकका अधिपति यमराजले पृथ्वी लोकमा भएका मानिसलगायत सम्पूर्ण जिवित प्राणीको जन्म मृत्युको विवरण राख्दथे । आकाश मार्गबाट छिटो सन्देश ल्याउने र लैजाने भएकाले यमराजले कागलाई आफ्नो दूत नियुक्त गरेको जनविश्वास रहिआएको छ । काग तिहारमा भने यी सवै नकारात्मक मान्यताहरुलाई विर्सिएर कागको पूजा गरिन्छ ।

विशेषगरी कागको कालो र केही खैरो प्रजातिका पनि हुन्छन् । कागको रङ हुनुको पछाडि रोचक रहस्य यस्तो छ; पहिलापहिला काग सेतो रंगको हुने गर्थ्यो । एकदिन ऋषिले जब एउटा सेतो कागलाई अमृत खोजीमा पठाए तब उसलाई अमृतको जानकारी मात्रै लिनू, त्यसलाई नपिउनू भनेर आदेश दिए । उक्त कागले एक वर्षसम्मको परिश्रमपछि अमृतको जानकारी पाउन सफल भयो । उसलाई अमृत पाएपछि पिएर अमर हुने लोभ लाग्यो र पिइदियो । सो कुरा थाहा पाएका ऋषि क्रोधित भए । क्रोधको आवेगमा उनले कागलाई श्राप दिए ।

उनको श्राप यस्तो थियो, ‘अबदेखि तँलाई घृणास्पद पंक्षी मानिनेछ । अशुभ पक्षी मानेर मानवजातिले सधैँ निन्दा गर्नेछ । तैँले अमृत पान गरेको छस्, त्यसैले तेरो स्वाभाविक मृत्यु कहिल्यै हुने छैन । तँलाई कुनै रोग लाग्ने छैन र वृद्धावस्था पनि आउने छैन । पितृश्राद्धको सोह्र दिन तँलाई पितृको प्रतीक सम्झेर आदर गरिनेछ ।’ यति भनेर ऋषिले आफ्नो कमण्डलुको कालो पानीमा त्यस कागलाई डुबाइदिए । काग सेतोबाट कालो बन्यो । त्यसै बेलादेखि काग कालो बनेको धार्मिक मान्यता छ ।

Nabintech