४ जेष्ठ २०८१, शुक्रबार
मजदुरीका लागि भारत जानेको जमुनाहा नाकामा चाप

नारामा महत्वाकांक्षी योजना बनाउने स्थानीय सरकारले रोजगारी दिन नसक्दा बेरोजगारीको संख्या बढ्दै


  • टाइम्स संवाददाता

  • २४ मंसिर २०८०, आईतवार १८:१०

नेपालगञ्ज: घरको काम सकेर यतीबेला कर्णालीका विभिन्न ठाउँवाट नागरिकहरु नेपालगञ्जको जमुनाहा नाका भएर भारततर्फ जान थालेका छन् । गाउँमा केही रोजगारी नभएपछि उनिहरु मजदुरीका लागि भारततिर जान शुरु गरेका हुन । रास्कोट नगरपालिका वडा नं १ कालिकोटका कमलप्रसाद न्यौपाने मङ्सिरमा गहुँ छर्ने काम सकेर अब मजदुरी गर्न भारततिर जान थालेको बताए ।

स्थानीय लालीघाट बजारमा भेटिनुभएका न्यौपानेले गाउँमा कुनै रोजगारीको अवसर नहुँदा हिउँद र बर्षातको समयमा मजदुरीका लागि भारत जानुपर्ने बाध्यता भएको बताए । उनले असारमा धान रोपेर जान्छौं, दसैंका बेला आउँछौं । कात्तिकमा भित्र्याउने र मङ्सिरमा गहुँ छरेर बालबालिकाको पढाइ खर्च र घरपरिवारको लुगाफाटोका लागि भारत जाने गरेको सुनाए ।

कमलसँगै भारत जाँदै गर्नुभएका हरिप्रसाद सज्यालले पनि स्थानीय सरकारको मनोमानीका कारण सबै रोजगारी गुमेका कारणले वर्षमा दुई सिजन मजदुरीका लागि भारत जाने गरेको बताए । रास्कोट नगरपालिकाले प्रायः बजेट भेला शिविरमा खर्च गर्ने र सडक निर्माणका काममा स्काभेटर प्रयोग गर्ने भएकाले गाउँमा काम गर्ने अवसर नपाएको सज्यालले गुनासो गरे ।

अलि भएका योजनामा पनि उपभोक्ता आफू नजिकका बनाउने र उनीहरुले विभिन्न बहानामा आफ्ना मान्छेलाई मात्र काम गर्ने अवसर दिएका कारणले हामी प्रायः सबै सर्वसाधारण रोजगारीका लागि भारत जानुपरेको नागरिकको गुनासो छ । उता पलाँता गाउँपालिका, पचालझरना गाउँपालिका, सान्नीत्रिवेणी गाउँपालिका नरहरिनाथ गाउँपालिकालगायत सबै जिल्लाका नागरिक यतिबेला बसमा भरिभराउ भएर भारततर्फ गइरहेका छन् ।

रास्कोट नगरपालिका उपप्रमुख मनिराज बरालले पनि आफूले रोजगारी दिन नसकेर नागरिक भारततर्फ जानुपरेको स्वीकार गरे । उपप्रमुख बरालले नगरमा आफू एक्लो हो, योजना जति नगरप्रमुख र कर्मचारी मिलेर ठेकेदारको जिम्मा लगाउने भएकाले बेरोजगार बढ्दै जाँदा नगरका नागरिकले भारत जानुपरेको सुनाए ।

पलाँता गाउँपालिकाका निवर्तमान अध्यक्ष लक्ष्मणबहादुर बमले आफूले गठन गरेको पलाँता निमार्ण कार्यदल वर्तमान सरकारले विघटन गरेका कारणले उनीसँगै अरु नागरिक पनि बेरोजगार हुँदा भारत जानेको संख्या बढेको बताए । नारामा महत्वाकांक्षी योजना बनाउने स्थानीय सरकारले रोजगारी दिन नसक्दा बेरोजगारीको संख्या बढ्दै गएको छ ।

Nabintech