१७ बैशाख २०८१, सोमबार
नेपालगन्जमा लुम्बिनी प्रदेश स्तरीय प्रदर्शनी मेला आयोजना हुने

आगामी पुस २४ देखि २८ गतेसम्म नेपालगन्जमा मेला आयोजना गर्ने निर्णय


  • टाइम्स संवाददाता

  • ३० मंसिर २०८०, शनिबार ०९:०७

नेपालगन्ज: महिलाले गाउँघरमा उत्पादन गरेका खाद्य वस्तु, लत्ता कपडा, सामग्री, उत्पादनको बजारीकरणका लागि नेपालगन्जमा लुम्बिनी प्रदेश स्तरीय प्रदर्शनी मेला आयोजना हुनेभएको छ ।

महिला उद्यमी संघ नेपाल बाँकेले महिलाले उत्पादन गरेको वस्तुहरुको प्रवद्र्धन गर्ने उदेश्यले लुम्बिनी प्रदेशस्तरीय प्रदर्शनी मेला आयोजना गर्न लागेको जनाएको छ ।

महिला उद्यमी संघ नेपाल बाँके अध्यक्ष साबित्री बस्नेतको अध्यक्षतामा बसेको बैठकले आगामी पुस २४ देखि २८ गतेसम्म नेपालगन्जमा मेला आयोजना गर्ने निर्णय गरेको अध्यक्ष बस्नेतले बताउनुभयो ।

उहाँले यस वर्ष थप व्यवस्थित र ग्रामीण भेगका महिलालाई बढी प्राथमिकतामा राखेर प्रदर्शनी आयोजना गर्ने तयारी गरिएको जनाउँदै गाउँघरमा उत्पादित सामानलाई प्रदेशभरि चिनाउने लक्ष्य रहेको बताउनुभयो ।

त्यसका लागि स्थानीय सरकार लगायत विभिन्न संघ संस्थाहरुबाट सहयोग लिने निर्णय गरिएको संघले जनाएको छ । यसपटक थप नयाँ स्थानबाट उत्पादन, उद्योग र व्यवसायमा काम गरिरहेका महिलालाई बजारीकरणका बारेमा सिकाउँदै सहयोग गर्ने संघको योजना रहेको महिला उद्यमी संघ नेपाल बाँकेकी प्रथम उपाध्यक्ष रेवती सिंहले बताउनुभयो ।

यसैगरी संघको बैठकले प्रदर्शनी मेला आयोजनाका लागि महिला उद्यमी संघ नेपाल बाँकेकी प्रथम उपाध्यक्ष सिंहको संयोजकत्वमा समिति गठन गरेर तयारी अगाडि बढाएको छ ।

प्रदर्शनी मेला संयोजक सिंहले नवउद्यमी महिलालाई प्रोत्साहन गर्दै व्यापार, व्यवसायमा भएका महिलालाई सहयोग गर्ने उद्देश्यले हरेक वर्ष मेला आयोजना गर्ने गरिएको बताउनुभयो । उहाँले यस वर्ष प्रदर्शनीलाई अझ आकर्षक र सफल बनाउन विभिन्न योजना बनाएर काम गरिरहेको जनाउनुभयो ।

आयोजक महिला उद्यमी संघ नेपाल बाँकेको टोलीले प्रदर्शनी मेला आयोजनाको बारेमा नेपालगन्ज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्टसँग भेटघाट गरेको छ । भेटघाटको क्रममा उपमहानगरपालिकाको समन्वयमा मेलालाई थप प्रभावकारी बनाउने बारेमा छलफल भएको संयोजक सिंहले बताउनुभयो ।

Nabintech