२ जेष्ठ २०८१, बुधबार
बैजनाथ न्यु सिटिमा १५ शै्याको अस्पताल बन्दै

  • टाइम्स संवाददाता

  • ४ पुष २०८०, बुधबार ०८:२८

बैजनाथ,बाँके:बाँकेको बैजनाथ गाउँपालिकामा १५ शै्याको अस्पताल बन्ने भएको छ । बैजनाथ गाउँपालिका वडा नम्बर ५ स्थित न्यु सिटिमा अस्पताल बन्न लागेको हो । अहिले अस्पतालको लागि जग खन्ने काम भई रहेको र केही दिनमा शिलन्यास गर्ने तयारी रहेको बैजनाथ गाउँपालिका अध्यक्ष प्रकाशबहादुर शाहीले जानकारी दिए ।

बैजनाथका नागरिकले उपचारका लागि अन्य ठाउँमा जान नपरोस् र सहज, छिटो स्वास्थ्य सेवा दिन सकियोस् भन्ने उद्देश्यले गाउँपालिका भित्रै १५ शै्याको अस्पताल निर्माण गर्न लागिएको अध्यक्ष शाहीले भने । अस्पतालमा जनरल वार्डका सबै उपचारसमेत पाइने उनले दावि छ ।
स्टाफ क्वाटरसहित ११ कठ्ठामा बन्न लागेको उक्त अस्पताल साढे दुई तलाको बन्ने छ । २० करोड ६१ लाख ९५ हजार १ सय ६८ रुपैयाँ लागत रकममा ठेक्का परेको अस्पतालको १७ करोड ५७ लाख २१ हजार ९ सय ६६ रुपैयाँमा सम्झौता भएको बैजनाथ गाउँपालिका ईन्जिनियर धर्मेन्द्र आचार्यले जानकारी दिए । स्काई विल्डर्स निर्माण कम्पनीले ३ वर्षभित्रमा निर्माण सक्नेगरी ठेक्का सम्झौता गरेको ईन्जिनियर आचार्यले जानकारी दिए ।

बैजनाथ गाउँपालिकाको वडा नम्बर ५, बनकटवामा एउटा प्राथमिक स्वास्थ्य केन्द्र छ भने अन्य वडाहरुमा स्वास्थ्यचौकी र आधारभूत स्वास्थ्य सेवा केन्द्रबाट स्वास्थ्य सेवा प्रवाह भई रहेको छ । वडा नम्बर १ मा चिसापानी स्वास्थ्यचौकी, वडा नम्बर ३ मा नौबस्ता स्वास्थ्यचौकी र वडा नम्बर ८ मा टिटिहिरीया स्वास्थ्यचौकी रहेको बैजनाथ गाउँपालिका निमित्त स्वास्थ्य शाखा प्रमुख दिवस अधिकारीले जानकारी दिए ।

यस्तै, वडा नम्बर २ मा डिगिया आधारभुत स्वास्थ्य सेवा केन्द्र, वडा नम्बर ४ मा बनियाभार आधारभुत स्वास्थ्य सेवा केन्द्र, वडा नम्बर ६ मा गरही आधारभुत स्वास्थ्य सेवा केन्द्र र वडा नम्बर ७ मा पेडारी आधारभुत स्वास्थ्य सेवा केन्द्रबाट नागरिक स्वास्थ्य सेवा लिई रहेको अधिकारीले बताए ।

गाउँपालिकाभित्र जनसंख्याको तुलनामा स्वास्थ्य संस्था र स्वास्थ्यकर्मी कम भए पनि स्वास्थ्य संस्थामा दरबन्दी अनुसारको कर्मचारी भएको उनको भनाइ छ । अस्पताल निर्माणपछि पालिकावासीले गुणस्तरीय स्वास्थ्य सेवा पाउने बैजानाथ गाउँपालिकाले अपेक्षा लिएको उनले बताए ।

Nabintech