५ जेष्ठ २०८१, शनिबार
राप्ति सोनारीले सिकलसेल एनिमिया र थालेसेमिया रोगको पहिचान गर्न स्क्रिनिङ कार्यक्रम गर्ने

पालिकाले सिकलसेल रोगको पहिचान र निदानका लागि चालू आर्थिक वर्षमा ११ लाख रुपैयाँ बजेट बिनियोजन गरेको छ


  • टाइम्स संवाददाता

  • ४ पुष २०८०, बुधबार १०:४२

बाँके ,राप्तीसोनारी : राप्तीसोनारी गाउँपालिकाले विशेषगरी थारु समुदायलाई प्रभावित पार्दै आएको सिकलसेल एनिमिया र थालेसेमिया रोगको पहिचान गर्न स्क्रिनिङ कार्यक्रमलाई प्रभावकारी गराउने भएको छ । चालू आर्थिक वर्षमा दुई वटा वडाका लक्षित सबै उमेर समूहका व्यक्तिहरुको सिकलसेल जाँच गर्ने तयारीमा पालिका रहेको गाउँपालिकाका अध्यक्ष तप्त बहादुर पौडेलले बताए ।

उनका अनुसार यही पुस १६ गतेदेखि सिकलसेल एनिमिया र थालेसेमिया रोगको पहिचान गर्न स्क्रिनिङ कार्यक्रम सुरु गर्न लागिएको छ । चालू आर्थिक वर्षमा वडा नं.१ र २ का लक्षित समुदायका सम्पूर्ण नागरिकहरुको स्क्रिनिङ गर्ने गरी पािलका लागेको पालिका अध्यक्ष पौडेलले बताए । यसअघि पालिकाले निश्चित उमेर समुहका व्यक्तिहरुको सिकलसेल जाँच गरेको थियो । ‘अघिल्ला वर्षहरुमा खासगरी विद्यार्थीहरुलाई केन्द्रीत गरेर सिकलसेल चेकजाँच गरिएको थियो उनले भने–‘चालू आर्थिक वर्षमा भने वडा नं.१ र २ का लक्षित समुदायका सवै उमेर समूहका व्यक्तिहरुको सिकलसेल चेकजाँच गर्ने गरी तयारी गरेका छौं ।

क्रमशः सवै वडाका जोखिम प्रभावित व्यक्तिहरुको सिकलसेल जाँच गरेर पालिकाबाट यो रोगको फैलावट रोक्ने प्रयास हाम्रो हो ।’ पालिकामा ७० हजारको हाराहारीमा जनसंख्या छ । त्यसमा करिव ३५ हजारको हाराहारीमा थारु समुदायको बसोबास रहेको बताइन्छ । थारु समुदायका सबै व्यक्तिहरुको सिकलसेल एनिमिया र थालेसेमिया चेकजाँच गर्ने योजना पालिकाको रहेको स्वास्थ्य शाखा प्रमुख देवेन्द्र केसीले बताए । उनका अनुसार सबै व्यक्तिहरुको सिकलसेल चेकजाँच भए रोग नियन्त्रणमा लिन सहज हुनेछ ।

सिकलसेलका बिरामीहरु खोज्नका लागि पनि स्क्रिनिङ कार्यक्रम जरुरी रहेको उनको भनाइ छ । स्वास्थ्य कार्यालय बाँकेसँगको सहकार्यमा पालिकाले सिकलसेल रोगको पहिचान, उपचार र निदानका लागि काम गर्दै आएको छ । स्वास्थ्य कार्यालय बाँकेका सूचना अधिकारी नरेश श्रेष्ठका अनुसार राप्तीसोनारीमा विगत तीन वर्षदेखि स्क्रिनिङको काम भइरहेको छ । ०७८/०७९ मा ३३ जना सिकलसेलका बिरामी फेला परेका थिए भने ०७९÷०८० मा १२ जना सिकलसेलका बिरामी फेला परेको सूचना अधिकारी श्रेष्ठले बताए ।

उनका अनुसार अहिलेसम्म राप्तीसोनारीका ३, ४ र ५ नम्वर वडामा स्क्रिनिङ कार्यक्रम गरिएको छ । करिव पाँच हजार जनामा सिकलसेल एनिमिया चकेजाँच गर्दा ती रोगी भेटिएका हुन् । उनीहरुका लागि पालिकाले वीमा कार्यक्रमको योजना अघि सारेको पालिका अध्यक्ष पौडेलले बताए । सिकलसेलका बिरामीलाई लुम्विनी प्रदेश सरकारले बीमाको कार्यक्रम अघि सारेको छ ।

उक्त कार्यक्रममा समेटिन नसकेका रोगीलाई पालिका आफैले वीमा गर्ने योजना पालिकाको छ । पालिकाले सिकलसेल रोगको पहिचान र निदानका लागि चालू आर्थिक वर्षमा ११ लाख रुपैयाँ बजेट बिनियोजन गरेको छ । उक्त रकमबाट वडा नं.१ र २ मा स्क्रिनिङ कार्यक्रम गर्न लागिएको हो ।

थारु समुदायलाई प्रभावित पार्दै आएको वंशाणुगत सिकलसेल एनिमिया र थालेसेमिया रोगको पहिचान र निदानका लागि पालिकाले प्रदेश सरकारसँग पनि समन्वय र सहकार्यको पहल गर्ने पालिका अध्यक्ष पौडेलले बताए । उनले सिकलसेलको स्याम्पल कोहलपुरमा चेकजाँच गर्ने योजना रहेको पनि सुनाए । कोहलपुर नगरपालिकाको आफ्नै सिकलसेल ल्याव छ ।

Nabintech