५ जेष्ठ २०८१, शनिबार
बरहथवा घटना : २७ वर्षीय जयशंकर साहको शव रातभर घटनास्थलमै

झडपको क्रममा स्थानीयको ढुंगामुढा प्रहारबाट ८ जना प्रहरी घाइते


  • टाइम्स संवाददाता

  • २१ पुष २०८०, शनिबार ०८:११

सर्लाही:सर्लाहीको बरहथवामा शुक्रबार दिउँसो प्रहरीको गोली लागेर मृत्यु भएका जयशंकर साहको शव अझै घटनास्थलमै छ। बरहथवा नगरपालिका–६ का २७ वर्षीय साहको शुक्रबार प्रहरीको गोली लागेर घटनास्थलमै मृत्यु भएको थियो। उनलाई टाउकोमा गोली लागेको छ। उनको शव अहिले (शनिबार) बिहानसम्म पनि घटनास्थलमै रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका डीएसपी दीपेन्द्र पञ्जियारले जानकारी दिए।

मृतकका आफन्त र आन्दोलनरत स्थानीयले दोषीमाथि कारबाही र पीडित परिवारलाई क्षतिपुर्तिको माग गर्दै प्रहरीलाई शव उठाउन नदिएका वरहथवा ६ का वडाध्यक्ष मोहम्मद अफ्ताब आलमले  जानकारी दिए। प्रदर्शनको क्रममा अर्का एक स्थानीयलाई पनि गोली लागेको छ। उनको अवस्था भने खतरामुक्त रहेको वडाध्यक्ष आलमले बताए।

बरहथवाको प्राथमिक स्वास्थ्य केन्द्र मधेश प्रदेश सरकारलाई हस्तान्तरण गर्ने गत असोजको निर्णय बरहथवा नगरपालिकाले उल्टाएपछि कांग्रेससहितका दलले गरेको प्रर्दशनको क्रममा घटना भएको हो।  प्रदर्शनको क्रममा मेयर कल्पना कटुवालको घरमासमेत आगजनी र तोडफोड भएपछि बलप्रयोग गर्नुपरेको प्रहरीले जनाएको छ। झडपको क्रममा स्थानीयको ढुंगामुढा प्रहारबाट ८ जना प्रहरी घाइते भएका छन्।

‘घाइतेमध्ये भिखारी यादवको अवस्था गम्भीर छ,’ डीएसपी पञ्जियारले भने, ‘उनलाई बरहथवामा प्राथमिक उपचार गरी गएराति वीरगञ्ज लगिएको थियो। वीरगञ्जबाट पनि काठमाडौँ रेफर भैसकेको छ। अवस्था चिन्ताजनक छ।’ जिल्ला प्रहरी कार्यालय मलंगवामा कार्यरत यादवसहितको प्रहरी टोलीलाई थप फोर्सको लागि शुक्रबार दिउँसो बरहथवा लगिएको थियो।

स्थानीयको प्रदर्शन हिंस्रक झडपमा परिणत भएपछि जिल्ला प्रशासन कार्यालयले बरहथवा नगर क्षेत्रमा शुक्रबार साँझदेखि कर्फ्यु लगाएको छ। कर्फ्यु शनिबार बिहान ८ बजेसम्म जारी रहने स्थानीय प्रशासनले जनाएको छ। कर्फ्युपछि अहिले बरहथवा क्षेत्रको अवस्था सामान्य रहेको डीएसपी पञ्जियारले बताए।

Nabintech