१५ बैशाख २०८१, शनिबार
जाडोमा हिटर र गिजरले हुनसक्छ ‘कार्बनमोनोक्साइड पोइजनिङ’, कसरी जोगिने?

यस प्रकारका सामग्री प्रयोग गर्दा सर्तकता अपनाउनै पर्छ !


  • टाइम्स संवाददाता

  • २२ पुष २०८०, आईतवार ०८:३६

काठमाडौँ:डिसेम्बर २०२१ मा बागबजारस्थित एक छात्रावासमा एक विद्यार्थीको मृत्यु भयो। उनी नुहाउने क्रममा बेहोस भएर लडेका थिए। अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको थियो।
चिसोबाट बच्न घरमा प्रयोग गरिने विद्युतीय, ग्यास हिटर तथा गिजरका कारण यस्ता थुप्रै घटना घटेका छन्। जाडो सिजनमा यस्ता उपकरणको प्रयोगपछि दुर्घटनामा परी अस्पताल भर्ना हुने र मृत्यु हुनेको संख्या उल्लेख्य हुने चिकित्सकहरु बताउँछन्। त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको पल्मोनोलजी एवं क्रिटिकल केअर मेडिसिन विभागका डा. नीरज बम मृत्युका घटना बाहिर आए पनि घाइतेका बारेमा कसैलाई थाहा नहुने बताउँछन्। जाडो लागेपछि थुप्रै बिरामी नुहाउँदानुहाउँदै वा आगो ताप्दाताप्दै निसासिएको, बेहोस भएको भन्दै अस्पताल आउने गरेको र निको भएर जाने गरेको डा. बमको भनाइ छ।

किन निसासिन्छन् मान्छे?
ग्यासबाट चल्ने हिटर र गिजर चलाउँदा अथवा बन्द कोठाभित्र आगो बाल्दा त्यसबाट कार्बन मोनोक्साइड निस्किने विज्ञहरूले बताएका छन्। जब कार्बन मोनोक्साइड बन्द कोठा अथवा नुहाउने कोठामा फैलिन्छ, चिसो भित्र नपसोस् भनेर कोठा तथा बाथरुमको झ्याल–ढोका बन्द गरिएका कारण बाहिरको अक्सिजन भित्र पस्न पाउँदैन र भित्रबाट कार्बन मोनोक्साइडयुक्त हावा बाहिर जान पाउँदैन।

यसरी गुम्सिएको कोठामा फैलिएको कार्बन मोनोक्साइड मानिसले सासबाट लिन थाल्छन्। त्यो मानिसको फोक्सोमा पुग्ने र फोक्सोबाट रगतका नलीमा गएर रातो रक्तकोषिकाको हेमोग्लोबिनसँग टाँसिने डा. बम बताउँछन्।

भन्छन्, ‘सामान्य अवस्थामा फोक्सोबाट आएको अक्सिजनलाई हेमोग्लोबिनले बाँधेर शरीरभरि पुर्याउँछ। तर अक्सिजनको साटो कार्बन मोनोक्साइड रक्तनलीमा गएपछि मुटु, मिर्गौला, कलेजो र मस्तिष्कसम्म पनि पुग्छ। त्यसपछि मानिसमा निसासिने समस्या देखिन थाल्छ।’

यो अवस्थालाई कार्बनमोनोक्साइड पोइजनिङ भनिने डा. बम बताउँछन्। अक्सिजनको तुलनामा कार्बन मोनोक्साइड चाँडो हेमोग्लोबिनमा टाँसिए पनि कार्बन मोनोक्साइडको रङ र गन्ध नहुने भएकाले झट्ट पहिचान गर्न गाह्रो हुने उनको भनाइ छ।

लक्षण
कार्बनमोनोक्साइड शरीरमा फैलिनासाथ टाउको गरुङ्गो हुने र दुख्ने, रिंगटा लाग्ने, आँखा तिरमिर हुने जस्ता समस्या देखिन्छन्। गाह्रो बनाउँदै जाँदा शरीर फतक्क गल्ने, बान्ता आउने, हात काँप्ने जस्ता समस्या आउने र मानिस अचेत हुने डा. बम बताउँछन्।

‘यस्तो अवस्थामा मानिसलाई आफ्नो स्थितिबारे चेत हुँदैन। उनीहरु बाहिर निस्कन पनि सक्दैनन्। निस्कनु पर्छ भन्ने नै उनीहरुको चेतनामा आउँदैन। निसासिन्छन् र लामो समय अक्सिजन अभावमा रहँदा उनीहरुको मृत्यु नै हुन सक्छ,’ बम भन्छन्।

डा. बमका अनुसार मुटुले अक्सिजन नपाउँदा मुटुको गति र ताल असन्तुलित हुने बम बताउँछन्। जसलाई ‘एरिद्मिया’ भनिन्छ। अधिकांश यस्ता दुर्घटना गिजर प्रयोग गरेर नुहाउँदा अथवा हिटर बालेर सुतिरहेको अवस्थामा हुने गरेको विज्ञहरुको भनाइ छ। सुतेकाहरूको हकमा उनीहरू अर्धचेतनमा हुने र रिँगटा लागेको तथा टाउको दुखेको थाहै नपाएर बेहोस् हुने र उठ्न सक्दैनन्।

जोगिने उपाय
ग्यास तथा विद्युतीय उपकरण प्रयोग गर्दा बाहिरी र भित्री वातावरणको हावा आवतजावत हुने ठाउँको प्रयोग गर्नु पर्ने विज्ञको भनाइ छ। यस्ता उपकरण प्रयोग गर्दा झ्याल तथा भेन्टिलेसन खुला राख्दा यस प्रकारका जोखिम घट्ने डा. बम बताउँछन्। कार्बनमोनोक्साइड हावामा हलुका हुने र खुला ठाउँबाट बाहिर निस्किने बमले जानकारी दिए।

जाडोमा तातोका लागि प्रयोग गरिने यस्ता प्रकारका उपकरणबाट दुर्घटना भैहाले बिरामीलाई अस्पताल लगिहाल्न डा. बमले सुझाए।

‘हाम्रो समाजमा हरेक कुराको घरेलु उपचार खोज्ने र गर्ने प्रचलन हुन्छ। यस्ता उपकरणको प्रयोगका कारण बेहोस भएको मानिसलाई घरेलु उपचारका नाममा अस्पताल लैजान ढिला गर्नु हुँदैन। कार्बनमोनोक्साइड पोइजनिङ भएकाहरूलाई तीव्र गतिमा प्रवाह हुने अक्सिजन सहायतामा राख्नुपर्छ। परीक्षणपछि बिरामीको शरीरको कहाँ कस्तो असर परेको छ सोहीअनुरूप औषधि उपचार गरिन्छ,’ डा. बम बताउँछन्।

चिसोमा तातोले निम्त्याउने अन्य जोखिम
देशका ग्रामीण तथा तराई क्षेत्रमा जाडो सिजनमा घुरमा आगो थाप्दा जलेर दुर्घटना भएका खबर वर्षैपिच्छे सार्वजनिक भैरहेका हुन्छन्। सहरी भेगका कथा फरक छन्। सहरमा भने गिजर तथा हिटरकै कारण बढी दुर्घटना हुने गरेका छन्। केकी वर्षअघि काठमाडौँको कलंकीमा इन्जिनियर दम्पती पुष्करराज जोशी र अप्सरा श्रेष्ठको धुवाँमा निसासिएर मृत्यु भयो। उनीहरुको कोठाबाट धुवाँको मुस्लो निस्किएपछि छिमेकीले उद्धार गरेर कीर्तिपुरस्थित नेपाल क्लेफ्ट एन्ड बर्न सेन्टर पुराएका थिए। तर, घटना भएको पाँच दिनपछि श्रीमानको र त्यसको चार दिनपछि श्रीमतीको निधन भयो।

घटनाको अनुसन्धानपछि प्रहरीले घटना भएको रात कोठामा ग्यास हिटर बालिएको र त्यही हिटरको ग्यास चुहिएर आगलागी भएको निष्कर्ष निकालेको थियो। जाडोमा यस्तै प्रकारका दुर्घटनामा जलनमा परेको बिरामीको संख्या ह्वात्तै बढ्ने गरेको नेपाल क्लेफ्ट एन्ड बर्न सेन्टरका बर्न वार्ड प्रमुख डा. सुरेन्द्र बस्नेत बताउँछन्।

सहरी क्षेत्रमा ग्यास हिटर लिक भएर अथवा विद्युतीय हिटर सर्ट भएर थुप्रै दुर्घटना भएको न डा. बस्नेतको भनाइ छ। उनका अनुसार तातो पानी शरीरमा पोखिएर हुने जलनबाट बालबालिका पीडित हुने गरेका छन्। बालबालिकाहरूले बलिरहेको हिटर समातेर वा हिटरको रापले उनीहरूको लुगा पगाल्ने घटनाहरू समेत भएको डा. बस्नेतले सुनाए।

न्यानोका लागि प्रयोग गरिने एअर कन्डिसनर (एसी) ले पनि स्वास्थ्य समस्या निम्त्याउन सक्ने चिकित्सकहरू बताउँछन्। बन्द कोठालाई चिसो बनाएर बस्नेहरूमा रुघाको समस्या अधिक हुने र तापक्रम बढाएर बस्नेहरूमा छालाको एलर्जी, आँखा र नाक चिलाउने जस्ता समस्या देखिने डा. निरज बम बताउँछन्।

भन्छन्, ‘यस प्रकारका सामग्रीको प्रयोग मानव स्वास्थ्यका लागि हानिकारक नै छ। प्रयोग गर्नुपर्ने बाध्यता पनि छ। त्यसैले यस प्रकारका सामग्री प्रयोग गर्दा सर्तकता भने अपनाउनै पर्छ।’

Nabintech