२३ बैशाख २०८१, आईतवार
कालो गगल्समा त ‘झकास’ !

  • राजेन्द्र खनाल ‘क्षितिज’

  • २२ पुष २०८०, आईतवार १९:४०

होइन यो कालो चस्मा लगाएपछि ह्याण्डसम नै हुने हो ? ब्यूटीफुल नै हुने हो ? गएको महिना मैले घरमा भएका सबै कालो गगल्सहरू निकालेर सफा गरेँ, अनि यसो गनेको त सत्रवटा पो रहेछ ! विभिन्न ब्राण्डका रेवन, गुची, एभियटर, पोलिस आदि । कोही पोलोराइज्ड, कोही फोल्डिङ चस्मा, नाइट भिजन, चेन्जेबल, पूरै कालो देखिने, निलो देखिने आदि । यो कालो गगल्स लगाउने अनि गगल्सहरू जम्मा पार्ने मेरो शोख पनि हो । म प्रायः बाहिर हिँड्दा, कालो गगल्स कहिल्यै छुटाउँदिन, र मेरो घाँटीमा सधैं बाहिर नै झुण्डिरहने चाँदीको सिक्री र त्यसैमा उनिएको बाह्रमुखे रुद्राक्षसँगै म प्रायः गगल्स झुण्ड्याउने गर्छु ।

अचेल अधिकांश व्यक्तिले कालो गगल्स लगाउनेगरेको देखेको छु । अझ फोटो खिच्ने बेलामा त फोटो खिच्नेलाई अत्याएर नै भन्छन्- ‘ए पख्नुस् त, पख्नुस्…!’ अनि महिला छन् भने ब्यागबाट कालो गगल्स निकालेर चट्ट लाउँछन्, पुरुष छन् भने कोट वा ज्याकेटबाट कालो गगल्स निकालेर पहिरिन्छन् र पोज दिन थाल्छन् । मानौँ कालो चस्माले सुन्दरतामा जादुमय चमत्कार नै गरेको छ । अघिसम्म धपधप बलिरहेका ती आँखालाई कालो गगल्सले ढपक्क ढाकेर पूरै पोत्दा खै के पो राम्रो भयो होला ?

गएको महिना बत्तिसपुतलीको अनुपम पार्टी प्यालेसमा एउटा आफन्तकै कार्यक्रममा निम्तो पाएर गएको थिएँ । रातिको समय भित्र हलमा एकहुल महिलाहरू फोटो खिच्दै थिए, सबै मेरै नातागोता नै थिए । एकजना सालीले परैबाट मलाई देखिन् अनि हातको इसाराले बोलाइन् र भनिन्- ‘भिनाजु हाम्रो फोटो खिचिदिनु न !’ अनि मलाई उनले मोबाइल थमाइहालिन् । म फोटो खिच्न के आँटेको थिए, सबै कराउन थाले । कोही एकछिन भिनाजु, कोही एकछिन अंंकल, अनि कोही एकछिन मामा भन्न थाले । सबैले टेबलमा राखेको ब्यागबाट कालो गगल्स निकाले, अनि आँखामा लगाउँदै स्टाएल दिन थाले । एकजना नातेदार बुहारीले ल्याउन बिर्सिछिन् क्यार, अनि मेरो कोटको माथिल्लो गोजीमा हेर्दै भनिन्, ‘अंकल, हजुरको गगल्स एकपल्ट दिनु न ।’ मैले कोटको माथिलो गोजीमा राखेको गगल्स दिए । खुसी हुँदै लगाइन् र भनिन्, कस्तो राम्रो रहेछ ! मैले पनि भनेँ- यो राति नै लाउने चस्मा हो, पोलोराइज्ड नाइट भिजन !

म फोटाहरू खिच्न ब्यस्त भएँ, उनीहरू पोज दिइरहेका थिए । तर आँखा चैँ सबैको पूरै कालो चस्माले ढाकिएको थियो । मलाई भने त्यो राति त्यसरी कालो चस्मा लगाएर सुन्दर आँखा छोपेको पटक्कै मन परेको थिएन । समुहको फोटो सेसन सकियो, अनि दुईवटी सालीले पोज दिँदै भने- ‘भिनाजु हाम्रो एउटा-एउटा सिङ्गल खिचिदिनु न ।’ दुवै सालीको दुई-दुईवटा सिङ्गल पनि खिचिदिएँ । अनि आएर टेबलमा बसेर यसो वाइन चुस्की लगाउन थालेँ ।

दुवै सालीहरू म बसेको टेबलमा आए, अनि कालो गगल्स ढल्काउँदै एकजना सालीले भनिन्, कस्तो देखिएको छ त भिनाजु मलाई ? अर्की सालीले थपिन्, तँलाई त ‘झकास’ देखिएको छ, कस्तो सुहाएको, कति राम्री देखिएकी ! फेरि सालीले भनिन्- तलाईं सोधेको होइन, किन परपर्ती बोल्छेस्, मैले त हाम्रो ह्याण्डसम भिनाजुलाई पो सोधेको ! अब परेन आपत् ?! नराम्रो भनौँ.. आफ्नै सालीहरू, त्यो पनि भिनाजुले नराम्रो त भन्ने कुरै भएन । फेरि ह्याण्डसम भिनाजु भनेकी छिन् । राम्रो भनौँ.. त्यो झलमल्ल बत्ती बलेको रातिको बेला लगाएको कालो गगल्समा के चैँ राम्रो भन्नु ? मैले उनीहरूका ती सुन्दर आँखा नै देखिरहेको थिइनँ, आँखाभरी अलकत्रोले पोतेजस्तो लागिरहेको थियो । मलाई भित्रैदेखि अटसमटस भइरहेको थियो । साँच्चै भन्नुपर्दा दुवै सालीहरू पटक्कै राम्रो देखिरहेको थिइनँ । सालीहरू रिसाउलान् भनेर, मैले न्याउरो मुख लाउँदै मधुरो स्वरमा ‘राम्रो देखिएको छ’ मात्र भनेँ ।

अनि छेउमै भएको कुर्सी तान्दै भनेँ- ‘लौ यहाँ बस !’ दुवै सालीहरू बसेपछि भन्न थालेँ- ‘हेर सालीश्रीहरू, तिमीहरू दुवैजना प्राकृतिकरूपमै अति राम्रा छौ । दुवै गहुँगोरी छौ, जीउडाल पनि राम्रो छ, घनाकेशले अझ सौन्दर्य थपेको छ । मोतीझैँ चम्किएका अनारदाना दन्तपङ्क्ति छन् । मुस्कानले तिमीहरूले लगाएको गहनाहरू फिक्का परेका छन् । यति राम्रा ठुला-ठुला मृगनयनहरू छन् । तिमीहरू नबोलिकन बसेपनि आँखाहरू बोलिरहेका जस्ता देखिन्छन् । त्यस्ता बोलिरहेका आँखालाई कालो चस्माले ढाकिदिँदा, आफै भन त, के तिमीहरू सुन्दर देखिन्छौ ? ती बोलिरहेका जस्ता देखिने आँखाहरू फोटोमा देखिँदा पो मान्छे सुन्दर देखिन्छन् । प्रकृतिले दिएका ती सुन्दर जोडीआँखा त बरदान नै हुन् नि । म पनि कालो गगल्स लगाउँछु, तर यो लाउने भनेको पनि एउटा समय हुन्छ । जस्तै, बाहिर हिँड्दा घाममा वा धुलोधुवाँबाट आँखालाई बचाउन । यो राति, यो हलभित्र, बिजुलीबत्ती झलमल्ल बलेको ठाउँ चैँ पक्कै पनि उपयुक्त ठाउँ होइन होला, यो कालो गगल्स लगाउनलाई ।’

तिमीहरू एकपल्ट यो गगल्स खोल त भनेर मैले दुवै सालीहरूलाई भनेँ, दुवैले खोले, अनि पुनः भनेँ- ‘ल हेर, अघि देखिएका तिमीहरू र अहिलेका तिमीहरूमा आकाश-पाताल फरक भयो । अघि तिमीहरूले कालो गगल्स लगाउँदा, मैले तिमीहरूलाई पढ्न सकेको थिइनँ, तर अहिले म तिमीहरूलाई बुझ्न सक्छु । ती आँखाहरू झलझल बलेका छन्, आफै बोलिरहेका छन् । तिमी र म नबोले पनि आँखाको हाउभाउले सम्वाद आदानप्रदान गर्न सकिन्छ । जब तिमी हाँस्छौ, तिम्रो मुस्कान र आँखाको गहिरो सम्बन्ध हुन्छ । अनि त्यो हेराइ र मुस्कानको मिश्रण नै सुन्दरताको प्रतिविम्व सामुन्ने देखिन्छ । त्यसैले ती बरदानस्वरुप पाएका सुन्दर नयनहरूलाई कृपया कालो गगल्सले यो रातको समयमा, अनि यो झलमल्ल र खचाखच भएको हलमा नढाकिदेउ ।’ दुवै सालीहरू एकछिन मेरा कुरा सुनेर टोलाइरहे । दुवैले आफ्नो कालो गगल्स ब्यागमा थन्काउँदै मलाई टोलाएर हेर्नथाले ।

होइन भिनाजुलाई वाइन लागेको हो कि के हो ? पूरै कवि पो हुन थाल्नुभयो । दुवै मज्जाले हाँसे अनि फेरि भन्नथाले, ‘हो नि भिनाजु, हजुरको कुरा मन पऱ्यो । वास्तवमा हजुरको कुरामा दम छ । अबदेखि त हामी राति कहिल्यै यो कालो गगल्स लगाउँदैनौँ । अनि, सयाँलमा वा दिउँसो पनि कोठाभित्र भएका कुनै पनि कार्यक्रममा हामी यो कालो चस्मा लगाउँदैनौँ ।’ सालीश्रीहरू पनि मलाई साथ दिँदै वाइन पिउनथाले, अनि यस्तै गफहरू चुस्की लिँदै निरन्तर अघि बढिरह्यो ।

अब प्रशङ्ग बदलौँ । कोही-कोही सेलिब्रेटी भनिनेहरू टिभीमा अन्तर्वार्ता दिँदा पनि कालो गगल्स लगाएको देखेको छु । कोही भने रातिको कार्यक्रममा पनि कालो गगल्स लगाएर गमक्क परेर बसेको देखेको छु । वास्तवमा भन्दा यो कालो चस्माले न वहाँको व्यक्तित्व बढाउँछ न वहाँ राम्रो नै देखिनुहुन्छ । केवल भ्रममात्र हो, कालो चस्माले तपाईं कुनै पनि हालतमा राम्रो देखिनु चैँ हुन्न है । ल ठोकुवाका साथ मैले भन्दिएँ, जे पर्ला-पर्ला । अझ अन्तर्वार्ता दिँदा त आँखाको जुधाई नै एकअर्कामा हुँदैन, अनि कसरी हाउभाउ बुझ्ने ? जब तपाईंको आँखा अर्को व्यक्तिको आँखासँग जुध्छ तब तपाईंको मन पढ्न सकिन्छ । चस्मा लाउनु नै पर्ने बाध्यता कसैलाई हुनसक्छ, वा तपाईंको आँखा पाकेको हुनुपऱ्यो । तर जो बाध्यताको समुहभित्र छैनन्, वहाँहरूले नलगाउँदा नै अन्तर्बार्ता लिने र दर्शकगणलाई पनि तपाईंबारे बुझ्न सजिलो हुन्छ । नाइट भिजन, पोलोराइज्ड, पारदर्शी कालो देखिने चस्मा पनि भरसक नलगाइकन आँखामा आँखा जुधाएर अन्तर्वार्ता दिनु वा कुनैपनि बहसमा भाग लिनु नै उत्तम हुनेछ ।

मलाई त कति कविता कसै-कसैको आँखामा हेरिरहँदा नै फुर्छ । सायद अन्य कविहरूलाई पनि यस्तै हुन सक्छ ? आँखा जुधाएर हेर्दा प्रेममा रहेका प्रेमिल जोडीहरू रोमान्चित बन्न पुग्छन् । प्रकृतिले दिएको अनुपम सुन्दरता हेरेर रमाउन सकिन्छ । जब तपाईं आँखा जुधाएर कुरा गर्नुहुन्छ, तपाईंको मनको भाव पढ्न सकिन्छ । तपाईंसँग भएका अन्तरक्रियाहरू आकर्षक बन्न पुग्छ । एकअर्कालाई राम्रोसँग बुझ्न सकिन्छ । यदि तपाईंलाई कुनै महिला वा श्रीमतीले सोधिन्, ‘भन्नुस् त तपाईंलाई मेरो शरीरका अङ्गहरूमा सबैभन्दा राम्रो के लाग्छ ?’ निश्चय नै तपाईं एकछिन नियालेर अन्त्यमा अधिकांशले भन्ने आँखा नै हो, चाहे आँखा सानो, ठूलो वा जस्तोसुकै होस् । त्यसैले यो मान्छेको मन लोभ्याउने आँखालाई सधै चम्किरहन दिनुस् । तपाईंको आँखाको भाव अरुले सजिलै बुझ्न सकुन् । नेपालीहरूको कूनैपनि चाडबाड, तीज, विवाह पार्टी आदिमा अधिकांश महिलाहरू कोठामा पनि कालो चस्मा लगाएर नाचिरहेका नै देखिन्छन् । तसर्थ आँखाको सुरक्षा हेतु बिन्ती, लाउनुपर्ने ठाउँमा मात्र कालो चस्मा लगाउँ ।

कालो गगल्स वा चस्मा मान्छे किन लगाउँछन् त ? वास्तवमा कोठाभित्र, अन्तर्वार्ता दिँदा वा कुनैपनि अन्तरक्रिया गर्दा कसैले कालो गगल्स वा चस्मा लगाउनुको कारण विभिन्न हुन सक्छ । तपाईंको मनभित्रको भाव अरुले सिधै नबुझोस् भन्ने चाहनुहुन्छ वा भनौँ तपाईं आफ्नो पीडा लुकाउन चाहनुहुन्छ । हुनसक्छ तपाईंमा आत्मविश्वासको कमी छ । तपाईंको मनोभाव अरुले थाहा नपाओस् भन्ने चाहनुुहुन्छ । तपाईं यो पनि चाहनुहुन्छ, तपाईंको रसाएका आँखा वा झर्न लागेका आँशु अरुले नदेखुन् । वा यसो पनि हुन सक्छ, तपाईंभित्र केही गलत नियतहरू छन्, जुन तपाईं अरुले थाहा नपाओस् भन्ने चाहनुहन्छ । तपाईंमा भएको त्यो कुदृष्टि अरुले पढ्न नसकुन् भन्ने चाहनुहन्छ । अनि तपाईं एक्लै त्यसको भरपुर आनन्द लिन चाहनुहुन्छ । हुनसक्छ तपाईं आफ्नो आँखाको बनावट वा रङ्ग लुकाउन चाहनुहन्छ । वास्तवमा तपाईं आफ्नो पहिचान नै लुकाउँदैहुनुहुन्छ । आँखालाई लुकाएर तपाईं रक्षापङ्क्तिमा उभिन चाहनुहुन्छ । जसले आफ्नो सुन्दर आँखाको दृष्टि गुमाएका छन्, उनीहरू बाध्यतामा रहेर आँखामा कालो चस्मा लगाउँदछन् । कति जना त अझ त्यो कालो चस्मालाई त्यागेर नलगाइकन पनि प्रस्तुत भएको देखेको छु ।

कसले प्रायः कालो गगल्स लगाउनैपर्ने बाध्यता हुन्छ त ? जसले धेरै नै उज्यालो भएको मञ्चमा आफ्नो प्रदर्शन गरिरहेका हुन्छन् । जस्तै, रकस्टारहरू, जसले विभिन्न रङ्गका फ्लास लाइटले बाधा नपुऱ्याओस् भन्ने चाहन्छन् । जसको आँखा धेरै उज्यालोमा संवेदनशील हुन्छन्, डाक्टरको सल्लाहअनुसार नै उनीहरूले कालो गुणस्तर गगल्स लगाउँछन् । धेरै महत्वपूर्ण व्यक्तिको सुरक्षामा खटिएकाहरूले कालो गगल्स प्रायः लगाउँदछन् । एकैठाउँमा उभिएर चारैतिर हेरेको अरुलाई थाहा हुँदैन । भिडमा देखिएका कुनै मान्छेले केही उछृङ्खल कार्य गर्न खोजे भिडमै रहेको आफ्नो साथीलाई जानकारी गराएर नियन्त्रणमा लिन । अनि हिँडिरहेको बेलामा चारै दिशाबाट हुनसक्ने कुनैपनि सम्भावित आक्रमणबाट राम्रो सुरक्षा दिन सकुन् भनेर ।

हामी उल्लु, बिरालो त होइनौँ, त्यसैले हामी राति देख्न सक्दैनौँ । तर अनुसन्धानले पुरुषभन्दा महिला अँध्यारोमा पनि केही हदसम्म देख्न वा दिशाबोध हुन सक्छन् भन्ने देखाएको छ । त्यसैले स्वभाविक रूपमा तपाईं दिउँसोभन्दा राति कम देख्नुहुन्छ । यस्तोमा यदि गुणस्तर कम भएका कालो गगल्स लगाइरहँदा तपाईंको आँखा झन् खराब हुनसक्छ, धमिलो देख्न थाल्नुहुनेछ । अनि तपाईंलाई नियालिरहनेहरूले सिधै नभने पनि मनमनै चैँ पक्कै भन्नेछन्, ‘के कालो चस्मा लागाएको होला यो राति पनि !’ त्यसैले राति गगल्स लाउनैपर्ने बाध्यता छ भने, गुणस्तरयुक्त पोलोराइज्ड र नाइट भिजन पहेँलो वा सुन्तला रङ्गको लाउन सक्नुहुन्छ । तर गुणस्तरहीन सस्ता चस्मा नलगाउनुस्, जसले न तपाईं राम्रो देखिनुहुन्छ न त तपाईंको व्यक्तित्वमै निखार आउनेछ । बजारमा पाउने कमसल किसिमका कालो गगल्सले तपाईंको आँखा पक्कै पनि दिन-प्रतिदिन खराब हुँदै जानेछ । त्यसैले त एउटा गीतले भन्छ नि.. ‘कालो चस्मा लाउँ है माया विशाल बजारको’ ! गुणस्तर नै लाउँ, फुटफाटको नलाउँ भनेर सन्देश दिएको होला !

तपाईंंलाई लाग्न सक्छ यो मेरो निजी कुरा हो, मैले के गर्दा अरु खुसी हुन्छन् भन्नेसँग सरोकार छैन मलाई । म के गर्दा खुसी हुन्छु त्यही नै गर्ने हो भन्नुहोला । यो तपाईंंको आफ्नो स्वविचार हो, दुईमत छैन । म त केवल यति मात्र भन्छु, किमार्थ, यदि तपाईं कुठाउँमा कालो गगल्स वा चस्मा लगाएर प्रकृतिले दिएका ती सुन्दर बोलिरहेझैँ देखिने जोडी आँखालाई ढपक्कै ढाक्दा कदापि राम्रो चैँ देखिनुहुन्न । आगे तपाइको मर्जी । अस्तु !

Nabintech