२६ बैशाख २०८१, बुधबार
नेपालगन्जबाट काठमाडौंका लागि छुटेको बस दुर्घटना

  • टाइम्स संवाददाता

  • २ माघ २०८०, मंगलवार १०:४८

नेपालगन्ज: नेपालगन्जबाट काठमाडौंका लागि छुटेको यात्रुबहाक बस आज बिहान दुर्घटनामा परेको छ । नवलपरासी पूर्वको देवचुली- १४ दलदलेमा आज बिहान करिब ५ बजेतिर भे१ख ४१२८ नम्बरको उक्त बस दुर्घटनामा परेको हो । गाडीमा सवार चारजना घाइते भएका छन् । उनीहरुको उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रवक्ता देवबहादुर पौडेलले जनाए ।

महोत्तरी जलेश्वर-१ का २५ वर्षीय शनि पाण्डे, नुवाकोट विदुर-९ का ३० वर्षीया कृतिका शाही, जुम्ला चन्दननाथ-९ की २३ वर्षीया अनिता नेपाली र बर्दिया बारबर्दिया-५ का ३२ वर्षीय सुदीप केसी घाइते भएका उनले जनाए । पाण्डेको बायाँ हातमा चोट लागेको छ भने शाहीको टाउकोमा चोट छ । जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका अनुसार नेपालीको टाउको र ढाँड र केसीको अनुहारमा चोट लागेको छ । घाइतेको भरतपुरमा उपचार भइरहेको छ । उक्त बसमा ४० जना यात्रु सवार थिए ।

Nabintech