२२ बैशाख २०८१, शनिबार
वैशाख १ गतेदेखि नेपालगन्जमा सुर्तीजन्य पदार्थ पूर्णरुपमा निषेध !

निर्णयको पूर्ण कार्यान्वयनमा आशङ्का


  • टाइम्स संवाददाता

  • ९ माघ २०८०, मंगलवार १९:३९

नेपालगन्ज:नेपालगन्ज उपमहानगरपालिकाले आगामी नयाँ वर्ष अर्थात् २०८१ वैशाख १ गतेदेखि नेपालगन्जमा सुर्तीजन्य पदार्थ पूर्णरुपमा निषेध गर्ने निर्णय गरेको छ । नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टको अध्यक्षतामा सुर्तीजन्य पदार्थको नियन्त्रण र नियमन सम्बन्धमा बसेको बैठकले वैशाख १ गतेदेखि नगर क्षेत्रभरि सुर्तीजन्य पदार्थको उपभोग तथा बिक्रीमा पूर्णरुपमा निषेध गर्ने निर्णय गरेको हो ।

नेपालगन्ज उपमहानगरको स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्दले दिनु भएको जानकारी अनुसार उपमहानगरमा सुर्तीजन्य पदार्थको उपभोग तथा बिक्रीमा पूर्णरुपमा रोक लगाउने निर्णयलाई कडाइका साथ पालना गरिने निर्णय बैठकले गरेको छ ।

वैशाख १ गतेभन्दा अघि नै सुर्तीजन्य पदार्थबाट हुने हानी नोक्सानीबारे विभिन्न माध्यमबाट पालिकाभर व्यापक सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने, उपमहानगरपालिका कार्यालयसँगै वडा कार्यालय र नगरभित्रका सम्पूर्ण कार्यालयहरूमा सुर्तीजन्य पदार्थको उपयोग र वितरणमा निषेध गर्ने गरी सचेतनामूलक सूचनापाटी टाँस गर्ने र सुर्तीजन्य पदार्थको उत्पादन र बिक्री वितरण गर्ने निकाय एवम् व्यवसायीको तथ्याङ्क सङ्कलन गर्ने निर्णय पनि गरिएको स्वास्थ्य महाशाखा प्रमुख चन्दले बताउनुभयो ।

नेपालगन्ज उपमहानगरका प्रमुख विष्टले सो निर्णयबारे जानकारी गराउनुहुँदै आगामी वैशाख १ गतेदेखि नगरमा पूर्णरुपमा सुर्तीजन्य पदार्थ निषेध गर्ने निर्णय गरिएको र त्यस अघि सचेतना प्रवर्द्धनसँगै तयारी अभियान सञ्चालन गरिने बताउनुभयो । बैठकमा सहभागी नेपाल सरकारका उपसचिव पुष्कर नेपालले सङ्घीय ऐनमा सुर्तीजन्य पदार्थ नियमन र नियन्त्रणका विषयमा भएका व्यवस्थाको प्रभावकारी कार्यान्वयनका लागि स्थानीय सरकारहरूले तदारुकता देखाउन आवश्यक रहेको बताउनुभयो ।

बैठकमा नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओमबहादुर खड्का, सहायक प्रमुख जिल्ला अधिकारी लालबहादुर गुरुङ लगायत सरोकारवालाको उपस्थिति रहेको थियो ।

उपमहानगरले गरेको सो निर्णयको उपमहानगरका स्थानीय बासिन्दाले स्वागत गरेका छन् । तर उनीहरूले सो निर्णयको पूर्ण कार्यान्वयनमा आशङ्का समेत व्यक्त गरेका छन् ।

Nabintech