२० बैशाख २०८१, बिहीबार
बाँकेमा अनुदानको मल समेत दुरुपयोग

गायब भएको १ सय ३० बोरा मलका बारेमा ७ दिन भित्र स्पष्टीकरणसहित उपस्थित हुन निर्देशन


  • टाइम्स संवाददाता

  • १२ माघ २०८०, शुक्रबार १०:२५

बाँके:बाँकेमा नेपाल सरकारले किसानहरूलाई अनुदानमा विक्री वितरण गर्न दिएको रासायनिक मलमा दुरुपयोग भएको पाइएको छ ।नेपाल सरकारद्वारा अनुदानमा किसानहरूलाई बिक्री वितरण गर्न दिइएको रासायनिक मलमा दुरुपयोग भएको पाइएको बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले जानकारी दिनुभयो ।

बाँकेको नरैनापुर ५ मटेहियास्थित ‘राप्ती कृषि सहकारी संस्था लिमिटेड’ले किसानलाई वितरण गरिने रासायनिक मलमा दुरुपयोग गरेको पाइएको उहाँले बताउनुभयो । सहायक प्रमुख जिल्ला अधिकारी लालबहादुर गुरुङको नेतृत्वमा वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय, कृषि ज्ञान केन्द्र तथा कृषि सामग्री कम्पनीका प्रमुखसहितको सहभागितामा रहेको बजार अनुगमन समितिको टोलिले उक्त सहकारीमा आकस्मिक अनुगमन गर्दा कैफियत गरी मलमा दुरुपयोग गरेको पाइएको प्रजिअ पोखरेलले जानकारी दिनुभयो ।

प्रजिअ पोखरेलका अनुसार सो सहकारीले नरैनापुरका किसानका लागि भनेर कृषि सामग्री कम्पनीबाट गत माघ ९ गते दुई सय बोरा (प्रति बोरा ५० केजीका दरले) सरकारबाट अनुदानमा प्रदान गरिएकाे रासायनिक युरिया मल लगेको थियो । जसमध्ये ६४ बोरा युरिया मल फेला परेको र ६ बोरा मल स्थानीय किसानलाई विक्री गरेको भरपाई प्राप्त भएको छ भने मौज्दातमा हुनुपर्ने बाँकी १ सय ३० बोरा अनुदानित युरिया मल गायब भएको पाइएको उहाँले बताउनुभयो ।

उक्त सहकारीले प्रचलित कानुन विपरीतको कार्य गरेको पाइएकोले उपभोक्ता हित संरक्षण ऐन बमोजिम २ लाख रुपियाँ जरिवाना गरिएको छ साथै गोदाममा रहेको ६४ बोरा अनुदानित मल हाललाई सिल गरिएको छ । गायब भएको १ सय ३० बोरा मलका बारेमा ७ दिन भित्र स्पष्टीकरणसहित उपस्थित हुन निर्देशन दिइएको प्रजिअ पोखरेलले बताउनुभयो ।

नेपाल सरकारद्वारा अनुदानित मल तोकिएका सहकारीमार्फत तोकिएका क्षेत्रका किसानले पाए नपाएको सुनिश्चित गर्नका लागि प्रभावकारी रूपमा अनुगमन गर्न सबै स्थानीय तहहरूलाई अनुरोधसमेत गरिएको प्रजिअ पोखरेलले बताउनुभयो ।

Nabintech