२१ बैशाख २०८१, शुक्रबार
खजुरामा प्रतिभाको खोजी आजवाट

खजुरा गाउँपालिका साहित्य र कला क्षेत्रमा सम्भावना भएको पालिका


  • टाइम्स संवाददाता

  • १३ माघ २०८०, शनिबार १०:०२

नेपालगञ्ज: बाँकेको खजुरा गाउँपालिकामा आज शनिवारदेखि बृहत साहित्य कार्यक्रम आयोजना गरिने भएको छ । खजुरा प्रज्ञा प्रतिष्ठानले प्रतिभाको खोजी गर्नका लागि साहित्य कार्यक्रमको आयोजना गर्न लागेको हो ।

खजुरा प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. इन्द्रबहादुर भण्डारीका अनुसार विभिन्न ७ विधामा ३ दिन कार्यक्रम आयोजना हुनेछ । जसमा गायन, नृत्य, चित्रकला, निबन्ध, कविता, उखान र वक्तृत्वकला रहेको उपकुलपति डा. भण्डारीले जानकारी दिए । ‘१३ र १४ गते ७ विधामा प्रतियोगिता गराइन्छ, १५ गते उत्कृष्ट र विधागत उत्कृष्ट विद्यार्थीलाई सम्मान र पुरस्कृृत गरिन्छ,’ डा. भण्डारीले भने, ‘यो भन्दा पहिला केही विधाहरुमा यस्ता कार्यक्रम आयोजना गरिएको थियो । तर, एकैपटक बृहतरुपमा भने पहिलोपटक कार्यक्रम आयोजना हुन लागेको हो ।’ कार्यक्रम ‘म र मेरो खजुरा’ विषयमा केन्द्रित हुने उनले बताए । कार्यक्रममा खजुरा गाउँपालिकाका विद्यार्थीले मात्र सहभागिता जनाउन पाउने उनको भनाई छ ।

खजुरा प्रज्ञा प्रतिष्ठानका सदस्य माधव शर्माका अनुसार खजुरा गाउँपालिकाभित्र रहेका विद्यार्थीहरुको प्रतिभा प्रस्फुटन गर्न बृहत कार्यक्रमको आयोजना गर्न लागिएको बताए । उनले खजुरा गाउँपालिका साहित्य र कला क्षेत्रमा सम्भावना भएको पालिका भएकाले प्रज्ञा प्रतिष्ठानले प्रतिभा खोजीका लागि कार्यक्रम गर्न लागेको बताए । यो कार्यक्रमले हरेक वर्ष प्राथमिकता पाउने शर्माको भनाई छ । प्रज्ञा प्रतिष्ठानले उक्त कार्यक्रम खजुरा गाउँपालिकाको सहयोगमा आयोजना गर्न लागेको हो ।

Nabintech