२२ बैशाख २०८१, शनिबार
युवाहरुको सक्रियतामा राप्ती नदी आसपासको क्षेत्र सरसफाई

नेपालगन्ज ग्यालरी र क्लीन नेपालगन्ज ग्रीन नेपालगन्जका युवाहरुको नेतृत्वमा सरसफाई सम्पन्न


  • टाइम्स संवाददाता

  • १३ माघ २०८०, शनिबार १७:५१

नेपालगन्जः बाँकेको राप्ती नदी आसपासको फोहोर व्यवस्थापनलाई युवाहरुले प्रभावकारी बनाउँदै लगेका छन् । राप्ती सरसफाइ अभियानको आज छैठौ शनिवार, नेपालगन्ज ग्यालरी र क्लीन नेपालगन्ज ग्रीन नेपालगन्जका युवाहरुको नेतृत्वमा जनप्रतिनिधि तथा स्कुले विद्यार्थीहले राप्ती नदी आसपासको क्षेत्रमा सरसफाई गरेका छन् ।

राप्ती नदीमा फ्याँकिएका प्लाटिकका थैला, फूलमालालगायत अन्य फोहरजन्य कच्चापदार्थले नदीलाई कुरुप बनाएको भन्दै युवा नदी क्षेत्रको सरसफाइमा जुटेको प्रमुख अभियान्ता विमल प्रधानले जानकारी दिनुभयो । वरपर देखिने फोहरले नदीलाई कुरुप बनाएको भन्दै युवाले नदी वरपरको वातावरण स्वच्छ र स्वस्थ राख्न सरसफाइ गर्ने गरेका छन् ।

“हाम्रो अभियान भनेको नेपालगन्जलाई स्वच्छ र स्वस्थ राख्ने हो । पर्यटकीय हिसाबले राप्ती नदी पनि नेपालगन्जको एक महत्वपूर्णस्थल भएकाले हामीले नदी वरपरको फोहरलाई व्यवस्थापन गरी सफा राख्ने प्रयास गरेका हौँ”, अर्का अभियान्ता महेश श्रेष्ठले भन्नुभयो । नदी वरपर फ्याँकिएको फोहर उठाएर नदीलाई सफा बनाउन फागुनको पहिलो हप्तासम्म सरसफाइलाई निरन्तरता दिइने श्रेष्ठले बताउनुभयो ।

“यहाँ दसैँदेखिको फोहर उठाइएको छैन । यहाँ देखिएजति सबै फोहर उठाउनुपर्नेछ । माघ पूरै जान्छ । फागुनको पहिलो हप्तासम्म संकलन भएको फोहर व्यवस्थापन गरी सक्छौँ ।” अभियानअन्तर्गत नदी सरसफाइ पनि एउटा मुख्य काम भएको अभियन्ता उहाँले बताउनुभयो ।

बाँकेको डुडुवा र राप्तीसोनारी गाउँपालिकालाई जोड्ने उक्त नदीमा विशेष गरी पूजाआजा र दाहसंस्कारका लागि मानिस जाने गर्दछन् । नदीको बीच भागबाट वारिपट्टि डुडुवा ४ र ५ मा पर्ने उक्त नदी छेउमा तीर्थ, व्रत गर्नेको भीड लाग्ने गर्दछ । गर्मीको समयमा आन्तरिक पर्यटक नदीमा पौडी खेल्न जाने गर्दछन् ।

Nabintech