१९ बैशाख २०८१, बुधबार
१५ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता शुरु

  • टाइम्स संवाददाता

  • २८ माघ २०८०, आईतवार ०५:२६

नेपालगन्ज : माघ स् नेपालगन्जमा शनिबारबाट ‘१५ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता–२०८०’ सञ्चालनमा आएको छ । बाँके जिल्ला खेलकुद विकास समितिको आयोजनामा नेपालगन्ज रंगशालामा उक्त प्रतियोगिता सुरु भएको हो ।
प्रतियोगिताको कार्यक्रमका प्रमुख अतिथी एवम् लुम्बिनी प्रदेश सांसद माया पुनले उद्घाटन गर्नुभयो । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले राष्ट्रलाई चिनाउने गौरवको क्षेत्र खेलकुद नै राज्यको आँखाबाट ओझेलमा परेको बताउनुभयो ।
जीवनभर खेलेपनि खेलाडीलाई जीवन यापन गर्न समस्या हुने गरेको बताउँदै उहाँले खेलकुदका भौतिक संरचनालाई संरक्षण गर्नुपर्ने अवस्था रहेको औल्याउनुभयो । उहाँले जिल्लाका खेलकुदलाई अगाडी बढाउन आफूले आवश्यक पहल गर्ने प्रतिवद्धता समेत ब्यक्त गर्नुभयो ।
प्रतियोगितामा जिल्लाका ७ वटा स्थानीय तहबाट छनोट भएर आएका खेलाडीले सहभागिता जनाएको जिल्ला खेलकुद विकास समिति बाँकेका अध्यक्ष संदिपजंग शाहले बताउनुभयो ।
जिल्ला स्तरीय प्रतियोगिता सम्पन्न भएपछि आगामी फागुन ११ गतेदेखी १३ गतेसम्म बुटवलमा सञ्चालन हुने प्रदेश स्तरीय प्रतियोगितामा बाँके जिल्लाका उत्कृष्ट खेलाडीले सहभागिता जनाउनेछन् ।
बाँके जिल्लाले लगातार दुईपटक पहिलो स्थानसहित उपाधि जितेकाले यसपटक पनि जितेर प्रदेश स्तरीय प्रतियोगितामा ह्याट्रीक गर्ने रणनीति बनाएको अध्यक्ष शाहले बताउनुभयो ।
जिल्ला खेलकुद विकास समिति बाँकेका अध्यक्ष संदिपजंग शाहको सभापतित्वमा सम्पन्न उद्घाटन शत्रमा विशिष्ट अतिथी एवम् भारत्तोलनका ओलम्पियन तथा लुम्बिनी प्रदेशका पुर्वमन्त्री सुरेन्द्रबहादुर हमाल, नेपाली काँग्रेस बाँकेका उपसभापति गोपालप्रसाद अधिकारी, राप्तीसोनारी गाउँपालिका अध्यक्ष तप्तबहादुर पौडेल, लुम्बिनी प्रदेश खेलकुद परिषदका सदस्य नरेन्द्र थापा, जिल्ला खेलकुद विकास समिति बाँकेका पुर्वअध्यक्ष मोहित शाह, सुशिल कोइराला प्रखर क्यान्सर अस्पतालका अध्यक्ष टेकेन्द्र मल्ल लगायतले आफ्नो धाराणा राख्नुभएको थियो ।
उद्घाटन कार्यक्रममा बैजनाथ गाउँपालिका अध्यक्ष प्रकाशबहादुर शाही, खेलकुद प्रशिक्षक, जिल्ला खेलकुद विकास समितिका पदाधिकारी, सञ्चारकर्मी, खेलाडी लगायतको उपस्थिती रहेको थियो । जिल्ला खेलकुद विकास समिति बाँकेका उपाध्यक्ष चेतकान्त भट्टराईले स्वागत गर्नुभएको उक्त कार्यक्रमको सञ्चालन तोजिन्द्र बिकले गर्नुभएको थियो ।
प्रतियोगिता सञ्चालन गर्नका लागि कोहलपुर नगरपालिकाले ५ लाख रुपैयाँ सहयोग गरेको समितिका अध्यक्ष शाहले बताउनुभयो । यस्तै जिल्ला खेलकुद विकास समितिलाई लुम्बिनी प्रदेशका सांसद माया पुनले १० लाख रुपैयाँ बराबरको सामाग्री खरिदका लागि आवश्यक सहयोग गरेको जानकारी दिनुभयो ।
यही माघ २९ सम्म सञ्चालन हुने उक्त प्रतियोगितामा एथलेटिक्स, मार्सलाट लगायत विभिन्न विधामा प्रतिस्पर्धा भइरहेको आयोजक जिल्ला खेलकुद विकास समिति बाँकेका उपाध्यक्ष चेतकान्त भट्टराईले जानकारी दिनुभयो ।
प्रतियोगिता अन्तर्गत पहिलो दिन विभिन्न विधाका खेलहरु सम्पन्न भएकाछन् । कबड्डी छात्रातर्फ सम्पन्न खेलमा खजुरा गाउँपालिका र नेपालगन्ज उपमहानगपालिका फाइनलमा पुगेकाछन् । भने बैजनाथ गाउँपालिका र कोहलपुर नगरपालिका तेस्रो स्थान ओगट्न सफल भएकाछन् । यस्तै छात्रतर्फको कबड्डी भने भोली आईतबार हुनेछ ।
नेपालगन्ज रंगशालाको कर्भड हलमा भएको छात्र भलिबलतर्फ फाईनलमा कोहलपुर नगरपालिका र बैजनाथ गाउँपालिका भिड्नेछन् । आज भएको खेलमा राप्तीसोनारीलाई बैजनाथले र कोहलपुरले नेपालगन्जलाई हराउँदै फाईनलमा पुगेका हुन् । भने नेपालगन्जलाई हराउँदै राप्तीसोनारी तेस्रो स्थान हुन सफल भयो ।
शनिबार सम्पन्न कराँतेतर्फ कोहलपुर नगरपालिकाले ८ गोल्ड, ३ सिल्भर प्राप्त गर्दै प्रथम भयो । बैजानाथ गाउँपालिकाले ४ गोल्ड, ७ सिल्भर र एक ब्राउन्ज जित्दै दोस्रो स्थान ओगट्न सफल हुँदा राप्तीसोनारी गाउँपालिकाले एक सिल्भर र ८ ब्राउन्ज जित्दै तेस्रो स्थान ओगट्न सफल भयो ।
कराँते छात्रातर्फको ४० केजीमा कोहलपुरकी रोजी थापा प्रथम, राप्तीसोनारीकी विपना श्रेष्ठ दोस्रो र बैजनाथकी अन्जना थारु तेस्रो हुनुभयो । यस्तै ४५ केजीतर्फ बैजनाथकी बबिता विक प्रथम, कोहलपुरकी सुनिता सुनार दोस्रो र राप्तीसोनारीकी डेनिसा ओलीले तेस्रो स्थान प्राप्त गर्नुभयो ।
छात्रा कराँते ५० केजीतर्फ बैजनाथकी सिता विक प्रथम र राप्तीसोनारीकी अनिसा परियार तेस्रो हुनुभयो । भने ५५ केजीतर्फ छात्रा कराँतेमा कोहलपुरकी पास्ना योञ्जन प्रथम, बैजनाथकी कल्पना राना दोस्रो र राप्तीसोनारीकी रोजिना थारुले तेस्रो स्थान प्राप्त गर्नुभयो ।
यस्तै ६० केजी कराँते छत्रातर्फ कोहलपुरकी अनु चन्द प्रथम हुँदा बैजनाथकी लक्ष्मि बुढाथोकी दोस्रो स्थान प्राप्त गर्नुभयो ।
यसैगरी कराँते छात्र ४२ केजीतर्फ कोहलपुर नगरपालिकाका सुमन सिंह ठकुरी प्रथम हुँदा बैजनाथ गाउँपालिकाका अभिषेक विकले दोस्रो स्थान प्राप्त गर्नुभयो ।
कराँते छात्र ४७ केजीतर्फ कोहलपुरका सन्दिप शाही प्रथम, बैजानाथका समिर थारु दोस्रो र राप्तीसोनारीका अमृत थारुले तेस्रो स्थान प्राप्त गर्नुभयो । यस्तै ५२ केजीतर्फ कोहलपुरका सुमन बुढा प्रथम, बैजनाथका मेघराज विक दोस्रो र राप्तीसोनारीका आभाष रुचालले तेस्रो स्थान प्राप्त गर्नुभयो ।
कराँते छात्र ५७ केजीतर्फ कोहलपुरका सुशान्त सिहं ठकुरी प्रथम हुँदा बैजनाथका विशाल खत्रीले दोस्रो स्थान प्राप्त गर्नुभयो । यसैगरी कराँते छात्र ६२ केजीतर्फ बैजनाथका प्रेम रम्तेल प्रथम, कोहलपुरका शिवम पुनमगर दोस्रो र राप्तीसोनारीका अरुण बुढाथोकीले तेस्रो स्थान प्राप्त गर्नुभयो ।
कराँतेकै काता छात्र विधामा कोहलपुरका वसन्त थारु प्रथम, बैजनाथका प्रेम रम्तेल दोस्रो र राप्तीसोनारीका मनिकराज कुमाल तेस्रो हुनुभयो । भने काता छात्रातर्फ बैजनाथकी बविता विक प्रथम, कोहलपुरकी सुनिता सुनार दोस्रो र राप्तीसोनारीकी डेनिशा ओलीले तेस्रो स्थान प्राप्त गर्नुभयो ।
शनिबार नै सम्पन्न ४×१०० रिले छात्रातर्फ राप्तीसोनारी प्रथम, नेपालगन्ज दोस्रो र बैजनाथले तेस्रो स्थान प्राप्त गर्न सफल भयो । ४×१०० रिले छात्रतर्फ खजुरा प्रथम, नेपालगन्ज दोस्रो र राप्तीसोनारीले तेस्रो स्थान प्राप्त गर्न सफल भयो ।
छात्र १५०० मिटर दौडतर्फ राप्तीसोनारीका करण नेपाली प्रथम, खजुराका राहुल धौलागिरी र कोहलपुरका निराजन शाही तेस्रो हुनुभयो । यसैगरी छात्रा १५०० मिटरतर्फ राप्तीसोनारीकी अनिशा थारु प्रथम, कोहलपुरकी दिशिखा शाही दोस्रो र राप्तीसोनारीकी सुष्मा खड्काले तेस्रो स्थान हाँसिल गर्नुभयो ।
छात्र १०० मिटरतर्फ दौडमा बैजनाथका मनोज विक प्रथम हुँदा बैजनाथकै पुरन थापा दोस्रो हुनुभयो भने कोहलपुरका प्रतिक सुनारले तेस्रो स्थान प्राप्त गर्नुभयो । यस्तै छात्रा १०० मिटरतर्फको दौडमा नेपालगन्जकी आरुषी भट्टराई प्रथम, राप्तीसोनारीकी सम्झना थारु दोस्रो हुँदा नेपालगन्जकै तुलसी विकले तेस्रो स्थान प्राप्त गर्नुभयो ।
छात्रा ४०० मिटर दौडतर्फ राप्तीसोनारीकी अनिसा थारु प्रथम हुँदा राप्तीसोनारीकै रामकुमारी थारु दोस्रो हुनुभयो भने कोहलपुरकी स्वस्तिका शाहीले तेस्रो स्थान प्राप्त गर्नुभयो ।
छात्र लङजम्पतर्फ राप्तीसोनारीका रमेश थारु प्रथम, बैजनाथका यूवराज खत्री दोस्रो र राप्तीसोनारीकै आशिक थारुले तेस्रो स्थान प्राप्त गर्नुभयो । यस्तै छात्रा लङजम्पतर्फ नेपालगन्जकी चमेली चौधरी प्रथम, कोहलपुरकी तुलसी दमाई दोस्रो र बैजनाथकी रेणु विएमले तेस्रो स्थान प्राप्त गर्नुभयो ।
छात्रा शटपटतर्फ नेपालगन्जकी आरुषी भट्टराई प्रथम हुँदा नेपालगन्जकै रिमा राना दोस्रो र बैजनाथकी अस्मिता महतराले तेस्रो स्थान प्राप्त गर्नुभयो । यसैगरी छात्र शटपटतर्फ राप्तीसोनारीका विराज विक प्रथम, बैजनाथका अमित सिंह दोस्रो र खजुराका प्रसुन गुरुङले तेस्रो स्थान प्राप्त गर्नुभयो ।
खेलकुद विकास समिति बाँकेका उपाध्यक्ष चेतकान्त भट्टराईका अनुसार प्रतियोगितामा करिव १ हजार खेलाडी सहभागी भएकाछन् । प्रतियोगिताको पहिलो दिन विभिन्न खेल सम्पन्न भएका छन् । भने बाँकी विधाका खेलहरु भोली आईतबार विहान ७ बजेदेखि सञ्चालन गरिनेछ ।

Nabintech