१६ बैशाख २०८१, आईतवार
गुणस्तीय काम गर्न मन्त्री ज्वालाको निर्देशन

  • टाइम्स संवाददाता

  • ४ फाल्गुन २०८०, शुक्रबार १६:५६

बाँके : भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले विकास निर्माणका आयोजनामा हुनेगरेको ढिलासुस्ती र गुणस्तरमा सरकारले कुनै सम्झौता नगर्ने बताउनुभएको छ ।

राष्ट्रिय गौरवको हुलाकी सडक आयोजना अन्तर्गत निर्माणाधीन नेपालगञ्ज–गुलरिया सडक खण्डको स्थलगत अनुगमन तथा निरीक्षणपछि शुक्रबार बाँकेको खजुरामा आयोजित अन्तरक्रियामा मन्त्री ज्वालाले भन्नुभयो, ‘ठेक्का लिने, काम नगर्ने निर्माण व्यवसायी र काम बिगार्ने कर्मचारीलाई कारवाहीको दायरामा ल्याएका छौं, यसमा कुनै पनि खालको सम्झौता गरिने छैन ।’

मन्त्री ज्वालाले विकास निर्माणमा समयभित्र गुणस्तरीय काम सम्पन्न गर्न मन्त्रालयको विशेष जोड रहनेगरेको बताउनुभयो । बजेट ब्यवस्थापन सरकारको जिम्मेवारी रहेको भन्दै उहाँले  निर्माण ब्यवसायीले समयभित्र काम सम्पन्न गर्न लाग्नुपर्ने बताउनुभयो । उहाँले समयभित्र गुणस्तरीय काम गर्ने निर्माण व्यवसायीलाई सम्मानको नीति लिइएको बताउनुभयो ।

विकास निर्माणमा तीन वटै तहका सरकारबिच आपसी समन्वय र सहकार्य जरुरी भएको भन्दै उहाँले विकासलाई साझा सवालको रुपमा अघि बढाउन सुझाव दिनुभयो ।

हुलाकी सडक अन्तर्गत बाँके र बर्दियाका विभिन्न स्थानसहित मन्त्री ज्वालाले परस्पुर–गौघाट सडक खण्डको समेत स्थलगत निरीक्षण गर्नुभयो । नेपालगञ्ज–गुलरिया सडक निर्माण सुरु भएको एक बर्षमा ५७ प्रतिशत प्रगति भएको छ भने परस्पुर–गौघाट सडक निर्माणमा ढिलाइ भएको छ ।

मन्त्री ज्वालाले नेपालगञ्ज–गुलरिया खण्डमा निर्माण व्यवसायीलाई काम गरेको भुक्तानी दिन बाँकी रहेको भन्दै अर्थ मन्त्रालयमा बजेट माग गरिएकाले कामलाई निरन्तरता दिन आग्रह गर्नुभयो ।

हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय नेपालगञ्जका प्रमुख लीलाबहादुर भण्डारीका अनुसार मूल्य अभिवृद्धि कर बाहेक दुई अर्ब ७८ करोड ४१ हजारमा २०८२ मङ्सिर २७ गते सम्पन्न गर्नेगरी गत वर्ष माघ २५ देखि शर्मा एण्ड कम्पनीले काम सुरु गरेको हो ।

योजना प्रमुख भण्डारीले भन्नुभयो, ‘निर्माण व्यवसायीलाई काम गरेको भुक्तानी दिन नसक्नु ठुलो समस्या देखिएको छ ।’ खजुरा गाउँपालिका अध्यक्ष डम्बर बिकले हुलाकी सडकको काम तीव्र गतिमा अघि बढेको भन्दै खजुरा बजारमा ६ वर्षअघि निर्माण सुरु भएको एक हजार ८०० मिटर चार लेन सडकको काम छिटोभन्दा छिटो सम्पन्न गर्न र पेडारी नालामा पक्की पुल निर्माणका लागि मन्त्री ज्वालाको ध्यानाकर्षण गराउनुभयो ।

Nabintech