७ जेष्ठ २०८१, सोमबार
चार महिनादेखि थन्कियो शिवालय गाउँपालिकाको एम्बुलेन्स

  • टाइम्स संवाददाता

  • १५ फाल्गुन २०८०, मंगलवार १४:१४

जाजरकोट :  बिरामी बोक्न खरिद गरिएको शिवालय गाउँपालिकाको एम्बुलेन्स चार महिनादेखि थन्किएको छ । समयमा मर्मतका लागि चासो नदिँदा इलाका प्रहरी कार्यालयको गेटभित्र एम्बुलेन्स थन्किएको हो । समयमै एम्बुलेन्स मर्मत नहुँदा बिरामीलाई उपचार गर्न समस्या भएको छ ।

गाउँमा बिरामी हुँदा गाडी नै नपाइने र पाइए पनि निजी जीपमा महँगाे भाडा तिरेर अस्पताल लैजानुपर्दा साह्रै दुःख खेप्नु परेको गाउँपालिकावासीको गुनासो छ । एम्बुलेन्स बिग्रेको चार महिनासम्म मर्मत नगर्नु जनप्रतिनिधि र कर्मचारीले लापरवाही गरेको स्थानीय पूर्णसमिर महताराले बताउनुभयो । एम्बुलेन्स अहिले मर्मत नगर्दा बिरामी स्टेचरमा बोक्न स्थानीय बाध्य भएका नागरिकहरुको गुनासो छ  ।

गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत मानबहादुर बस्नेतले थन्किएको एम्बुलेन्स मर्मतका लागि धेरै खर्च लाग्ने भएपछि मर्मत गर्न नसकिएको बताउनुभयो । ‘‘एम्बुलेन्स मर्मतका लागि धेरै खर्च लाग्ने भएपछि मर्मत गर्न सकिएको छैन,’’ उहाँले भन्नुभयो, ‘अब छिट्टै नयाँ एम्बुलेन्स खरिदको तयारीमा छौँ ।’’

कर्णाली प्रदेश सरकारको १५ लाख रुपियाँ र पालिकाको पाँच लाख गरी २० लाख बराबरको एम्बुलेन्स आउन लागेको प्रशासकीय अधिकृत बस्नेतले जानकारी दिनुभयो ।

Nabintech