२२ बैशाख २०८१, शनिबार
टीआरसीमा धनराजको प्रस्तुतिबाट सशंकित प्रचण्ड

सबै मन्त्रीलाई राजीनामा गराएर सेटै फेर्ने सहमतिमा ब्रेकु, देउवा र ओलीसँग समानान्तर छलफलमा प्रधानमन्त्री


  • टाइम्स संवाददाता

  • २१ फाल्गुन २०८०, सोमबार ०६:४४

काठमाडौं – राष्ट्रियसभा अध्यक्षलाई लिएर सत्ता समीकरण बदलिने चर्चाका बीच शीर्ष नेताहरूको दौडधुपले राजनीति गर्माएको छ । टीआरसी विधेयकमा कानूनमन्त्री धनराज गुरुङले मिलिसकेको कुरालाई भाँडेको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सशंकित बनेका छन् । लगत्तै प्रचण्डले विपक्षी नेतासँगको भेटघाट बढाएका छन् ।

आज दिउँसोको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा असहमतिका चार बुँदामध्ये दुईटामा मात्रै सहमति जुटेको छ । मन्त्री गुरुङले मस्यौदा पेश गर्दै प्रधानमन्त्रीसँग थप छलफल गर्नुपर्ने भन्दै समय मागेका छन् । सोही विषयलाई लिएर प्रधानमन्त्री सशंकित बनेको बालुवाटार स्रोतले बताएको छ ।

प्रचण्डले गठबन्धनको प्रमुख घटक नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबाट मन्त्री हेरफेरका लागि ग्रीन सिग्नल पाइसकेका छन् । सोही अनुसार सबै मन्त्रीबाट राजीनामा गराएर सेटै फेर्ने सहमति भएको स्रोतले बतायो ।

प्रतिपक्षी दलहरूले सदनमा दिनहुँ विवादित मन्त्रीहरू मोहन बस्नेत, सुदन किराती र प्रकाश ज्वालाको राजीनामा मागेको सन्दर्भमा प्रचण्डले सोमबार सदनमा जवाफ दिँदैछन् । त्यसअघि नै मन्त्रीहरूको राजीनामाको तयारी गरेपनि लगभग सहमति भइसकेको टीआरसी कानूनमन्त्रीले नै भाँडेको बुझाइ प्रधानमन्त्रीको रहेको निकट स्रोत बताउँछ ।

हिजो साँझ देउवाले कांग्रेसका मन्त्रीहरूलाई बोलाएर पद जोगाउन प्रधानमन्त्रीको मन जित्न भनेका छन् । राष्ट्रियसभा अध्यक्षको विषयलाई लिएर खासगरी कांग्रेस-माओवादीमा दरार आइरहेको बेला प्रधानमन्त्री ओलीसँगको बाक्लो संवादमा रहेर देउवालाई ‘साइज’ मा ल्याउने रणनीतिमा लागेको एकथरीको विश्लेषण छ । अहिले प्रचण्ड कांग्रेस र एमालेसँग समानान्तर संवादमा रहेको सम्बन्धित दलका नेताहरूले बताएका छन् ।

आइतबार बिहान प्रचण्डले कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीसित छुट्टाछुट्टै भेट गरेका थिए । बिहान एक्लै बालुवाटार गएर प्रधानमन्त्री भेटेका ओली बेलुका महासचिव शंकर पोखरेललाई लिएर गएका हुन् । भेटघाटको मुख्य विषयवस्तु टीआरसी बताइएपनि अन्य राजनीतिक विषयवस्तुमा पनि कुराकानी भएको अनुमान छ ।

लगभग एउटै समयमा रास्वपा अध्यक्ष रवि लामिछाने पनि बालुवाटर पुगेका थिए । टीआरसीकको टुंगो लगाउन बोलावट आएको भन्दै उनी एक्लै गएको पार्टी स्रोतले बतायो ।  बालुवाटार बैठकमा सोमबार बिहान पुनः कानून समितिको बैठक बोलाउने सहमति भएको एमाले सचेतक महेश बर्तौलाले बताए ।

उनले   भने, ‘पीडितको सन्दर्भमा हामीले उठाएका विषय पूरा गर्न सरकार केही लचक भएको छ । त्यसले सकारात्मक पथमा पुग्ला कि भन्ने छ ।’ आज सोमबार बिहान नै सत्ता गठबन्धनको बैठक पनि राखिएको छ ।

Nabintech