१७ बैशाख २०८१, सोमबार
वान एक्स बेटमार्फत सन्ताउन्न करोड बढी कारोबार, तीन पक्राउ

  • टाइम्स संवाददाता

  • ३ बैशाख २०८१, सोमबार ०७:५४

कोहलपुर  : नेपाल प्रहरीले वान एक्स बेटमार्फत विभिन्न खेलमा सट्टेबाजी खेलाएको आरोपमा तीन जनालाई पक्राउ गरेको छ ।

प्रहरीको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विश्वमा सञ्चालन हुने विभिन्न खेलहरूमा सट्टेबाजी गर्न प्रयोग हुने वान एक्स बेटमार्फत सट्टेबाजी गराउन रकम सङ्कलन गर्ने तीन जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सर्लाही मलंगवाका ३१ वर्षीय सञ्जयकुमार साह, १९ वर्षीय रामजी साह र ३० वर्षीय राकेश चौधरी रहेका छन् । कार्यालयका प्रवक्ता, प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले विभिन्न खेलमा वान एक्स बेटमार्फत सट्टेबाजी गराएको आरोपमा पक्राउ गरिएको जानकारी दिनुभयो ।

“पक्राउ परेकाले विभिन्न मोबाइल नम्बरबाट २१ वटा कनेक्ट आइपिएस खाता खोलेर ९८ वटा बैंकका खाता खोलेको अनुसन्धानमा भेटिएको छ”, प्रवक्ता रेग्मीले भन्नुभयो । पक्राउ परेकाले ती खाताबाट रु ५७ करोड ४१ लाख ५७ हजार एक सय ४७ बराबरको कारोबार गरेको प्रहरीले जनाएको छ ।

Nabintech