४ जेष्ठ २०८१, शुक्रबार
मेरो नजरमा सुन्दर तिवारी..

  • खोपीराम वली क्षेत्री

  • १८ बैशाख २०८१, मंगलवार ०८:२१

बिहानै मोबाइलमा घण्टी बज्यो। सुरक्षित नगरिएको नम्बर देखेँ। लेखन कार्यमा व्यस्त थिएँ यसर्थ प्रवाह गरिन। फेरि घण्टी बज्यो तर अलिक छोटो यसर्थ प्रवाह गरिन।एक्कासी नजिकै बसेर पढिरहेका छोराले भने, “बाबा फोन उठाउनु न”। मैले जवाफ दिएँ ,”बाबु म लेख्दै छु; तिमी आफ्नो पढाइमा ध्यान दिँदा राम्रो।”बाबुले फेरि जवाफ फर्काइहाले,” आफ्नो पैसा खर्च गरेर हजुरलाई फोन गर्ने मान्छे व्यस्त हुँदाहुँदै पनि जरुरी भएर त फोन गर्नु भएको हुन सक्छ नि यसर्थ फोन उठाउनु राम्रो बाबा।” म झसङ्ग भएँ अनि लेख्दै गरेको कलम बिसाएर नम्बर थिचेँ ,फोन उठ्यो नमस्ते सर, उताबाट मिठो स्वरमा नमस्ते आएपछि मैले पनि नमस्ते फर्काउँदै भने चिनेन नि हजुर। तुरुन्त जवाफ आयो,” म डिएसपी सुन्दर तिवारी”। म झसङ्ग भएँ! हजुर सर के कामले फोन गर्नु भयो? भनेर वाक्य नटुङ्गाउँदै मृदु भाषामा जवाफ आयो “सर हजुरलाई मैले मेरो अफिसमा निमन्त्रणा गरेँ फुर्सद मिलाएर आइदिनु हैं ।” मैले जवाफ दिएँ, हस् । छोराले तत्क्षण प्रश्न गरे,” बाबा कसको रहेछ फोन?” मैले लुकाएँ अनि जवाफ दिएँ , एउटा विद्यार्थीको हो बाबु ।नियालिरहेको छोरोले कहाँ पत्याउनु?तुरुन्त जवाफ फर्काइहाले,” विद्यार्थीलाई हस् सर, हुन्छ सर भन्ने चलन छ र क्याम्पसमा ?” चोर पकडेझैँ म पकडिएँ। होइन के, विद्यार्थीका बारेमा सोध्न चिफ सरले फोन गर्नु भएको ।फोन गर्ने त चिफ सर हो नि भने। अबोध छोरो , ए हस् भन्दै आफ्नो कार्यमा लागे। मैले मनमनै सोचिरहेँ, इलाकाबाट डिएसपीले फोन गर्नुको कारण के?मसँग त्यस्तो आवतजावत र घनिष्टता पनि त होइन?अर्को कुरा इलाका नै जाने गरेर केही गल्ती पनि त गरेको छैन?मेरा बाले भन्नुहुन्थ्यो के,” हेर छोरा वकिल र प्रहरीसँग धेरै निकट पनि नहुनु धेरै टाढा पनि नहुनु। यी दुबै कालालाई राता र रातालाई काला बनाउन सिपालु हुन्छन् !” यद्यपि म कालोकोट नै नलगाए पनि कानुन पनि पढेको मान्छे, घरमा दुई भाइ सुरक्षा क्षेत्रमै कार्य गर्छन् ।मनमा यी यसै खालको प्रश्न आइरह्यो। दिनभरि म पढाइमै व्यस्त भएँ। किनकि मलाई पिटरजीले लेखेको बकपत्र नामक पुस्तकको समालोचना गर्ने जिम्मेवारी थियो भोलिपल्ट। म त्यसै किताबमा खुब घोत्लिएको थिएँ। साँझ झल्यास याद आयो ,अरे! म त डिएसपी सरकहाँ जानु थियो? मैले छोरालाई ढाटेको थिएँ किनकि प्रहरी कार्यालय जाने भनेपछि किन?कस्तो?कसरी?धेरै प्रश्नको उत्तर दिनुपर्छ मैले छोरालाई तर मेरी श्रीमतीलाई त म कहिल्यै केही ढाँट्दैन र सल्लाह पनि लिने गर्छु।यसर्थ साँझ श्रीमतीलाई सबै बेलीबिस्तार सुनाएँ। म अलिक वेचैन भएजस्तै मानेर होला श्रीमतीले भनिन् विपीको `दोषी चस्मा´ पढ्नु भएको छ नि? मलाई यो भन्दा धेरै भन्नै परेन , हस् श्रीमतीज्यू भने अनि फेरि बकपत्र पढ्न सुरु गरेँ । अर्को दिन करिब ११ बजे फोन आयो । फोन नम्बर सुरक्षित गरेको थिएँ यसर्थ तुरुन्त उठाएँ र हजुर डिएसपीसाप म आउने भनेको अलिक व्यस्त भएँ म आइहाले भने। छोरा,श्रीमती विद्यालय गएका यसर्थ मैले फोन कसको आयो भनेर कसैलाई जवाफ दिनु परेन। म बाइक टिपेर इलाका हानिएँ। गेट नजिक डिएसपीलाई भेटेँ।उहाँले मृदु भाषामा स्वागत सर भन्नु भयो , म गर्विलो महसुस गरेँ । सरासर अफिसमा लैजानु भयो । मेरो मनमा किन ?के होला ? खुल्दुली थियो तर वेचैन थिएन। दुईवटा कफी आदेश गर्नु भयो अनि सोफामा बस्न आग्रह गर्दै ल्यापटप निकाल्दै सर हजुरलाई मैले अलिक दु:ख दिनका लागि बोलाएँ। यहाँ एउटा उद्घाटन र सम्मान कार्यक्रम हुँदै छ। यसो नेपाली भाषाको शुद्धीकरण र वाक्य मिठास हेरिदिनुहुन्छ कि? म प्रशन्न भएँ। उहाँको तलदेखि माथि असाध्यै गहिरिएर हेरेँ अनि मनमनै सोचेँ अरे! डिएसपीसाप कति सरल ? भद्र ?शालीन ? उहाँले ल्यापटपमा लेखिएका नेपाली भाषा देखाउँदै जानु भयो। ९९% शुद्ध थिए। एक दुई मात्र शुद्ध गर्नुपर्ने थियो यसर्थ समय धेरै लागेन। काम भ्याएँ अनि मैले उहाँलाई प्रश्न गरेँ ,सर हजुर आफै लेख्नु भएको हो यी सबै सामग्री? उहाँले जवाफ दिनुभयो हजुर। किन धेरै बिगारिएका छन् र सर ? मैले जवाफ फर्काएँ, होइन सर हजुर भाषाको विद्यार्थी नभएर पनि असाध्यै शुद्ध र ओजिला शब्द चयन गरेको देखेर! उहाँले भन्नु भयो, होइन सर हामी नेपाली भाषा जस्तो लेखे पनि हुन्छ भन्ने मनस्थितिबाट ग्रसित हुनुहुँदैन । अङ्ग्रेजी मिसाएर भाषा बर्बाद भयो यसर्थ तपाईँ हामी त यस विषयमा जानेसम्म चनाखो हुनु पर्यो नि? म असाध्यै खुसी भएँ। साच्ची भनूँ? म मनमनै खुसीले रोएँ र सोचेँ नेपालमा हरेक अफिसर यस्तै नेपाली भाषाप्रति चनाखो भइदिए कति जाती हुने थियो? मैले सुन्दर तिवारीज्यूलाई सबैभन्दा पहिले क्याम्पसमा स्ववियूको चुनाव हुने सन्दर्भमा भेटेको थिएँ। त्यो समय पहिलो भेटमै उहाँको बोली, व्यवहार र बौद्धिकताबाट म प्रभावित भएको थिएँ। शिक्षण पेसाको २० औँ वर्षको अनुभवमा माध्यमिक तहदेखि स्नातकोत्तर तहसम्म हालसम्म करिब २० औँ हजार विद्यार्थी पढाएर को कस्तो?चिन्न सक्ने अनुभव भएका हामी शिक्षकलाई डिएसपीको हाउभाउ, बोलीभाषा र कुरा गराइको तरिकाबाट लख काट्न गार्हो हुने कुरै भएन। त्यसपछि दुई चारवटा साहित्यिक कार्यक्रममा पनि भेटेको थिएँ तर योपालिजस्तो समिप भएर होइन। म अहिलेसम्म इलाकामा बढीमा चार चोटी गएको छु होला? सुन्दर तिवारीज्यू आउनु भन्दा करिब एक वर्ष अगाडि छिरेको थिएँ कि? तर यो पटक इलका प्रहरी कार्यालय त्यो भन्दा आकाश पाताल फरक देखेँ। अफिसबाट बाहिर निस्केर उहाँले मलाई उद्घाटन हुने स्थान देखाउनु भयो।उहाँको दूर दृष्टिकोण देखेर ,सुनेर म अचम्मित भएँ।सानो क्षेत्र तर हजारौँ शब्दले व्यक्त गर्न नसक्ने परिभाषा एउटा सार्थक चित्रले परिभाषित गरिदिन्छ भनेझैँ उहाँले त्यहाँ कोहलपुर नगरमा भएका सुन्दर स्थान, बाँके राष्ट्रिय निकुञ्ज, पर्यटकीय स्थान आदिलाई तस्बिरबाट मुखरित गर्नु भएको रहेछ। गर्मीमा शितलता महसुस गर्ने गरी स्थानीय कला र शिल्पकारकै हातबाट प्राकृतिकझैँ लाग्ने पानीको फोहरा बनाउनु भएको रहेछ।सूक्तिमय भनाइहरू उल्लेख गरिएका पोस्टरहरूले मानौ यो प्रहरी कार्यालय नभएर एउटा शिक्षालय हो भन्ने महसुस गर्ने वातावरण सिर्जना गरिएको रहेछ।पिउने पानीको धारा देखाउँदै उहाँलाई सोधेँ, धारा किन होचोँ र अग्लो? तत्क्षण उहाँको उत्तर आयो, ” यहाँ आउने सेवाग्राही अग्ला मान्छे मात्र नभएर होँचा पनि आउँछन् यसर्थ होँचा मान्छेले पानी पिउँदा धारा अग्लो भएर पिउन अप्ठेरो, कपडा भिज्ने, पानी धेरै खेर जाने हुँदा होँचाका लागि होँचै धारा बनाएको।कुरा सामान्य लाग्नेलाई सामान्य लाग्न सक्छ तर उहाँको दृष्टिकोण अत्यन्तै स्रहानीय लाग्यो।पानीको वचत, साना र होँचालाई सम्मान! अगाडि बढ्दै गएँ।देख्दा सानो भवन तर भित्र छिर्दा साच्चिकै प्रशंसायोग्य।सेवाग्राही सबै सपाङ्ग मात्र आउनुहुन्न।विशेष क्षमता भएकालाई असाध्यै अफ्ठेरो भएको महसुस गरी ह्विलचेयरमैत्री र ह्विलचेयरको समेत व्यवस्था गरिएको र सेवाग्राहीलाई दिशानिर्देश गर्ने अधिकारी पनि खटाइने कुरा बताउनु भयो।अगाडि बढ्दै गएँ। सेवाग्राहीलाई निवेदन के लेख्ने? कसरी लेख्ने? कहाँ कसलाई भेट्ने जानकारी नहुने हुँदा इनिस्पेक्टरलाई नै त्यहीँ कक्ष व्यवस्था गरी सहजीकरण गर्ने प्रबन्ध मिलाएको जानकारी पाइयो। बाहिर निवेदन लेख्दा वकिलले निवेदन लेख्नै नपर्ने खालका घटनामा पनि शूल्कका लागि निवेदन लेखिदिएको, एउटा निवेदनको १०००/- शूल्क लिएको जानकारी भएकाले निवेदन लेख्नै परे निशूल्क कार्यालयमै लेखिदिने प्रबन्ध मिलाएको र डिएसपी सुन्दर तिवारीज्यू आएपछि १८०० जति निवेदन निशूल्क कार्यालयबाट लेखिदिएर सेवाग्राहीलाई सहज गरिदिएको कुरा कार्यालयकै एक कर्मचारीले सुनाउँदा डिएसपी तिवारीप्रति मेरो सम्मान अझ बढेर आयो। ८,९ महिनामा रू.१८०००००/- जनताको पैसा सुरक्षण गर्नु चानचुने कुरा त होइन नि? अर्को कोठामा अवलोकन गरेँ। एउटा कोठा थुप्रै बाल खेलौना र चिटिक्क सजाइएको छ।त्यो देखेर मैले प्रश्न गरेँ, डिएसपीसाप यहाँ किन विद्यालयझैँ सजाउनु भएको? तत्क्षण उत्तर आयो, सर यहाँ थरीथरीका मुद्दाहरू आउँछन् ।अहिले पछिल्लो समयमा विशेष गरी छोडपत्र, श्रीमान श्रीमतीबिचको झगडाजस्ता मुद्दाहरू बढी आउने गरेको पाइन्छ। एउटा बच्चा लिएर आएका दुईजनाको बिचको मुद्दा मिलाउँदा बच्चाको आमाले बाउलाई नानाथरी बाउले आमालाई नानाथरी भनेको सुन्दा त्यो भविष्यको कर्णधार, आजको निर्दोष बच्चाको मनोविज्ञान के हुन्छ होला? यसर्थ यताको कोठामा झगडिया बाउआमा, मेलमिलाप अधिकारी र उताको कोठामा खेलौना सहित बच्चालाई खेलाउने कोठा ताकि त्यो बच्चाले बाउआमाको एकअर्काप्रतिको दोषारोपण नसुनेर खेलौनामा विद्यालयजस्तै ठानेर बसुन् भन्ने उद्देश्यले भनेर बालमनोविज्ञानको कुरा बताउनु भयो।त्यसै गरी भवन १,२,३,४ गरी सबैको नामाकरण गरी कुन भवनमा के कार्य हुन्छ भनेर सेवाग्राहीले भित्र छिर्ने वित्तिकै जानकारी पाउने व्यवस्था मिलाउन लागिएको जानकारी गराउनु भयो। उहाँका थुप्रै सकारात्मक र दूरदृष्टि सुनेर म सुनेको सुन्यै भएँ। अझ चाखलाग्दो कुरा यी सबै सरकारी पैसा खर्च नगरी बनाइएका रे!विद्यालय,प्रबुद्ध व्यक्ति, स्थानीय बासिन्दाको स्वस्फूर्त सहयोगमा निर्माण गरिएको रे! दुई विषयमा स्नातकोत्तर उत्तीर्ण गरेका डिएसपी सुन्दर तिवारीज्यूको घर, पारिवारिक, विगत के छ मैले जान्न बुझ्न आवश्यक छैन र ठानिन पनि तर कोहलपुर नगरले एउटा बौद्धिक प्रहरी प्रमुख पाउनु सौभाग्य नै ठान्नु पर्छ।उहाँ आएपछि सडकभरि जनचेतनाका बोर्डहरू, प्रहरी साच्चिकै साथी हुन् भन्ने भावना जगाउन, प्रहरीले समाजका विभिन्न क्षेत्रका बौद्धिक जमातसँग हातेमालो कसरी गर्नु पर्छ भन्ने विविध सन्दर्भमा खरो उत्रिनु भएका सुन्दर तिवारी साच्चिकै राष्ट्रका गहना नै हुन् ।सेवाग्राहीप्रतिको जवाफदेही ता, सकेसम्म मुद्दाभन्दा सहजीकरण गर्ने, सम्मान र शालीन एवम् मृदुभाषी सुन्दर तिवारीको नेपाली भाषाप्रतिको सचेत माया, कर्तव्यनिष्ठता, शालीनता, बौद्धिकता , दूरदृष्टिपनले मलाई मेरा बाले वकिल र प्रहरीसँग धेरै नजिक र धेरै टाढाको सम्बन्ध राख्नुहुन्न भन्ने बालछाप डिएसपी सुन्दर तिवारीज्यूले बदलिदिएर प्रहरी जनताकै लागि जनताकै साथी हुन् भन्ने छाप छोडिदिने सुन्दर तिवारी सच्चिकै नामजस्तै सुन्दर देखेँ।सल्युट असल र बौद्धिक राष्ट्र्सेवक सुन्दर तिवारीज्यू म, मेरो भाषा बचाउँ अभियानलाई समर्थन गर्नु भएकोमा।यहाँको दूरदृष्टि एवम् नागरिक सचेतना अभियान,जहाँ काम गर्यो त्यसलाई अब्बल बनाउने यहाँको कार्यबाट हामी यहाँको प्रशंसक भएका छौँ।अग्रजलाई सम्मान, अनुजलाई माया, सेवाग्राहीलाई सद्भाव , असहायलाई सहायता दिने यहाँको गुणले प्रहरी मेरो साथी भन्ने नारालाई सार्थक बनाउन टेवा पुगेको छ।युगले यहाँको मूल्याङ्कन गर्नेछ।नामजस्तै काम पनि सुन्दर गर्ने नेपाली माटो र भाषालाई असाध्यै माया गर्ने डिएसपी सुन्दर तिवारीलाई सल्युट!

स्मरण रहोस् सुन्दर तिवारी अहिले इलाका प्रहरी कार्यालयबाट सरुवा भएर अनेत्र गइसक्नु भएको छ।

Nabintech