८ पुष २०८१, सोमबार
विपदमा खटिएका सशस्त्र प्रहरी बडुवालको निधन

  • टाइम्स संवाददाता

  • २८ आश्विन २०८१, सोमबार १९:१३

काठमाडौं /  विपदमा उद्दार र राहत वितरणमा खटिएका सशस्त्र प्रहरी निरीक्षक दिलबहादुर बडुवालको निधन भएको छ । आज (सोमबार) बिहान नेपाल एपीएफ अस्पताल बलम्बुमा उनको निधन भएको हो ।

विपद् व्यवस्थापनका लागि सशस्त्र प्रहरी बलले गत असार २ गते काभ्रे जिल्लाको पनौती नगरपालिका –५ आइटी पार्कमा मनसुनजन्य विपद् व्यवस्थापन स्थापना गरेको थियो । सोही आधारमा साउन ३ गतेदेखि कमाण्डर रहेका बडुवाल हालसम्म त्यही कार्यरत थिए ।

पछिल्लो समय असोज ११ गते देखिको अविरल वर्षाका कारण काभ्रेको विभिन्न ठाउँमा भएको धनजनको क्षतिमा उद्दारका लागि उनको कमाण्डमा सशस्त्र प्रहरी बल निरन्तर खटिएको थियो । सो आधारबाट काभ्रेको रोशी, भुमिडाँडा, बेथानचोक, नार्केबजार, मंगलटार, कालढुंगा, बाल्टिङ लगायतका स्थानमा परिचालित थियो ।

सशस्त्र प्रहरी निरीक्षक बडुवालाई ज्वरो लगायतका समस्या देखिएपछि असोज २६ गते नेपाल एपीएफ अस्पताल बलम्बुमा भर्ना गरि उपचार गरेकोमा आज २८ गते सोमबार बिहान उनको निधन भएको हो । बर्दियाका बडुवालले २०६० सालबाट सशस्त्र प्रहरी सहायक निरीक्षक दर्जाबाट सेवा प्रवेश गरेका थिए । उनको आजै साँझ पशुपति आर्यघाटमा फौजी सम्मानका साथ अन्त्येष्टि गरिने जनाइएको छ ।

Nabintech