२ कार्तिक २०८१, शुक्रबार
जेलबाट छुटेलगत्तै हत्या गरे, सेप्टिक ट्यांकीमा शव लुकाए

  • टाइम्स संवाददाता

  • २ कार्तिक २०८१, शुक्रबार ०६:३३

कोहलपुर – बाँकेमा टाउकोबिनाको शव भेटिएको प्रकरणमा संलग्न रहेको आशंकामा प्रहरीले दुई साताअघि जेलबाट छुटेका एक युवकलाई पक्राउ गरेको छ ।  इलाका प्रहरी कार्यालय, कोहलपुरका डीएसपी धर्मराज भण्डारीका अनुसार घटनामा संलग्नताको आशंकामा रोल्पाको माडी गाउँपालिका–६ का २४ वर्षका अनिल परियार पक्राउ परेका हुन् । उनी जबर्जस्ती करणीसम्बन्धी मुद्दामा २ वर्ष ९ महिना जेलमा बसेर यही १३ असोजमा बाँकेको नौवस्ता कारागारबाट छुटेका थिए ।  कोहलपुर नगरपालिका–८ स्थित सरस्वती चोक जाने बाटोमा प्रहरीले २७ भदौमा टाउकोबिनाको शव फेला परेको थियो । लगत्तै प्रहरीले तालिम प्राप्त कुकुरसहित टोली घटनास्थलमा लगेर अनुसन्धान थालेको थियो ।

पछि मृतक कोहलपुरको नहरटोल बस्ने चन्द्रबहादुर कामी भएको खुलेको थियो । उनी सामान्य मजदुरी गरेर गुजारा चलाउँदै आएका व्यक्ति हुन् ।  प्रहरीका अनुसार, पक्राउ परेका परियार बसेको आफन्तको घरको सेप्टिक ट्यांकीबाट मृतकको टाउको र घटनामा प्रयोग भएको हतियारसहित बरामद गरिएको छ ।

सीसी टीभी फुटेजमा कैद भएका थिए आरोपी

घटनालगत्तै जिल्ला प्रहरी कार्यालय, बाँकेका एसपी तुलबहादुर कार्कीसहितको टोलीसमेत त्यहाँ पुगेको थियो । कोहलपुरका डीएसपी भण्डारीका अनुसार, प्रारम्भिक अनुसन्धानका क्रममा प्रहरीले नजिकैको सीसी टीभी फुटेज संकलन गरेको थियो । जसमा मृतक र हत्या आरोपी दुवै जनाको दृश्य कैद भएको थियो ।

सीसी टीभी फुटेजमा देखिएको हुलियाका आधारमा प्रहरीले संलग्न व्यक्तिको खोजी थालेको थियो । उनको फोटो र हुलियासहित प्रहरीका सबै युनिटलाई खोजीमा परिचालन गरिएको थियो । त्यसक्रममा प्रहरी निरीक्षक हरि भट्टराई नेतृत्वको १५ जना प्रहरी र स्थानीयको टोली मृतकको टाउको खोजीमा परिचालन भएको प्रहरीको भनाइ छ ।

अधिकृतहरुका अनुसार, सीसी टीभीमा आरोपी साइकलमा चढेर आएको देखिएकाले साइकलको खोजी पनि सँगसँगै थालिएको थियो । त्यसक्रममा सोमबार साढे ८ बजे भट्टराईको टोली परियारकी एक आफन्तको घरसम्म पुगेको थियो ।

‘घटनास्थलबाट कम्तीमा ५ सय मिटर पूर्वउत्तरमा रहेको घरमा इट्टा सिमेन्टले बनाएको र रडले ढकन लगाएको सेप्टी ट्यांकीमा शंका लागेर टोलीले खोजतलास ग¥यो’, डीएसपी भण्डारीले भने, ‘त्यसक्रममा मृतकको टाउको, खुर्पा र मृतकले लगाएको सेतो हरियो रङको टिसर्टको घाँटीतर्फको आधा भाग फेला प¥यो ।’

टाउको बरामद भएलगत्तै प्रहरीले भेरी अस्पताल, नेपालगञ्ज पठाएको थियो । अहिले शवको पोष्टमार्टमपछि आफन्तको जिम्मा लगाइसकिएको छ ।

‘सामान्य विवादमा हत्या’

मंगलबार प्राविधिक पक्षको विश्लेषणसहित खोजतलासमा खटिएको टोलीले बिहान ८ बजेतिर प्रहरीले हत्या आरोपी परियारलाई नियन्त्रणमा लियो । त्यसक्रममा गरिएको प्रारम्भिक सोधपुछमा उनले हत्यामा आफू संलग्न रहेको स्वीकार गरेको प्रहरी अधिकृतहरु बताउँछन् । प्रहरीका अनुसार, परियारले साइकलमा हिँडिरहेका बेला बाटोमा सुतिरहेको अवस्थामा चन्द्रबहादुर कामीलाई देखेका थिए । त्यसक्रममा साइकलले उनलाई छोएको थियो ।

त्यही विषयमा वादविवाद भएको देखिन्छ, त्यति नै बेला धारिलो हतियारले प्रहार भएको खुलेको छ’, डीएसपी भण्डारीले भने, ‘कसैले थाहा नपाओस् भन्ने हिसाबले टाउको लुकाएको उनले भनेका छन् ।’  थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

अनलाईन खबरबाट साभार

Nabintech