६ कार्तिक २०८१, मंगलवार
विपक्षी गठबन्धनलाई प्रधानमन्त्रीको जवाफ- अध्यादेशबाट एमाले फुटाउनेहरूलाई अहिले त्यसको डर लागिरहेको होला

  • टाइम्स संवाददाता

  • ६ कार्तिक २०८१, मंगलवार ०८:१०

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक दल विभाजन गर्न सहज बनाउने अध्यादेश ल्याउने चर्चा सरकारबाट नभएर विपक्षी दलहरूबाट चलेको बताएका छन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको विपक्षी गठबन्धनका नेताहरूको ज्ञापनपत्र बुझेपछि प्रधानमन्त्रीले तत्काल त्यस्तो अध्यादेश ल्याउने तयारी सरकारले नगरेको बताएका हुन् ।

प्रधानमन्त्री ओलीले विगतमा एमाले विभाजन गर्न अध्यादेश ल्याउने र अध्यादेशको बलमा विभाजन हुनेहरूलाई नै अहिले अध्यादेशले त्रसित बनाएको हुन सक्ने बताए ।  प्रधानमन्त्रीको भनाई थियो, हिजो मेरो पार्टी फुटाउन जसरी अध्यादेश ल्याइयो तिनै साथीहरूलाई अहिले त्यस्तो लागिरहेको हुनसक्छ । तर सरकारले कुनै तयारी गरेको छैन । नकारात्मक कुरा धेरै भएका छन् । त्यसको जवाफ दिन मलाई पनि आउँछ । तर अहिले मेरो प्राथमिकता देश र जनता हुन् ।

विपक्षी गठबन्धनले ज्ञापनपत्र बुझाउँदै राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश ल्याए प्रतिवाद गर्ने बताएका छन् । नेकपा एसका आधा सांसद र एक तिहाइ केन्द्रीय सदस्यले पार्टी विभाजनका लागि सहज बनाइदिन आग्रह गर्दै सरकारसमक्ष अध्यादेशको माग गरिरहेका छन् ।

Nabintech