६ कार्तिक २०८१, मंगलवार
कर्णालीका ४८ स्थानीय तहमा छैनन् आधारभूत अस्पताल

  • टाइम्स संवाददाता

  • ६ कार्तिक २०८१, मंगलवार १८:२७

स्वास्थ्य सेवा निर्देशनालयकाअनुसार कर्णाली प्रदेशका १० जिल्लाका ३१ स्थानीय तहमा मात्र आधारभूत अस्पताल सञ्चालनमा छन् । प्रदेशमा २५ नगरपालिका र ५४ गाउँपालिका छन् । जम्मा ७९ स्थानीय तहमा सात सय १८ वडा छन् । आठ स्थानीय तह रहेको डोल्पामा एक सय १५ शय्याको जिल्ला अस्पताल र २३ वटा स्वास्थ्य चौकी छन् । यहाँका स्थानीय तहमा आधारभूत अस्पताल निर्माण हुन सकेको छैन ।

मुगुमा एक जिल्ला अस्पताल छ भने २४ वटा स्वास्थ्य चौकी छन् । मुगुका चार स्थानीय तहमा कुनैमा आधारभूत अस्पताल निर्माण हुनसकेका छैनन् । हुम्लामा २६ वटा स्वास्थ्य चौकी छन् भने एउटा जिल्ला अस्पताल छ । यहाँ सात स्थानीय तह छन् । जुम्लामा स्वास्थ्य चौकीको संख्या २९ छ । प्राथमिक स्वास्थ्य केन्द्र एउटा छ । ८ स्थानीय तह रहेको जुम्लामा जिल्ला अस्पताल छैन । संघीय सरकार मतहातको कर्णाली स्वास्थ्य प्रतिष्ठान सञ्चालनमा छ, जसले कर्णालीमा स्वास्थ्य उपचार सहज बनाएको छ ।

कालीकोटमा २७ स्वास्थ्यचौकी र जिल्ला अस्पताल एक छ । नौ स्थानीय तहमध्ये पाँचवटामा प्राथमिक अस्पताल छन् । दैलेखमा प्राथमिक अस्पतालको संख्या चार रहेको छ भने स्वास्थ्य चौकीको संख्या ५५ छ । यहाँ ११ वटा स्थानीय तहमा चारवटा प्राथमिक अस्पताल छन् । जाजरकोटका सात स्थानीय तहमा तीन प्राथमिक अस्पताल र ३० वटा स्वास्थ्य चौकी रहेको स्वास्थ्य सेवा निर्देशनायलका सूचना अधिकारी नवराज कँडेलले जानकारी दिए ।

रुकुम पश्चिममा सामान्य अस्पतालको संख्या एक रहेकोमा आधारभूत अस्पतालको संख्या चार रहेको छ । एक जिल्ला अस्पताल छ । निजी अस्पतालको संख्या चार छ । यहाँ छ स्थानीय तह छन् । १० स्थानीय तह रहेको सल्यानमा प्राथमिक अस्पतालको संख्या दुई र स्वास्थ्य चौकीको संख्या ४४ छ ।

सुर्खेतमा एक कोभिड अस्पताल छ । एक सेकेण्डरी अस्पताल, एक जनरल, एक प्राथमिक, ४७ स्वास्थ्य चौकी र चार निजी अस्पताल छन् । तीन वटा प्राथमिक स्वास्थ्य केन्द्र छन् । सुर्खेतमा नौ स्थानीय तह छन् । २१ प्राथमिक अस्पताल रहेको कर्णालीमा तीन सय ३० वटा स्वास्थ्य चौकी छन् । सात जिल्ला अस्पताल र ११ प्राथमिक स्वास्थ्य केन्द्र छन् । ४८ स्थानीय तहमा अझै आधारभूत अस्पताल निर्माण हुनसकेका छैनन् । भौगोलिक विकटताका कारण कर्णालीमा अझै सबै पालिकामा आधारभूत तह अस्पताल निर्माण हुन नसकेको जनाइएको छ । जसका कारण सर्वसाधारणले स्वास्थ्य उपचारको सहज सेवा प्राप्त गर्न सकेका छैनन् ।

Nabintech