६ मंसिर २०८१, बिहीबार
सुप्रिम सहकारी ठगी प्रकरणमा पनि रविविरुद्ध पक्राउ अनुमति

  • टाइम्स संवाददाता

  • ८ कार्तिक २०८१, बिहीबार १९:१९

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्ध रुपन्देहीको सुप्रिम सहकारी ठगी प्रकरणमा पनि अनुसन्धान हुने भएको छ ।

जिल्ला अदालत रुपन्देहीले बिहीबार लामिछानेविरुद्ध प्रहरीलाई पक्राउ अनुमति दिएको अदालतका सूचना अधिकारी अनन्तराज मरासिनीले जानकारी दिए । ‘ठगी र संगठित अपराधको कसुरमा पक्राउ पूर्जी जारी भएको छ’, मरासिनीले भने । सुप्रिम सहकारीको रकम पनि लामिछाने प्रबन्ध निर्देशक रहेको गोर्खा मिडिया प्रालिमा अपचलन भएको सहकारीसम्बन्धी संसदीय छानबिन समितिले ठहर गरेको थियो ।

रास्वपा सभापति लामिछानेलाई पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय पोखराको हिरासतमा छन् । पहिलो पटक पाएको ६ दिनको म्याद सकिएपछि प्रहरीले थप ७ दिन हिरासतमा राख्न जिल्ला अदालतबाट अनुमति लिएको छ ।

यसअघि ३ वैशाखमा इलाका प्रहरी कार्यालय, बुटवलले गरेको अनुसन्धानका आधारमा सरकारी वकिलको कार्यालय, रुपन्देहीले जिल्ला अदालतमा २८ जनालाई प्रतिवादी बनाउँदै सहकारी ठगीको मुद्दा दायर गरेको थियो । जसमा १ हजार ८३१ बचतकर्ताको ८६ करोड १८ लाख २३ हजार ७५४ रुपैयाँ हिनामिना गरेको उल्लेख छ ।

जसमध्ये सहकारीको १४ करोड २९ लाख रुपैयाँ भन्दा बढी रकम गोर्खा मिडिया नेटवर्क प्रालिमा लगानी भएको पाइएको थियो । यसमध्ये २ करोड रुपैयाँ प्रक्रिया पूरा नगरी रवि लामिछानेको नाममा ऋण गएको थियो । गोर्खा मिडिया नेटवर्कले ११ फागुन २०७७ मा ग्यालेक्सी टीभी सञ्चालनमा ल्याएको थियो । गोर्खा मिडिया नेटवर्कमा सुरुमा गितेन्द्रबाबु राई र छविलाल जोशी शेयर सदस्य थिए । त्यसबेला राई र जोशीको समान २ लाख ५० हजार कित्ता शेयर थियो ।

टीभी सञ्चालनमा आएको वर्ष दिन नपुग्दै ७ पुस २०७८ मा लामिछाने १ लाख ८० हजार कित्ता शेयरसहित प्रबन्ध निर्देशक बनेका थिए । त्यो बेला राईसँग ८० प्रतिशत ९१० लाख २० हजार कित्ता० र रविसँग १५ प्रतिशत शेयर थियो ।

Nabintech