बाँकेमा दुई मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने अर्का गम्भीर घाइते भएका छन्। जिल्लाको नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ११ का सरदरलाइनका २६ वर्षीय अमनकुमार कसौधनको मृत्यु भएको छ। दुर्घटनामा नेपालगञ्ज—४ का १८ वर्षीय रोशन सेख गम्भीर घाइते छन्। सेखलाई नेपालगञ्जको उपचारपछि थप उपचारका लागि भारतको लखनउ लगिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरीक्षक नवीन चापागाँइले बताए। नेपालगञ्ज— ४ बसपार्कबाट बाइपास रोड हुँदै गणेशपुरतर्फ जाँदै गरेको मृतक कसौधनले चलाएको भे ६ प ८०२ नम्बरको मोटरसाइकल र घाइते सेखले चलाएको बिपरित दिसातर्फ आउँदै गरेको भे ३ प ७१७१ नम्बरको मोटरसाइकल आइतरबार बेलुकी ८ बजेतिर एक आपसमा ठोक्किएका थिए।
घाइतेलाई नेपालगञ्ज नर्सिङहोम पुर्याइएको थियो । चिकित्सकले कसौधनलाई तत्कालै मृत घोषणा गरेका थिए। दुर्घटनाबारे थप अनुसन्धान हुन बाँकी रहेको प्रहरीले जानकारी दिएको छ।