९ माघ २०८१, बुधबार
फूलखेतीलाई आम्दानीको श्रोत बनाउदै कृषक

  • टाइम्स संवाददाता

  • २८ कार्तिक २०८१, बुधबार १९:५५

कोहलपुर  : युरोपियन युनियन, अष्ट्रियन डेभलपमेन्ट को –अपरेशनको आर्थिक सहयोगमा र आड्रा नेपाल, एन्साब नेपाल , बि ग्रुप र फेकोफन को साझेदारीमा आयोजित सम्बर्धन परियोजना बाँके र बर्दिया जिल्लामा सञ्चालन भइरहेको छ ।
सम्वर्धन परियोजनाले जैविक विविधताको संरक्षण, जिविकोपार्जन र उद्यम विकासमा टेवा पुर्याएको छ। यसै परियोजना अन्तर्गत भेरी वातावरणीय विशिष्टता समुह (बीग्रुप) को आर्थिक सहयोगमा नमूना कृषक समूह, कोहलपुर १२, बाँके लाई पुष्प खेती अर्थात् हजारी फूलको खेती गर्न आवश्यक बिउ विजन र प्राविधिक सहयोग गरेपछि कृषकहरु आयआर्जन तर्फ उन्मुख हुदै गएका छन ।

कोहलपुर नगरपालिका वडा न १२ को दाउन्नामा १३ कठ्ठा क्षेत्रफलमा हजारी फूल खेती गरे पछि समुहमा आबद्ध रहेका कृषकहरुको आम्दानीमा समेत बृद्धि भएको कृषक जय बहादुर बस्नेतले बताए । फूल खेतीबाट आम्दानी गर्न सकिन्छ भन्ने बारेमा पहिले आफुहरुलाई जानकारी थिएन तर बि ग्रुपले फूल खेतीको गर्नको लागी निशुल्क रुपमा वीउ र प्राविधिक सहयोग गरे पछि समुह मार्फत हजारी फूल खेती गरेको समुहकी कृषक जानकी थापाले बताइन । फूल बिक्रिबाट आएको आम्दानीले घर खर्च चलाउन सजिलो भएको थापाको भनाइ रहेको छ । उन्नत जातको फूल भएकोले सबैले मनपराएको कृषक जय बहादुर बस्नेतले कोहलपुर टाइम्सलाई बताए ।


पछिल्लो समय भारतमा ज्यालादारीमा यहाँबाट काम गर्न जानेको सख्या पनि ठुलो मात्रमा रहेको छ । तर स्वदेशमै बसेर केही गर्न सकिन्छ भन्ने उदाहरण यो नमुना कृषक समुहका सदस्यहरुले दिएका छन । एक सीजनको फूल बेचेर २ लाख सम्म आम्दानी गर्न सफल भएको नमुना कृषक समुहका जय बहादुर बस्नेतले बताए ।
यता हजारी फूलको खेती गर्न आवश्यक बिउ विजन र प्राविधिक सहयोग गरे पश्चात तिहार देखि अहिले सम्म करिब २ लाख बराबरको आम्दानी गर्न कृषकहरु सफल भएको र फूलखेती तर्फ पनि उत्साहित भएको संवर्धन परियोजनाका कृषि तथा उद्यम विकास संयोजक दीक्षा जोशीले बताइन ।
नमुना कृषक समुहले गाउमै नमुना काम गर्न थाले पछि अन्य कृषकहरु समेत आर्कषित भएका छन ।

Nabintech