७ पुष २०८१, आईतवार
सामाजिक सुरक्षा कोषले दिएको खुसी

  • टाइम्स संवाददाता

  • १२ मंसिर २०८१, बुधबार १९:४६

बाँकेको बैजनाथ गाउँपालिका-४ विकास नगरकी पुष्पा चन्द अहिले २८ वर्ष पुग्नुभयो । उहाँको श्रीमानको दुई वर्षअघि ३३ वर्षको उमेरमा मृत्यु भयो । चन्दका एक छोरा र एक छोरी छन् । छोराले ३ कक्षा र छोरी भर्खर प्ले ग्रुपमा अध्ययन गर्छन् ।

कलिलै उमेरमा श्रीमानको मृत्यु भएपछि उहाँको जीवनमा अन्धकार छायो, कमाएर परिवार पाल्ने घरमुलीको नै मृत्यु भइसकेपछि घरपरिवारमा नसोचेको बज्रपात आइपर्‍यो । तर यस्तो अवस्थामा पनि घाउमा मल्हम लगाउन र आर्थिकरुपले खुसीयाली दिन आयो सामाजिक सुरक्षा कोष ।

“मेरो श्रीमानको दुई वर्षअघि ३३ वर्षको उमेरमा मृत्यु भयो, सानासाना बाबु नानीहरूलाई लालनपालन, शिक्षादीक्षा, घरपरिवार सम्हाल्नेदेखि सम्पूर्ण जिम्मेवारी मेरो काँधमा आयो, श्रीमानको अल्पायु मै एक्कासि मृत्यु भएपछि हाम्रो परिवारमा अन्धकार छायो, नसोचेको बज्रपात आइपर्‍यो,” चन्दले भन्नुभयो, “उहाँको त मृत्यु भयो भयो तर घरखर्च चलाउनेदेखि बाबुनानीको लालनपालन, शिक्षादीक्षा, औषधीउपचार लगायतका सम्पूर्ण जिम्मेवारी मेरो काँधमा आयो ।”

“मेरो श्रीमानले स्थानीय चेतना सामाजिक उद्यमी सहकारी संस्थामा काम गर्नुहुन्थ्यो, मासिक ३५ हजार रुपियाँ तलब थियो, उहाँको तलबबाट हाम्रो सबै खर्च चल्दै आएको थियो, श्रीमानको मृत्यु हुनुभन्दा दुई वर्षअघि उहाँ सामाजिक सुरक्षा कोष योजनामा आबद्ध हुनुभएको थियो,” चन्दले भन्नुभयो, “अहिले मेरो श्रीमान् नभएपनि मासिक रूपमा त्यति नै रकम पाउँदै आएको छु, श्रीमान् बितेर जानुभयो दुःखी त छौँ, उहाँको परिपूर्ति त हुने कुरै भएन तर आर्थिक रूपमा भने सामाजिक सुरक्षा कोषले खुसीयाली दिएको छ, मेरो र दुई बच्चाको गरेर मासिक ३५ हजार रुपियाँ कोषले दिइरहेको छ ।”

“श्रीमानको योगदानले गर्दा अहिले बालबच्चाको पढाइलेखाई, औषधीउपचार तथा घर खर्चमा सजिलो भएको छ, आर्थिक अवस्था कमजोर नै छ, श्रीमान् बितेपछि बिचल्लीमा परेको थिएँ, बाँच्ने आशासमेत हराएको थियो, सामाजिक सुरक्षा कोष नभएको भए सायद म बाँच्थिन होला पनि !” चन्दले भन्नुभयो, “पीडामा हाम्रो घाउमा मल्हम बनेर आयो सामाजिक सुरक्षा कोष, म मात्र नभएर हजारौँ आश्रित परिवारका लागि खुसी दिएको छ यो कोषले, पैसा कै कारण बालबच्चाले पढ्नबाट वञ्चित हुनुपरेको छैन, कोष जीवनको अभिन्न अङ्ग बनेको छ, सबै जना यसमा आबद्ध हुनु जरुरी छ ।”

बैजनाथ २ पितमारीकी जानकी थारुले नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा कार्यरत श्रीमानको एक वर्षअघि मृत्यु भएको बताउनुभयो। उहाँले अस्पतालमा कार्यरत श्रीमानको अस्पतालले सामाजिक सुरक्षा कोषमा आबद्धता गराएबापत अहिले १३ हजार रुपियाँ मासिक पाउँदै आएको बताउनुभयो । यो पैसाबाट घरखर्च चलाउन र औषधीउपचार गर्न निकै सहज भएको उहाँको भनाइ छ ।

नेपालगन्ज उपमहानगरपालिका-७ की जाक्रुन निशा शाहका श्रीमान् नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा प्रशासन सहायक अधिकृतका रूपमा कार्यरत हुनुहुन्थ्यो । दोस्रो कोरोना महामारीले उहाँको श्रीमानको मृत्यु भयो । एक छोरा र एक छोरी रहेका शाहको परिवारमा बज्रपात आइपर्‍यो । श्रीमानको मृत्यु भए पनि आर्थिक रूपमा भने अभाव झेल्न नपरेको उहाँ बताउनुहुन्छ ।

“अहिले मेरो १७ हजार र दुई वटा छोराछोरीको गरेर ११ हजार गरी २८ हजार रुपियाँ मासिक रूपमा आइरहेको छ, छोरा भर्खर एक कक्षामा र छोरी ६ कक्षामा पढ्छन् ।” शाहले भन्नुभयो, “सामाजिक सुरक्षा कोष योजनामा श्रीमानको योगदानका कारण मैले उहाँले पाउने तलब पाइरहेकी छु, बालबच्चा पढाउन र घर चलाउन सहज भएको छ ।”

कोहलपुर नगरपालिका वडा नम्बर २ की आश्रित परिवार हाँसकौरा शाहीले मेडिकल कलेज कोहलपुरमा कार्यरत श्रीमानको दुई वर्षअघि मृत्यु भएको बताउनुभयो । श्रीमानको मृत्यु पश्चात् कोषबाट मासिक १९ हजार नौ सय रुपियाँ आफूले पेन्सन र १३ हजार रुपियाँ छोरीको पढाइ बापत गरी ३२ हजार नौ सय रुपियाँ सामाजिक सुरक्षा कोषबाट पाउँदै आएको बताउनुभयो ।

“श्रीमानको तलब बराबर कोषबाट पेन्सन नआउने भए म कसरी बाँच्थे र रु घर मात्रै छ, जग्गा जमिन केही छैन, एउटा छोरा र एउटी छोरी छन्, उनीहरूको पढाई खर्च र घर खर्च चलाउन म कसरी सक्थेँ होला र ?” शाहीले भन्नुभयो, “यो कोषले जीवन दिएको छ, बाँच्ने सहारा बनेको छ, म धेरै खुसी छु ।”

बाँकेमा सामाजिक सुरक्षा कोष योजनामा आश्रित १० घरपरिवार आबद्ध रहेको बताउनुहुन्छ सामाजिक सुरक्षा कोष नेपालगन्ज कार्यालयका प्रमुख चिरञ्जीवी न्यौपाने । “हाम्रो यो कार्यालयको कार्यक्षेत्र लुम्बिनीको बाँके, बर्दिया र रुकुमपूर्व, कर्णाली र सुदूरपश्चिम प्रदेश रहेको छ, बाँकेमा हालसम्म १० आश्रित घरपरिवार यस योजनामा आबद्ध हुनुभएको छ ।” न्यौपानेले भन्नुभयो, “उहाँहरूले मासिक एक हजारदेखि दुई लाख ६२ हजार रुपियाँसम्म प्राप्त गरिरहनुभएको छ ।” उहाँका अनुसार बाँकेमा हालसम्म २१२ रोजगारदाता कोषमा आबद्ध भएका छन् ।

त्यसैगरी योगदानकर्ता ३३४८ जना आबद्ध छन् । लुम्बिनीका तीन जिल्लामा गरेर १२११ वटा रोजगारदाता र एक लाख २७ हजार ६४ जना योगदानकर्ता यो योजनामा आबद्धता जनाएका छन् । कर्णालीमा १६० वटा रोजगारदाता र १२५८ जना योगदानकर्ता रहेका छन् । सुदूरपश्चिममा १८४ वटा रोजगारदाता र १४८१ जना योगदानकर्ता रहेको उहाँले बताउनुभयो ।

योजनामा योगदान गरेका व्यक्तिको मृत्युपछि उनका श्रीमान्÷श्रीमतीले योगदान गरेबापतको रकम पाउने गरेका छन् । यदि बिहे नभएको भएमा उनका बुवा आमाले यो सुविधा प्राप्त गर्ने गरेका छन् । ६० प्रतिशत पेन्सन र ४० प्रतिशत बालबच्चाले पढाई बापत पाउँदै आएका छन् । तर २१ वर्ष उमेर माथि पुगेपछि बालबच्चाले यो सुविधा प्राप्त नगर्ने कोषले जनाएको छ ।

गोरखापत्रमा प्रकासित

Nabintech