नेपालगन्ज- बाँकेको खजुरामा रहेको सुशील कोइराला प्रखर क्यान्सर अस्पताल लामो समयदेखि अवरुद्ध रहेको सिटी स्क्यान सेवालाई नयाँ मेसिन सञ्चालनमा ल्याइएको छ । सो अस्पतालमा १२८ स्लाईसको नयाँ सिटी स्क्यान मेसिन जडान गरेर सञ्चालनमा ल्याइएको अस्पतालले जनाएको छ । गत वर्षको फागुनमा आगलागी भएर विद्युतीय लाइन अवरुद्ध भएका कारण अवरुद्ध भएको सिटी स्क्यानको सेवा सञ्चालनमा आउन नसकिरहेका बेला नयाँ सिटी स्क्यान मेसिन खरिद गरेर सेवा सुचारु गराइएको अस्पतालका कार्यकारी निर्देशक डा. प्रकाशप्रसाद साहले बताउनुभयो । सामान्य विद्युतीय वायरिङमा आगलागीले क्षति पुगेको बताइए पनि आगलागी भएको ८ महिनासम्म पनि सिटी स्क्यान मेसिन सञ्चालनमा आउन सकेको थिएन ।
पुरानो सिटी स्क्यान मेसिन पनि सञ्चालनमा आइसकेको अस्पतालका निर्देशक डा. साहले बताउनुभयो । विगत ८ महिनादेखि क्यान्सरको निदानका लागि लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशबाट आएका बिरामीलाई अस्पतालले सिटी स्क्यानका लागि नेपालगन्ज पठाउँदै आएको थियो । अहिले नयाँ मेसिनमार्फत सेवा सुचारु गरिपछि अब बिरामीलाई अस्पताल बाहिर पठाउनुपर्ने बाध्यता अन्त्य भएको निर्देशक डा. साहले बताउनुभयो । सो अस्पतालमा लामो समयदेखि सिटी स्क्यान सञ्चालनमा आउन नसकेसँगै बहुप्रतीक्षित क्यान्सर उपचारको मुख्य प्रविधि लिन्याक मेसिन जडान भएर पनि सञ्चालनमा आएको थिएन ।
अहिले सिटी स्क्यान सञ्चालनमा आउँदा तयारी अवस्थामा रहेको लिन्याक मेसिन भने जनशक्तिका कारण सञ्चालन गर्न नसकिएको निर्देशक साहले बताउनुभयो । सिटी स्क्यान सञ्चालनमा आएपछि लिन्याक मेसिनबाट क्यान्सरको उपचार गर्न सकिन्छ, तर अस्पतालसँग लिन्याक चलाउने रेडियो थेरापी टेक्निसियन नहुँदा सो मेसिन सञ्चालन गर्न सकिएको छैन,उहाँले भन्नुभयो ।
चितवन पश्चिमको एकमात्र क्यान्सर अस्पताललाई लुम्बिनी प्रदेशको क्यान्सर उपचारको मुख्य अस्पतालका रुपमा सङ्घीय सरकारले तोके पनि शून्य दरबन्दीमा अस्पताल चलाउँदा अस्पतालको सेवामा समस्या देखिँदै आएको अस्पताल व्यवस्थापनले जनाएको छ । धार्मिक अनुष्ठानबाट स्थानीयको मुट्ठीदान गरेर निर्माण गरिएको क्यान्सर अस्पताल २०७२ मा सङ्घीय सरकारलाई हस्तान्तरण गरिएको थियो ।
सङ्घीय सरकारले पूर्ण स्वामित्व लिएर सञ्चालन गरे पनि विगत ९ वर्षदेखि अस्पतालका लागि न कुनै दरबन्दी स्वीकृत भएको छ न अस्पताललाई निजामती किताबखानामा सूचीकृत गरिएको छ । करार, अस्थायी र ज्यालादारी कर्मचारी र स्वास्थ्यकर्मीबाट अस्पताल सञ्चालन हुँदै आएको अस्पतालका निर्देशक डा। साहले बताउनुभयो ।
दुई महिनाअघि नेपाल सरकारका स्वास्थ्यमन्त्री प्रदीप पौडेलले अस्पतालको अवलोकन गर्दा १ महिनाभित्र अंको फिजिसियन र रेडियोलोजिस्ट पठाउनुका साथै आवश्यक दरबन्दी स्वीकृत गर्ने आश्वासन दिए पनि हालसम्म कार्यान्वयन नभएको अस्पताल प्रशासनले जनाएको छ ।