नेपालगन्ज- भेरी अस्पताल नेपालगन्जले आइतबारदेखि हेमोफेलियाका बिरामीका लागि अस्पतालमा नयाँ सेवा थप गर्ने जनाएको छ । सो सेवा सुरु गरिएसँगै त्यसका लागि बिरामीले काठमाडौं जानुपर्ने बाध्यताको पनि अन्त्य हुने अस्पतालले जनाएको छ ।
भेरी अस्पतालका मेडिकल सुपेरिटेण्डेन्ट डा. निराजन सुवेदीले आगामी आइतबार मङ्सिर १६ गतेदेखि हेमोफेलियाका बिरामीका लागि आवश्यक पर्ने ‘फ्याक्टर–८ र फ्याक्टर–९’ भेरी अस्पतालमै निशुल्क रुपमा पाउने व्यवस्था मिलाइएको जनाउनुभयो । उहाँले भेरी अस्पतालमा यो सेवा सुरु भएसँगै पश्चिम नेपालका हेमोफेलियाका बिरामीका लागि उपचारमा सहजता र सुविधा पुग्ने बताउनुभयो ।
यो क्षेत्रमा सो रोगका यति नै सङ्ख्यामा बिरामी छन् भन्ने यकिन नभएको प्रष्ट पार्दै डा। सुवेदीले पहिला फ्याक्टरको अभावका कारण आपतकालीन अवस्थामा मात्र बिरामी आउँथे तर अब भने नियमित उपचार हुने निश्चित भएको बताउनुभयो ।
भेरी अस्पतालका मेडिकल विभाग प्रमुख तथा प्रमुख कन्सल्टेन्ट फिजिसियन डा. राजन पाण्डेले हेमोफेलियाका बिरामीका लागि पनि आवश्यक पर्ने फ्याक्टर–८ र ९ नेपालगन्जको भेरी अस्पतालबाटै पाइने भएपछि बिरामीलाई निकै सहज हुने बताउनुभयो । उहाँले काठमाडौंमा मात्रै पाइने यो सुविधा नेपालगन्जमै पाइने भएपछि बिरामीलाई सङ्घीय राजधानी आउने जाने समय र बिरामीको अन्य खर्च पनि जोगिने बताउनुभयो ।
डा। पाण्डेले विश्व हेमोफेलिया महासङ्घ (डब्लुएफएच), नेपाल हेमोफेलिया सोसाईटी, प्रा। डा विशेष पौडेल र भेरी अस्पतालका मेडिकल सुपेरिटेण्डेन्ट डा. निराजन सुवेदीलगायतको पहलमा सो सेवा भेरी अस्पतालमा सुरु हुन थालेको बताउनुभयो ।