२० मंसिर २०८१, बिहीबार
रवि-छविविरुद्ध पर्सामा पनि पक्राउ पुर्जी जारी, चितवनपछि वीरगन्ज लगिँदै

  • टाइम्स संवाददाता

  • १९ मंसिर २०८१, बुधबार २०:२०

वीरगन्ज – सहकारी ठगी मुद्दामा पर्सा प्रहरीले पूर्वगृहमन्त्री तथा रास्वपाका सभापति रवि लामिछाने, पूर्वडीआईजी छविलाल बन्जाडेसहित १४ लाई पक्राउ अनुमति पाएको छ । जिल्ला प्रहरी कार्यालय पर्साका एसपी कुमोध ढुंगेलले भने, ‘अनुमति पायौं, अब मानिस उपस्थित गराउने प्रक्रियामा जान्छौं ।’

पक्राउ अनुमतिप्राप्त रवि र छवि जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा भएका कारण उनीहरूलाई पर्सामा उपस्थित गराइदिन बिहीबार पत्राचार गरिने एसपी ढुंगेलले बताए । १४ मध्ये कतिपय प्रतिवादी पर्सा र आसपासमै भएका कारण छिट्टै पकाउ पर्ने उनले बताए ।

रविको अहिले चितवनमा बयान चलिरहेको छ । उनलाई चितवनको बयानलगत्तै वीरगन्ज लगिने भएको छ । छविलाई बुद्ध एयरको पोखरा–सिमरा उडानबाट त्यहाँ लैजाने तयारी रहेको कास्की प्रहरीस्रोतले जनायो । ‘उहाँहरुलाई एकैचोटि हैन, पालैपालो पठाउनुपर्छ’, स्रोतले भन्यो ।

वीरगन्ज महानगर– ६, आदर्शनगरमा सञ्चालित सानो पाइला बचत तथा ऋृण सहकारी संस्थाबाट अवैध तवरले गोर्खा मिडिया नेटवर्क प्रालिमा ८ करोड ५८ लाख ४४ हजार रुपैयाँ प्रवाह गरिएको थियो । उक्त सहकारीका अध्यक्ष जीवी राई हुन् ।  पर्सा प्रहरीले गोर्खा मिडियाका प्रवन्ध निर्देशकको हैसियतले लामिछाने, राई र पूर्वडीआईजी छविलाल बन्जाडे जोशीका विरुद्ध पक्राउ अनुमति माग गरी अनुसन्धान अगाडि बढाउन लागेको जिल्ला प्रहरी कार्यालयका एसपी कुमोध ढुंगेलले बताए ।

‘हाम्रोतर्फबाट लेखापढी गरेर जिल्ला अदालतमा पठाइसक्यौ, आजभोलिमै अनुमति आउँदैछ’, उनले भने । सानो पाइला सहकारीबाट गोर्खा मिडियाको नाममा ग्लोबल आइएमईमा सञ्चालित बैंक खातामा रकम प्रवाह गरिएको कुरा संसदीय छानवीन विशेष समितिको प्रतिवेदनले औंल्याएको थियो । २०७८ वैशाखदेखि साउनसम्मको बैंकिङ कारोबारको विवरण ९स्टेटमेन्ट० ले रकमको अपचलन पुष्टि गरेको एसपी ढुंगेलले बताए ।

सहकारी पीडितको जाहेरीका आधारमा प्रहरीले अनुसन्धान गर्दा संस्थाकी उपाध्यक्ष तथा मिस नेपाल प्रतियोगिताकी पूर्वप्रतिस्पर्धी नेहा पौडेल आफैं प्रहरीमा उपस्थित भएकी थिइन् ।

सहकारीका कर्मचारी राधेचन्द्र यादव प्रहरीद्वारा पक्राउ गरिएका थिए । जिल्ला अदालतले पौडेललाई गत साउन २१ गते १ करोड १० लाख धरौटीमा रिहा गरेको थियो । यादव पनि ३५ लाख धरौटीमा रिहा भए ।

Nabintech