बुटवल- लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा अब हप्ताको सातै दिन प्रसूति शल्यक्रिया सेवा उपलब्ध हुने भएको छ । अस्पतालले प्रसूति सेवाका लागि छुट्टै अपरेशन कक्ष सञ्चालनमा ल्याएपछि सातै दिन प्रसूति सेवा शल्यक्रियाको सुविधा उपलब्ध गराउने भएको हो । अस्पतालका मेडिकल सुपरिटेन्डेण्ट डा. इन्द्र ढकालले अस्पतालमा आठ शैयाको रिकभरी वार्ड तथा १५ शय्याको पोष्ट अपरेटिभ शय्यासहित नयाँ शल्यक्रिया कक्ष सञ्चालमा आएको बताउनुभयो ।
उहाँले अब हप्ताको सात दिन प्रसूति सेवातर्फ शल्यक्रिया सेवा उपलब्ध गराउने जानकारी दिनुभयो । सञ्चालनमा ल्याइएको नयाँ शल्यक्रिया कक्षमा एउटा शल्यक्रिया कक्ष तथा दुईवटा ठूलो शल्यक्रिया कक्ष रहेको अस्पतालका मेसु ढकालले जानकारी दिनुभयो । मेसु ढकालले छुट्टै शल्यक्रिया कक्ष सञ्चालनसँगै प्रसूति सेवा थप गुणस्तरीय र सहज हुने बताउनुभयो । अस्पतालबाट विगत तीन वर्षदेखि वार्षिक ९ हजार बढी बिरामीले शल्यक्रिया सेवा लिँदै आएका छन् । अब प्रसूतिका लागि छुट्टै शल्यक्रिया कक्षा बनेपछि ३३ प्रतिशतले शल्यक्रियाको सेवा वृद्धि हुने अस्पतालले जनाएको छ ।
मेसु ढकालले अस्पतालमा पर्याप्त भौतिक संरचनाको अभाव, उपकरण तथा जनशक्ति नहुँदा तत्काल शल्यक्रिया गर्नुपर्ने बिरामी बाहेक अरु बिरामीलाई महिनौंपछि आउनेगरी पालो लगाउनुपर्ने बाध्यता अब कम गर्नेतर्फ अस्पताल लागेको पदाधिकारीहरुको भनाइ छ ।
अस्पतालको तथ्याङ्कअनुसार पछिल्लो आर्थिक वर्ष २०८०–८१ मा ९ हजार ७ सय ६५ शल्यक्रियामध्ये चार हजार ५४७ वटा शल्यक्रिया प्रसूति सेवातर्फको छ । अस्पतालमा प्रसूति सेवाका लागि पछिल्लो आर्थिक वर्षमा १२ हजार ९८ जनाले सेवा लिएकामध्ये सात हजार ५ सय ४८ जनाले सामान्य रुपमा बच्चा जन्माएका छन् । अस्पतालमा सेवाग्राहीको चाप बढेसँगै सेवा विस्तारलाई पनि प्राथमिकता दिइएको अस्पतालका प्रशासकीय प्रमुख राजन केसीले बताउनुभयो ।
पछिल्लो आर्थिक वर्षमा लुम्बिनी प्रादेशिक अस्पतालबाट तीन लाख ४८ हजार ९ सय ७१ जनाले स्वास्थ्य उपचार सेवा लिएको अस्पतालले जनाएको छ । अस्पतालमा प्रसूतितर्फको शल्यक्रिया कक्ष बिस्तार गरेसँगै अब महिनौं पालो कुर्नुपर्ने समस्या धेरै समाधान हुने अस्पतालको दाबी छ । अस्पतालका अनुसार शल्यक्रिया कक्ष बिस्तारसँगै विगतमा सातामा दुई दिन हुने हाडजोर्नीसम्बन्धी शल्यक्रिया अब सातामा तीन दिन हुनेछ । सोहीअनुसार शल्यक्रियातर्फ नाक, कान, घाँटीसम्बन्धी शल्यक्रियाका लागि पनि सातामा तीन दिन पालो आउनेछ ।
अस्पताल विकास समितिका अध्यक्ष अजयमान श्रेष्ठले अस्पतालको स्वास्थ्य सेवालाई थप गुणस्तर र गुनासोरहित बनाउन अस्पताललाई थप प्रतिबद्ध बनाउने गरी काम भइरहेको बताउनुभयो ।
सेवाग्राहीको चाप अस्पतालमा बढी रहेको बताउँदै श्रेष्ठले सकेसम्म सीमित स्रोत साधनबाट भए पनि सेवालाई गुनासोरहित बनाउने प्रयासमा आफूहरु रहेको बताउनुभयो ।