कोहलपुर : बाँके राष्ट्रिय निकुञ्जले निकट भविष्यमा निकुञ्ज क्षेत्रभित्र पदमार्ग खुला गर्ने भएको छ । बाँकेमा भित्रिने पर्यटकहरूलाई निकुञ्जको भ्रमण गराउनका लागि निकट भविष्यमै पदमार्ग खोल्न लागिएको बाँके राष्ट्रिय निकुञ्जले जनाएको छ ।
हालै बाँकेको गाभर भ्यालीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै संरक्षणलाई समृद्धिसँग जोड्ने योजनाका साथ बाँके राष्ट्रिय निकुञ्जले पर्यटन प्रवद्र्धनको काम थालेको बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत (वार्डेन) वीरेन्द्रप्रसाद कँडेलले जानकारी दिए । ‘यसैको एक कडीका रूपमा हामीले चाँडै नै निकुञ्जभित्र पदमार्ग खुला गर्ने निर्णय गरिसकेका छौँ,’ प्रमुख संरक्षण अधिकृत कँडेलले भने, ‘कोहलपुर, ओभरी र अगैया तीन ठाउँबाट पर्यटकलाई प्रवेश गराएर निकुञ्जमा भ्रमण गराउने वातावरण मिलाइनेछ ।’
उनले बाँकेका पर्यटन व्यवसायी, पथप्रदर्शकको सहयोग लिएर पर्यटकहरूलाई निकुञ्जभित्र जंगल सफारी, हात्ती सफारीलगायतका पर्यटकीय गतिविधिमा सामेल गरिने जानकारी दिए । प्रमुख संरक्षण अधिकृत कँडेलले स्थानीय सरकार, यहाँका पर्यटन व्यवसायी, मध्यवर्ती क्षेत्रका बासिन्दा, साझेदार संस्थाको सहयोगमा राष्ट्रिय निकुञ्जले संरक्षण र पर्यटकीय विकासका लागि विभिन्न योजना अघि सारेको बताए । ‘सबैको संयुक्त प्रयासबाट नै संरक्षण र स्थानीयका लागि आर्यआर्जनका काम गर्न सकिन्छ,’ उनले भने ।
सो कार्यक्रममा चरा विज्ञ डा. हेमसागर बरालले बाँकेमा पर्या–पर्यटनको राम्रो सम्भावना रहेको बताए । उनले नेपालकै कान्छो राष्ट्रिय निकुञ्ज भएकाले प्रचारप्रसारको अभावमा यहाँका सम्भाव्यताहरूलाई अझै उजागर गर्न नसकिएको बताए । पथप्रदर्शकहरूका माध्यमले यहाँको प्रकृतिमा भएका राम्रा कुराको प्रचारप्रसार देशविदेशमा गर्न सकिने उनको भनाइ छ ।