रुकुमपूर्वको भूमे गाउँपालिका वडा नम्बर ४ मा पर्ने साकिममा ६० वर्षकी हजुरआमा र ८ महिनाको नातिको रहस्यमय तरिकाले हत्या भएको छ । ६० वर्षीय ढाटी बुढा र उनको नाति ८ महिनाको समिर बुढालाई खुकुरी प्रहार गरी हत्या गरिेएको हो ।
मंगलबार भएको यो रहस्यमय घटनाका मुख्य आरोपी बुढाका छिमेकी रहेका ५३ वर्षीय चन्द्रसिङ पुन पनि घटनास्थलदेखि केही पर भीरको तल खोलामा मृत अवस्थामा भेटिएपछि प्रहरीलाई घटनाको अनुसन्धान गर्न थप समस्या परेको छ । ढाटी र उनको नाति दुवै जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वका डिएसपी माधवराज खरेलले बताए ।
‘त्यो घटनाको अनुसन्धानका लागि म आफै पुगेको हुँ, बुढा र पुन सबैभन्दा नजिकको छिमेकी भएको खुलेको छ, धेरैजसो मदिरा सेवन गर्ने पुनले नै हत्या गरेर भाग्ने क्रममा भीरबाट लडेर खसेजस्तो प्रारम्भिक आंकलन गरिएको छ’, उनले भने–‘स्थानीयका अनुसार सामान्य विवाद उनीहरुबीच पहिले पनि भएपनि हत्याको अवस्थामा कसरी पुगेभन्ने अनुसन्धान हुँदैछ, घटना आजैको हो, तत्काल ठूलो संख्यामा सुरक्षाकर्मी लिएर अनुसन्धानका लागि पुगेको थिएँ, खोजतलासकै क्रममा हत्याको आशंका गरेका व्यक्ति मृत अवस्थामा फेला परेका हुन्, उनी भीरबाट लडेकोजस्तो अवस्थामा भेटिएका थिए ।’
डिएसपी खरेलका अनुसार घटनापछि भागेका भनिएका चन्द्रसिङ पुन खुलखुले खोलामा टाउकोमा धारिलो चोट लागेको अवस्थामा मृत फेला परेका थिए । खुलखुले खोला घटनास्थलबाट करिब आधा घन्टा टाढा रहेको छ ।
मृतक तीनै जनाका छिमेकी रहेका भुमे गाउँपालिका वडा नं ४ का वडाअध्यक्ष श्यामप्रसाद बुढाले आफ्नै छिमेकमा भएको यस्तो घटनाले सिंगो गाउँलाई शोकमग्न बनाएको बताए । ‘खै आज चन्द्रसिंहलाई के भयो, मदिरा खाने भएपनि गलत काम धेरै गरेको सुनिएको थिएन, आज अनौठो डरलाग्दो घटना घटाए, बजै र नातीको हत्यापछि उनले आत्महत्या गरेको नै हुनसक्छ, उनी मृत भेटिएको ठाउँ नजिकै खुकुरी भेटिएको छ, हत्यापछि भागेर बाटोमा जानेसमयमा छिमेकीसँग आफूले दुई जनाको हत्या गरेको र प्रहरी चौकी जान लागेको बताएका रहेछन्’ उनले भने –‘ढाटीको श्रीमानसहित परिवार त्यो ८ महिनाको बच्चाको बुवाआमा सबै मुर्छित अवस्था छ, गाउँमा यस्तो डरलाग्दो घटना घटाए सबैलाई आश्चर्य बनाएको छ ।’
उनका अनुसार घटना आजै दिउसो २ बजेतिरको हो । ‘म वडा कार्यालय गएको थिएँ, अर्को विद्यालयमा कार्यक्रम थियो, एकछिन घरबाट आएको फोन रिसिभ गर्न पाएको थिएन, साढे १ देखि २ बजेको समयमा मलाई फोन आएको रहेछ, पछि सुनेर दौडियो, उनीहरु बीचको कुनै विवाद बाहिर आएको थिएन, पुन र बुढा अनि मेरो घरको दुरी एक मिनेटको फरकमा पर्दछ’ वडाध्यक्ष बुढाले भने –‘सामान्य परिवारमा एकजनाको सनकले गर्दा यस्तो अवस्था आयो, अहिले तीनै जनाको शव जिल्लामा राखेर म घरमा आएँ, अब भोलि गएर अन्त्येष्टि कसरी गर्ने टुंगो लगाउने हो ।’