दाङ – लुम्बिनी प्रदेश स्तरीय ललितकला प्रदर्शनी बुटवलमा सुरु भएको छ। मुख्यमन्त्री चेतनारायण आचार्यले बुटवलमा आयोजित प्रदर्शनीको शनिबार उद्घाटन गरे। चित्र, मूर्ति, लोक कलामार्फत लुम्बिनीलाई चिनाउन खोजिएको छ। प्रदेशका १२ जिल्लाका कलाकारहरुले निर्माण गरेको आकृतिहरु राखिएका छन्। १२३ जना कलाकारको १८० कलाकृति प्रदर्शनीमा राखिएको हो। लुम्बिनी प्रदेश ललितकलाका लागि उर्वर भूमि भएको उल्लेख गर्दै मुख्यमन्त्री आचार्यले कला, संस्कृति, भाषा, साहित्य तथा सिर्जनाको संरक्षण, सम्बर्द्धन र प्रवर्द्धनबाट समृद्ध प्रदेश निर्माण गर्न सकिने बताए।
नेपाल ललितकला प्रज्ञा(प्रतिष्ठानको आयोजनामा सुरु भएको यो प्रदर्शनी फागुन १४ गतेसम्म सञ्चालन हुनेछ। ललितकला प्रज्ञा-प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले अनुसन्धान, सिर्जना र सम्मानलाई प्राथमिकतामा राखिएको बताए। उनले ललितकला क्षेत्रमा नयाँ कलाकार उत्पादन हुनु सुखद् पक्ष भएको उल्लेख गर्दै तीन तहका सरकारले कलाकार तथा सिर्जनाकर्ताहरूको पहिचान र प्रवर्द्धनमा योगदान गर्न आवश्यक रहेको धारणा व्यक्त गरे।