नेपालगञ्ज– बाँके प्रहरीले भारतीयसहित तीन जनालाई ठूलो मात्रामा ब्राउनसुगर र चरेशसहित पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय, बाँकेका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक यामबहादुर मल्लका अनुसार, भारतीय नागरिकबाट ७ सय २२ ग्राम ६३ मिलिग्राम ब्राउनसुगर र दुई जना नेपालीको साथबाट ४ किलो २ सय २० ग्राम चरेश बरामद भएको छ ।
नेपालगन्ज उपमहानगरपालिका वडा नं. १५, इट्टाभट्टास्थित भारतबाट नेपालतर्फ आइरहेका भारत बहराइच काजीपुरुवाका २१ वर्षीय अल्वक्स खाँको साथबाट प्रहरीले ब्राउनसुगर बरामद गरेको हो ।
खाँ ब्राउनसुगर बोकेर नेपालमा बिक्री वितरणका लागि आइरहेका थिए । त्यस्तै, नेपालगन्ज उपमहानगरपालिका वडा नं. ४, बसपार्कस्थित सु।प.प्र. ०१–०११ प १८५५ नम्बरको स्कुटरमा रहेका कालिकोट खडाचक्र नगरपालिका वडा नं. १० का ३५ वर्षीय विक्रम शाही र भक्तबहादुर शाहीको साथबाट चरेश बरामद भएको छ ।
विक्रमले चलाएको स्कुटरमा पछाडी बसेका भक्तबहादुरले बोकेको झोलामा चरेश बरामद भएको प्रहरीले जनाएको छ । पहाडी जिल्लामा उत्पादन हुने चरेश नेपालगन्ज हुँदै भारत लैजाने गरिन्छ । त्यस्तै, भारतबाट ब्राउनसुगर नेपालगन्ज हुँदै अन्य ठाउँमा लैजाने गरिन्छ ।