२५ फाल्गुन २०८१, आईतवार
हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठानद्वारा स्रष्टा सम्मान

  • टाइम्स संवाददाता

  • २४ फाल्गुन २०८१, शनिबार २१:३०

कोहलपुर : हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान कोहलपुरद्वारा आज शनिबार विशेष समारोह गरी स्रष्टा सम्मान, एकल कविता वाचन तथा सङ्घर्ष सँगाती कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ । प्रतिष्ठानले स्थापना गरेको २५ हजार ५ सय पच्पन्न राशिको पूर्णिमा साहित्य रत्न पुरस्कार- २०८० बाट साहित्यका अनेक विधा विशेषतः छन्द कवितामा सक्रिय स्रष्टा प्रा.डा देवी नेपाललाई सम्मान गरेको छ ।

यसैगरी यस वर्षको तुलसीराम स्मृति पुरस्कार ७ हजार७ सय ७७राशिको बाँकेका स्रष्टा गणेश जी.सी.लाई प्रदान गरिएको छ । दुबै जना स्रस्टालाइ कार्यक्रमका प्रमुख अतिथि बाँके क्षेत्र नं १ का प्रतिनिधि सभा सदस्य सूर्यप्रसाद ढकाल र संस्थाका अध्यक्ष पुष्कर रिजालले दोसल्ला, सम्मान पत्र र नगद सहित सम्मान गर्नुभएको हो । सो अवसरमा भर्खरै विद्यावारिधि उपाधि प्राप्त गरेका संस्थाका आजीवन सदस्य हरिप्रसाद तिमिल्सिनालाई समेत सम्मान गरिएको थियो ।

सम्मान कार्यक्रममा बोल्दै प्रमुख अतिथि ढकालले पूर्णिमा साहित्य प्रतिष्ठानले गरेका काम राष्ट्रिय स्तरमै प्रशंसनीय रहेको बताउदै पूर्णिमाको संस्थागत विकास र भवन निर्माणमा आफूले पहल गर्ने बताए। विशिष्ट अतिथि लुम्बिनी प्रदेश सभासद वसन्ती अधिकारीले पूर्णिमा कोहलपुरलाई देशभरि चिनाउने साहित्यिक संस्था रहेको भन्दै खुसी व्यक्त गर्नुभयो । कार्यक्रमको दोस्रो सत्र डा. देवी नेपालको एकल कविता वाचन रहेको थियो । उहाँका शास्त्रीय लयप्रवाहमा प्रस्तुत देशभक्ति, कर्मशीलता, नेपाली जातीय पहिचान, इतिहास, वीरता आदि विषयका मर्मस्पर्शी कविता र गजलले सबैलाई भावुक, गम्भीर र उत्साहित बनाए । कार्यक्रमको तेस्रो सत्र पूर्णिमाको नयाँ कार्यक्रम सङ्घर्ष सँगातीको दोस्रो शृङ्खलामा प्रा.डा. जनार्दन आचार्य र किरण आचार्यले आफ्ना जीवनका विविध पक्ष, साहित्यिक र शैक्षिक जीवन, जीवनका सङ्घर्ष र सफलतालाई खुलेरै पस्कनुभयो ।

उक्त कार्यक्रममा सम्मानित व्यक्तित्वको परिचय प्रस्तिस्ठानका उपाध्यक्ष खोपीराम वली क्षेत्रीले दिनुभएको थियो । कार्यक्रममा प्रा. डा. कृष्णप्रसाद घिमिरे, प्राज्ञ महानन्द ढकाल, नरेन्द्रजङ्ग पिटर, वागेश्वरी बहुमुखी क्याम्पसका प्रमुख दानबहादुर हमाल, समाजसेवी कोहलपुर १२ का अध्यक्ष वीरेन्द्र शाह, वडा नं ११ की अध्यक्ष कल्पना शर्मा, समाजसेवी कुलबहादुर भट्टराई, ईश्वरीप्रसाद विक, भेरी साहित्य समाजका अध्यक्ष इन्द्र वस्नेत, कोहलपुर वाङ्मय प्रतिष्ठानकी उपाध्यक्ष सुमित्रा न्यौपाने, तक्षशिला एकेडमीका अध्यक्ष विष्णु प्रसाद बेलबासे, विभिन्न साहित्यिक संस्थाका प्रतिनिधिहरू, विभिन्न विद्यालयका प्र.अ तथा शिक्षक, साहित्यिक व्यक्तित्व, विद्यार्थी, पत्रकारसहित १ सय ५० बढीको उपस्थिति रहेको थियो । सहसचिव प्रकाश मरासिनीको स्वागत मन्तव्यबाट सुरुभएको कार्यक्रमको अध्यक्षता पुष्कर रिजालले र सहजीकरण सचिव केशव निमेषले गरेका थिए ।

Nabintech