५ मंसिर २०८३, शनिबार
एनपीएलको उपाधिका लागि लुम्बिनी र सुदूरपश्चिम भिड्दै

  • टाइम्स संवाददाता

  • ५ मंसिर २०८३, शनिबार ०७:३३

तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को फाइनल खेल आज हुँदैछ । उपाधिका लागि साविक विजेता लुम्बिनी लायन्स र उपविजेता सुदूरपश्चिम रोयल्स आमनेसामने हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने फाइनल खेल बेलुका ५ बजे सुरु हुनेछ । झन्डै एक महिना चलेको प्रतियोगिताले आज नयाँ च्याम्पियन पाउनेछ वा लुम्बिनीले उपाधि रक्षा गर्नेछ भन्ने टुंगो लाग्नेछ ।

लुम्बिनी पहिलो क्वालिफायरमा सुदूरपश्चिमलाई नै ६ विकेटले पराजित गर्दै फाइनल पुगेको हो । सुदूरपश्चिमले भने दोस्रो क्वालिफायरमा चितवन राइनोजलाई ३ विकेटले हराउँदै फाइनलमा स्थान सुरक्षित गरेको हो ।

सुदूरपश्चिम लगातार तेस्रोपटक एनपीएलको फाइनल खेल्दैछ । यसअघि दुई संस्करणमा उपविजेतामै सीमित भएको सुदूरपश्चिम यसपटक पहिलो उपाधिको खोजीमा हुनेछ ।

यता, लुम्बिनी भने लगातार दोस्रोपटक उपाधि जित्दै इतिहास रच्ने दाउमा छ । दुई टोलीबीचको हेड टु हेडमा लुम्बिनी अगाडि छ । हालसम्म भएका पाँच भेटमा लुम्बिनीले तीन खेल जित्दा सुदूरपश्चिमले दुई खेल आफ्नो पक्षमा पारेको छ ।

प्रतियोगिताको विजेताले १ करोड ५० लाख रुपैयाँ पुरस्कार पाउनेछ । उपविजेताले ८० लाख रुपैयाँ प्राप्त गर्दा तेस्रो हुने टोलीले ४० लाख र चौथो हुने टोलीले ३० लाख रुपैयाँ पाउनेछन् ।

Nabintech