कोहलपुरमा पहिलो पटक रात्रीकालीन क्रिकेट प्रतियोगिता हुँदै
कोहलपुर नगरपालिकाको कार्यालय र कोहलपुर नगर खेलकुद विकास समितिको संयुक्त आयोजनामा कोहलपुरमा भव्य रात्रीकालीन क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ।
खेलकुद र पर्यटन प्रवर्द्धनसहित नगरलाई पश्चिम नेपालको नमुना नगरपालिका बनाउने लक्ष्यका साथ प्रतियोगिता आयोजना गर्न लागिएको हो । प्रतियोगिता कोहलपुर खुला मञ्चमा सञ्चालन हुनेछ । प्रतियोगिताका खेलहरू जेठ ९ गतेदेखि २० गतेसम्म प्रत्येक दिन बेलुकी ८ बजेदेखि राति १२ बजेसम्म खेलाइनेछन् । १२ १२ ओभरको खेल हुने यस प्रतियोगितामा दैनिक तीनवटा खेल सञ्चालन गरिनेछ। प्रत्येक टिममा १४ जना खेलाडी रहने व्यवस्था गरिएको छ भने टिम दर्ता शुल्क ८ हजार रुपैयाँ निर्धारण गरिएको छ। प्रतियोगिता खुला प्रकारको भएकाले सबै उमेर समूहका खेलाडीहरूले सहभागी हुने अवसर पाउनेछन् ।
विजेता टिमलाई एक लाख पचास हजार रुपैयाँ नगदसहित ट्रफी र मेडल प्रदान गरिनेछ। उपविजेताले ५५ हजार रुपैयाँ नगद, ट्रफी र मेडल प्राप्त गर्नेछ। प्लेयर अफ द टूर्नामेन्टले बीबी साइकलसहित ट्रफी र मेडल प्राप्त गर्नेछ। त्यस्तै, उत्कृष्ट ब्याटर, बलर र फिल्डरलाई पनि ट्रफी र मेडल प्रदान गरिनेछ। प्रत्येक खेलमा KIEC Player of the Match पुरस्कार वितरण गरिनेछ।
खेलहरू आईसीसीका नियमअनुसार (LBW रिभ्यूबाहेक) सञ्चालन गरिनेछन्। निर्धारित समयमा उपस्थिति नजनाउने टिमलाई ३० मिनेटपछि आयोजकको निर्णयअनुसार खेलबाट बाहिर गरिने व्यवस्था गरिएको छ। अम्पायरको निर्णय अन्तिम मानिने छ। प्रतियोगिताका सम्पूर्ण खेलहरू सामाजिक सञ्जालमार्फत प्रत्यक्ष प्रसारण गरिनेछन्।
खेलाडीहरूको सुविधा र समय व्यवस्थापनमा कुनै कमी हुन नदिन पूर्ण रूपले तयार रहेको बताए । उनका अनुसार हालसम्म २० वटा टिम दर्ता भैसकेको र ३२ टिमको सहभागिता रहने छ ।