चितवन – चितवनमा आफ्नै छोरी र भतिजको बाबुले हत्या गरेको घटना सार्वजनिक भएको हप्तादिन नहुँदै एक बाबुलाई छोरीमाथि बलात्कार अभियोगमा प्रहरीले हिरासतमा लिएको छ ।
आफ्नी १५ वर्षीया छोरीलाई पटक पटक बलात्कार गर्दै आएको ३९ वर्षका बाबुलाई चितवन प्रहरीले हिरासतमा लिएको हो । बलात्कारबाट गर्भवती बनेकी बालिकाले गत सोमबार आफ्नै घरमा सन्तान जन्माएपछि घटना प्रहरीसम्म आइपुगेको हो ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख एसपी गोविन्द पुरीका अनुसार बालिकाले घरमा छोराको जन्म दिएको थाहा पाएपछि छिमेकीसम्म घटना सार्वजनिक भएको थियो । छिमेकीले नै प्रहरीलाई खबर गरेपछि मंगलबार इलाका प्रहरी कार्यालयल टाँडीले ३९ वर्षका बाबुलाई हिरासतमा लिएर अनुसन्धान अघि बढाइएको हो ।
बालिका र नवजात शिशुलाई भने भरतपुर अस्पतालको अस्पतालमा आधारित एकद्वार संकट व्यवस्थापन केन्द्र (ओसीएमसी) को रेखदेखमा उपचारमा राखिएको छ । १५ वर्षकी बालिका र नवजात शिशुको रेखदेख अस्पतालले गरेको र प्रहरीले कानूनी प्रकृया अघि बढाएको एसपी पुरीले बताए ।
बालिकाको घरमा आमा, बुबा र उनीमात्रै सन्तान थिए । आमाले अगाडिदेखि नै यस घटनाबारे थाहा पाएपनि बाबुको धम्कीका कारण कसैलाई जानकारी नदिएको बयान दिएको प्रहरीले जनाएको छ ।
एक वर्षअघि पनि चितवनको कालिका नगरपालिकाकी एक १३ वर्षीया बालिकालाई बाबुले बलात्कार गरी ७ महिनाको गर्भ बसेको घटना सार्वजनिक भएको थियो । बालिकालाई भरतपुर अस्पतालमा ल्याएर गर्भपतन गराएको घटना सार्वजनिक भएपछि बाबु फरार भएका थिए ।
केही समयअघि प्रहरीले बाबुलाई धादिङ जिल्लाबाट नियन्त्रणमा लिइ हाडनाता करणीको अभियोगमा मुद्दा दर्ता गरिएको थियो । जिल्ला अदालत चितवनले ति बाबुलाई जन्मकैदको फैसला गरेको थियो ।