लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनीलाई बौद्ध तीर्थयात्रा र आध्यात्मिक पर्यटनको प्रमुख गन्तव्यका रूपमा स्थापित गर्न खोजिएको बताउनुभएको छ ।
तेस्रो बौद्ध अन्तर्राष्ट्रिय यात्रा मेला–२०८२ को समापन कार्यक्रमलाई भैरहवामा सम्बोधन गर्दै उहाँले यस यात्राले लुम्बिनीलाई मात्र नभई समग्र नेपाललाई बौद्ध तीर्थयात्रा र आध्यात्मिक पर्यटनको प्रमुख गन्तव्यका रूपमा स्थापित गर्न महत्वपूर्ण योगदान पुगेको विश्वास व्यक्त गर्नुभयो ।
नेपाल पर्यटन व्यवसायी सङ्घ (नाट्टा) को आयोजना तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल पर्यटन बोर्ड, लुम्बिनी विकास कोषलगायतका निकायको सहकार्यमा यात्राको आयोजना गरिएको थियो । प्रदेश सरकारले बौद्ध सर्किट र समग्र लुम्बिनीको विकासका लागि लुम्बिनी पर्यटन सर्किटको अवधारणा अघि बढाएको र यसले लुम्बिनीलाई नयाँ उचाइमा पुर्याउने अपेक्षा गरिएको उहाँको भनाइ छ ।
उहाँका अनुसार लुम्बिनीलाई केन्द्रमा राखी देवदह, रामग्राम, तिलौराकोटलगायत सम्पदालाई जोड्दै बौद्ध सर्किटको विकासलाई उच्च प्राथमिकतामा राखिएको छ । लुम्बिनी विकास गुरुयोजनाको प्रभावकारी कार्यान्वयन तथा लुम्बिनी विकास प्राधिकरण गठनको तयारी भइरहेको छ ।
मुख्यमन्त्री आचार्यले प्रदेश सरकारले प्राचीन स्मारक, पुरातात्त्विक र सांस्कृतिक सम्पदाको संरक्षण तथा प्रवर्धन, पर्यटकीय सूचना प्रवाहका लागि डिजिटल प्लेटफर्मको विकास, उत्तरगण्डकी महास्नान मेला, रुरुक्षेत्रको गुरुयोजना कार्यान्वयन, विभिन्न मेला महोत्सवको आयोजना, होमस्टे प्रवर्धनलगायतका कार्यक्रमलाई प्राथमिकताका साथ अघि बढाइरहेको बताउनुभयो ।
मुख्यमन्त्री आचार्यले प्रदेश सरकारले आगामी आर्थिक वर्षभित्र पर्यटन क्षेत्रको योगदान कुल गार्हस्थ उत्पादनमा चार प्रतिशतबाट सात प्रतिशतमा पुर्याउने र आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या २२ लाख नाघ्ने लक्ष्य लिएको जानकारी दिनुभयो । नेपालको बौद्ध धर्मसम्बन्धी तीर्थ पर्यटन प्रवर्धनका लागि केन्द्रित यो यात्रा नेपालसहित अन्तर्राष्ट्रिय बजारमा बौद्ध पर्यटन प्रवर्धन गर्न महìवपूर्ण मानिएको छ । यात्रामा पर्यटन क्षेत्रका सरोकारवाला, आध्यात्मिक व्यक्तित्व, प्रदर्शक तथा विदेशी प्रतिनिधिको सहभागिता छ ।