प्यालेस्टाइनको सुन्नी-इस्लामिक कट्टरपन्थी संगठन हमासले अमेरिकी युद्धविराम प्रस्तावको जवाफ दिएको छ। उसले १० जना जीवित इजरायली बन्धक र १८ जना मृत बन्धकलाई केही संख्यामा प्यालेस्टिनी कैदीहरू साटासाट गरेर मुक्त गर्न तयार रहेको जनाएको छ। तर, यसका लागि हमासले अमेरिकी युद्धविराम योजनामा केही संशोधनको माग पनि गरेको छ।
हमासले स्थायी युद्धविराम, गाजाबाट इजरायली सेनाको पूर्ण फिर्ता र मानवीय सहायता अवरोधविना निरन्तर प्रवाह हुने सुनिश्चितता जस्ता पुराना माग दोहोर्याएको छ, जुन अहिलेको प्रस्तावमा समावेश छैनन्।
हमासको प्रतिक्रिया न पूर्ण अस्वीकार हो न पूर्ण स्वीकार। तर, संशोधनसहितको नयाँ प्रस्ताव हो। वासिङ्टनले भने इजरायलले यो प्रस्ताव स्वीकार गरिसकेको दाबी गरेको छ।
हामासले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका मध्यपूर्व विशेष दूत स्टिभ विटकोफद्वारा प्रस्तावित प्रारम्भिक मस्यौदामा आफ्नो प्रतिक्रिया पठाएको जनाएको छ।
विटकोफले एक विज्ञप्तिमा भनेका छन्, ‘मैले संयुक्त राज्य अमेरिकाको प्रस्तावमा हमासको प्रतिक्रिया प्राप्त गरेँ। यो पूर्णतः अस्वीकार्य छ र हामीलाई पछाडि फर्काउने काम मात्र गर्छ। हमासले हामीले अघि सारेको खाका स्वीकार गर्नुपर्छ, जसको आधारमा हामी वार्ता अगाडि बढाउन सक्छौं।’
उनले त्यसकै आधारमा आउने केही दिनभित्र ६० दिनको युद्धविराम सम्झौता टुंग्याइनले बताएका छन् । इजरायली प्रधानमन्त्री नेतन्याहुको कार्यालयले भनेको छ, ‘इजरायलले हाम्रा बन्धकहरू मुक्त गर्न विटकोफ योजनालाई स्वीकार गरे पनि हमास अझै पनि अस्वीकार गर्ने अडानमै छ।’
संयुक्त राज्य अमेरिका, बेलायत र युरोपेली संघले आतंककारी समूह घोषणा गरेको हमासले ‘स्थायी युद्धविराम’ र ‘इजरायली फौजको पूर्ण फिर्ता’को माग दोहोर्याएको छ।
यसका साथै, हमासले गाजामा राहत सामग्री अबरोधविना निरन्तर प्रवाह हुने ग्यारेन्टीको माग गर्दै १० जना जीवित र १८ जना मृत इजरायली बन्धकहरूलाई इजरायली जेलमा रहेका सहमति गरिएको संख्यामा प्यालेस्टिनी कैदीहरूसँग साटफेर गर्ने प्रस्ताव राखेको हो।
यद्यपि, हमास अहिले युद्ध शुरू भएयताकै सबैभन्दा जटिल र कठिन अवस्थामा परेको छ। करिब २२ लाख गाजावासीको चाप र बिचौलियाहरूको दबाबबीच हमासले अमेरिकी प्रस्ताव अस्वीकार गर्न कठिन देखिएको छ, जुन यसअघि अस्वीकार गरिएका प्रस्तावहरूभन्दा कम सहुलियतपूर्ण मानिएको छ। मार्च महिनामा पनि उसले यस्तो प्रस्ताव अस्वीकार गरिसकेको थियो।
त्यतिबेला हमासका वरिष्ठ नेता खालिल अल(हैयाले स्पष्ट शब्दमा भनेका थिए कि समूह आंशिक सम्झौतामा जाने छैन जबसम्म स्थायी रूपमा युद्धको अन्त्य हुने निश्चितता हुँदैन।
तर, हमासलाई यो प्रस्ताव पूर्णतः अस्वीकार गर्न पनि मुस्किल छ । किनभने उसलाई थाहा छ इजरायलले गाजामा फेरि जमिन अभियान तीव्र बनाउने तयारी गर्दैछ। यस्तो आक्रमणलाई रोक्ने या गम्भीर रूपमा प्रतिरोध गर्ने हमाससँग सामरिक क्षमता छैन।
यी दुई विरोधाभाषी वास्तविकताबीच फसेको हमासले अमेरिकी प्रस्तावमा स्पष्ट जवाफ दिनुको साटो नयाँ प्रतिप्रस्तावसहित प्रतिक्रिया दिएको हो।
अमेरिकाले हमासलाई प्रस्ताव पठाउनुअघि इजरायलबाट स्वीकृति लिई प्रस्ताव तयार गरेको थियो, जसका प्रावधानहरू इजरायल स्वीकार्न सक्ने अवस्थामा थिए।
प्रधानमन्त्री नेतन्याहुले आफू बन्धकहरू फिर्ता ल्याउन अस्थायी युद्धविराम स्वीकार गर्न तयार रहेको भने पनि, इजरायली सरकार सधैं अस्थायी युद्धविरामपछि फेरि आक्रमण गर्ने अधिकार आफूले सुरक्षित राख्ने अडानमै रहेको छ।
इजरायली रक्षा मन्त्री इस्राएल काट्जले यस हप्ता अझ कडा भनाइ प्रयोग गर्दै भनेका छन्, ‘अब हामासका हत्याराहरूले छान्नुपर्नेछ( बन्धक मुक्त गर्ने विटकोफ सम्झौता स्वीकार गर्ने कि सम्पूर्ण रूपमा नष्ट हुने।’
विटकोफको पछिल्लो भनाइमा प्रतिक्रिया दिँदै हमासका नेता बासेम नाइमले बीबीसीसँग भनेका छन्, ‘गत हप्ता हामीले एउटा प्रस्तावमा सहमति जनाएका थियौं, जसलाई विटकोफले वार्ताको आधारका रूपमा मान्य मानेका थिए – तर इजरायली जवाफले हामीले सहमति जनाएका सबै प्रावधान अस्वीकार गर्यो।’
शनिबार गाजास्थित हामास(नियन्त्रित स्वास्थ्य मन्त्रालयले गत २४ घण्टामा इजरायली आक्रमणमा ६० जना मारिएको र २८४ जना घाइते भएको जनाएको छ। उत्तरी गाजा गभर्नरेटका अस्पतालहरूबाट तथ्यांक प्राप्त गर्न गाह्रो भएकाले त्यस क्षेत्रको विवरण समावेश गरिएको छैन।
गत वर्ष अक्टोबर ७ मा हमासले इजरायलमा हमला गर्दा झण्डै १ हजार २०० जना मारिएका थिए भने २५१ जना बन्धक बनाइएका थिए।
त्यसयता गाजामा कम्तीमा ५४ हजार ३८१ जना मारिएका छन् । मार्च १८ पछि इजरायलले आक्रमण फेरि शुरू गर्दा ४ हजार ११७ जनाको मृत्यु भएको हामास(नियन्त्रित स्वास्थ्य मन्त्रालयको भनाइ छ। –बीबीसीबाट