२२ जेष्ठ २०८२, बुधबार
शीर्ष तीन नेताको बैठकः गृहमन्त्रीले राजीनामा दिनुपर्ने माओवादीको अडान कायमै

  • टाइम्स संवाददाता

  • २० जेष्ठ २०८२, सोमबार १८:२८

काठमाडौं – प्रमुख तीन दलका शीर्ष नेताको बैठकमा प्रमुख प्रतिपक्ष दल माओवादी केन्द्रले गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने मागलाई यथावत राखेको छ । प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको आह्वानमा सोमबार भएको बैठकमा संसदको गतिरोध कसरी हल गर्ने र अघि बढ्ने भन्ने विषयमा छलफल भएको नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले पत्रकारलाई जानकारी गराए ।

उनका अनुसार संसद बैठकलाई कसरी अघि बढाउने भन्ने विषयमा छलफल भए पनि निर्णय हुन नसकेको बताए । उनले भने, ‘यो बैठकपछि हामीले अरु प्रतिपक्ष दलसँग पनि छलफल गर्दैछौं । अहिले छलफलमात्रै भयो । संसद खोल्नुपर्छ भन्ने सत्तापक्ष र प्रधानमन्त्रीले राख्नुभयो । गृहमन्त्रीलगायतले पनि राख्नुभयो । राजीनामा होइन, संसद खोलेर अघि बढ्नुपर्छ भन्नुभयो ।’

प्रमुख सचेतक पाण्डेले आफूहरुले संसदमा उठाउँदै आएको भिजिट भिसा प्रकरणमा जोडिएका गृहमन्त्री लेखकको राजीनामाको मागलाई यथावत राखेको र राजीनामा नदिएसम्म बैठक चल्न नदिने अडान कायमै राखेको बताए ।

उनले भने, ‘सुशासनलाई केन्द्रित गरेर हामीले आफ्नो विषयवस्तु राखेका छौं । हामीले जो विषयवस्तु राखेका छौं, त्यो यथावत नै छ । सदनमा राखेको विषय त्यही हो । भिजिट भिसा, त्यहाँ जसरी गडबड भएको छ, गृहमन्त्रीले हल गर्न, अनुसन्धान गर्न मार्गप्रशस्त गरिदिनुपर्छ भन्ने हो । मार्गप्रशस्त भनेको राजीनामा नै हो ।’

Nabintech