राइड सेयरियङ नियमावली एक महिनाका लागि स्थगित गर्ने गण्डकी प्रदेश सरकारले निर्णय गरेको छ । सरकार र यातायात व्यवसायीबीच सोमबार मध्यराति भएको सहमति कार्यान्वयन गराउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले मंगलबार गण्डकी प्रदेश सरकारलाई राइड सेयरिङ नियमावली स्थगित गर्न भन्दै पत्र पठाएको थियो ।
सोही पत्रबारे निर्णय लिन आजै साँझ मुख्यमन्त्री कार्यालयमा मुख्यमन्त्रीसहित सरोकार मन्त्रीहरू सहभागी बैठक बसेको थियो ।
बैठकले यातायात व्यवसायीहरूसँग पुनः वार्ता गरी सहमति गर्नका लागि एक महिनाको समय दिने निर्णय समेत गरेको छ ।
बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ, ‘भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय, गण्डकी प्रदेशबाट गठन भएको वार्ता समितिले सरोकारवाला पक्षलाई वार्ताका लागि पुनस् आह्वान गरी वार्ता सम्पन्न गर्न एक महिनाको अवधि तोक्ने र उल्लिखित अवधिभर गण्डकी प्रदेश राइड सेयरिङ (नियमन र व्यवस्थापन) नियमावली, २०८२ बमोजिमका राइड सेयरिङ सम्बन्धी प्रावधानको कार्यान्वयन गर्ने कार्य प्रक्रिया स्थगन गर्ने भनी निर्णय भएको व्यहोरा जानकारीका लागि सबैमा अनुरोध छ ।’