बाँकेको नरैनापुर गाउँपालिकाले गाउँ ब्लकमा रहेका ३५० परिवारलाई जग्गाधनी प्रमाणपत्र वितरण गरेको छ । गाउँपालिकाको वडा नम्बर तीनमा वर्षौदेखि गाउँ ब्लकमा बसोबास गर्दै आएका ३५० घरपरिवारलाई जग्गाधनी प्रमाणपत्र वितरण गरिएको हो ।
वर्षौंदेखि भोग चलन गर्दै आएपनि जग्गाधनी प्रमाणपत्र ९लालपुजा० नपाएका स्थानीयलाई कानुनी रित पुर्याएर लालपुर्जा वितरण गरिएको गाउँपालिकाका अध्यक्ष शैयद इस्तियाक अहमद शाहले बताउनुभयो । उहाँले भन्नुभयो, “घरबास नभएका, सुकुम्वासी र अव्यवस्थित वसोवासीलाई पनि लगत सङ्कलन गरेर केही दिनमै पुर्जा वितरण गर्छौं ।”
पहिले नापी गर्दा छुट भएका जग्गालाई गाउँब्लक मानिँदै आएको छ । नरैनापुरको गाउँब्लक भित्र पर्ने जग्गामा वर्षौदेखि ३५० परिवारले खनजोत र भोगचलन गर्दै आए पनि जग्गाधनी प्रमाणपत्र पाउन सकेका थिएनन् ।
गाउँपालिकाका सहायक प्रशासकीय अधिकृत भरत महतोले पालिका भित्रका अन्य विभिन्न वडाका गाउँ ब्लकमा रहेकाहरुलाई पनि जग्गाधनी प्रमाणपत्र वितरण गरिने जनाउँदै सो कार्यलाई आगामी दिनमा पनि निरन्तरता दिइने बताउनुभयो ।
घर बनाएर बसेका तर नापी भएर पनि पुर्जा नपाएकाहरुलाई गाउँपालिकाले नापी कार्यालय बाँकेको सहकार्यमा जग्गाधनी प्रमाणपत्र वितरण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज वलीले जानकारी दिनुभयो ।
नापी कार्यालय बाँकेका प्रमुख नापी अधिकृत गणेश्वर यादवले गाउँब्लकको नापजाँच निरन्तर भए पनि पुर्जा वितरण हुन नसकेको उल्लेख गर्दै अहिले जग्गाधनी पुर्जा वितरण सुरु गरिएको जानकारी दिनुभयो ।
उहाँले गाउँब्लकको जग्गा नापजाँच, दर्ता र पुर्जा वितरण गर्नुपर्ने भएपनि पुर्जा वितरण हुन नसकेकोमा यो कामलाई छिटै पूरा गर्ने गरी अगाडि बढाइएको स्पष्ट पार्नुभयो ।
उहाँले थप्नुभयो, “वर्षौंदेखि रोकिएको समस्या थियो । आफ्नै जमिन हुँदाहुँदै पनि भूमिहीनजस्तो भएर बस्नुपर्ने अवस्थाबाट नागरिकलाई मुक्ति मिलेको छ ।”
जग्गाधनी प्रमाणपत्र वितरण कार्यक्रममा स्थानीय जनप्रतिनिधि, कर्मचारी र स्थानीयहरुको सहभागिता रहेको थियो ।