२४ जेष्ठ २०८२, शुक्रबार
१२ देशका नागरिकलाई अमेरिका यात्रामा पूर्ण प्रतिबन्ध

  • टाइम्स संवाददाता

  • २३ जेष्ठ २०८२, बिहीबार ०७:४७

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले १२ देशका नागरिकलाई अमेरिका यात्रामा पूर्णप्रतिबन्ध लगाउने निर्णयमा हस्ताक्षर गरेका छन् ।

सुरक्षा जोखिमलाई कारण देखाउँदै उनले ट्रम्पले अफगानिस्तान, म्यानमार ९बर्मा०, चाड, गणतन्त्र कंगो, इक्वेटोरियल गिनी, इरिट्रिया, हैटी, इरान, लिबिया, सोमालिया, सुडान र यमनका नागरिकहरुलाई अमेरिका यात्रामा पूर्ण प्रतिबन्ध लगाउने निर्णय गरेका हुन् ।

यसैगरी ट्रम्पले बुरुन्डी, क्युबा, लाओस, सिएरालियोन, टोगो, तुर्कमेनिस्तान र भेनेजुएलाका नागरिकहरूलाई आंशिक रुपमा प्रतिबन्ध लगाउने घोषणामा पनि हस्ताक्षर गरेका छन् ।

यात्रा प्रतिबन्धको निर्णय ९ जुनदेखि लागु हुने फक्स न्युजले जनाएको छ । यद्यपि अमेरिकी ग्रिनकार्ड भएका व्यक्तिहरु, ९ जुनभन्दा अघि नै भिसा लागिसकेका व्यक्तिहरू, केही निश्चित भिसा श्रेणीहरू र अमेरिकी राष्ट्रिय हितमा सेवा गर्ने व्यक्तिहरूलाई भने छुट दिइने समाचारमा उल्लेख छ ।

अमेरिकालाई खतरनाक विदेशी तत्वहरूबाट जोगाउने चुनावी बाचा अनुसार यो निर्णय गरिएको ह्वाइट हाउसका अधिकारीहरुले बताएका छन् ।

आतंकवादी आक्रमणबाट जोगाउने प्रयास

ह्वाइट हाउसकी उपप्रवक्ता अबिगेल ज्याक्सनले भनेकी छन्, ‘अमेरिकी जनतालाई हानि पुर्‍याउन चाहने खतरनाक विदेशी तत्वहरूबाट जोगाउन राष्ट्रपति ट्रम्पले प्रतिबद्धता पूरा गरिरहेका छन् ।’
यी प्रतिबन्धहरूलाई ‘साझा समझदारी’को कदमको संज्ञा दिँदै उनले भनिन्, ‘यो निर्णय ती देशहरुमा लक्षित छ जसमा उचित जाँच प्रक्रिया छैन, भिसा अवधि नाघ्ने दर उच्च छ र खतरा सम्बन्धी सूचना आदानप्रदान गर्न असफल छन् ।’

बुधबार राति पोस्ट गरिएको एक भिडियोमा राष्ट्रपति ट्रम्पले कोलोराडोको बोल्डरमा हालै भएको आतंकवादी आक्रमणपछि यो यात्रा प्रतिबन्ध सम्बन्धी घोषणामा हस्ताक्षर गरिएको बताएका छन् ।

‘कोलोराडोको बोल्डरको घटनाले हाम्रो देशमा प्रवेश गर्ने, ठीकसँग जाँच नगरी आएका विदेशी नागरिकहरूका साथै अस्थायी आगन्तुकका रूपमा आएर भिसा अवधि नाघ्नेहरूबाट उत्पन्न हुने चरम खतरालाई उजागर गरेको छ,’ ट्रम्पले भनेका छन्, ‘हामी त्यस्ता मानिसहरू चाहँदैनौं ।’

‘२१ औं शताब्दीमा हामीले संसारका खतरनाक स्थानहरूबाट आएका भिसा अवधि नाघ्ने विदेशीहरूद्वारा एकपछि अर्को आतंकवादी हमला देखिरहेका छौं,’ ट्रम्पले थपे, ‘बाइडेनको खुकुलो नीतिका कारण, आज हाम्रो देशमा लाखौं अवैध आप्रवासी छन्, जो यहाँ हुनुहुँदैन ।’

अवैध आप्रवासीप्रति कठोर

अमेरिकाको यो निर्णयबाट अफगानिस्तान सबैभन्दा बढी प्रभावित हुनसक्ने सम्भावना छ । किनकि ट्रम्पले भनेजस्तै भिसा अवधि नाघ्ने दर अफगानिस्तानका विद्यार्थीहरुको २९।३ प्रतिशत छ । अफगानिस्तान तालिबानको नियन्त्रणमा छ । तालिबान अन्तर्राष्ट्रिय आतंकवादी संगठनको रूपमा अमेरिकाको सूचिमा छ ।

इरानप्रतिको अमेरिकी बुझाइ पनि आतंकवादलाई सहयोग गर्ने राष्ट्रको रूपमा छ । इरानले अमेरिकी अधिकारीहरूसँग सहयोग आदानप्रदान गर्न अस्वीकार गर्ने गरेको ट्रम्पको आरोप छ । लिबिया, सोमालिया र यमनजस्ता देशहरूमा सुरक्षित कागजात जारी गर्न सक्ने सक्षम सरकार नभएको ट्रम्पको ठहर छ ।

त्यसैले ट्रम्पले भनेका छन्, ‘हामी त्यस्ता कुनै पनि देशबाट खुला आप्रवासन स्वीकार गर्न सक्दैनौं, जहाँबाट अमेरिका प्रवेश गर्न चाहने व्यक्तिहरूको सुरक्षित र भरपर्दो जाँच तथा छानबिन सम्भव हुँदैन ।’

उनले निष्कर्षमा भनेका छन्, ‘त्यसैले म आज एक नयाँ कार्यकारी आदेशमा हस्ताक्षर गर्दैछु, जसअन्तर्गत यमन, सोमालिया, हाइटी, लिबिया र अन्य थुप्रै देशहरूमाथि यात्रा प्रतिबन्ध लगाइनेछ । हामी हाम्रो देशमा हानि पुर्याउन चाहने व्यक्तिहरूलाई प्रवेश गर्न दिनेछैनौं र अमेरिकालाई सुरक्षित राख्न हामीलाई कुनै पनि कुराले रोक्न सक्दैन ।’

Nabintech