पार्टीको विद्यार्थी संगठन अनेरास्ववियुमा सर्वसम्मत नेतृत्व चयन गर्न एमाले नेताहरूले निकै प्रयास गरे । उनीहरूले बालुवाटारमा बसेर पनि सर्वसम्मत नेतृत्व चयनको प्रयास गरे । बालुवाटारमा नेताहरूले सहमति जुटाएर महाधिवेशन हलमा आएर सहमतिको प्रस्ताव पनि गरे । बालुवाटारमा जुटेको सहमतिअनुसार महाधिवेशनमा डा. सुजन कडरियाको नेतृत्वमा सर्वसम्मतिको प्यानल प्रस्तुत गरिएको थियो ।
तर, हलले त्यसलाई स्वीकारेन । विद्यार्थी प्रतिनिधिहरूले नाराबाजी र होहल्ला गरे । त्यसपछि भने सर्वसम्मतिले नेतृत्व चयन गर्न कस्सिएर लागेको निर्वाचन समिति चुनावी प्रक्रिया सुरु गर्न बाध्य भयो । चुनावी प्रक्रियामा अध्यक्षमा प्रकाश पौडेलले कडरियालाई चुनौती दिएका छन् । अध्यक्षका लागि पौडेल र कडरिया दुवैले उम्मेदवारी दर्ता गराएका छन् । पौडेल नेतृत्व चयन चुनावी प्रक्रियाबाटै हुनुपर्ने भएकाले उम्मेदवारी दर्ता गराएको बताउँछन् ।
सर्वसम्मतको कुरा केही पनि होइन । मैले उम्मेदवारी दर्ता गराइसकेँ । अब चुनाव नै हुन्छु, पौडेलले भनेका छन्, अरुले के गर्छन् थाहा भएन ।
उता पार्टी नेतृत्वले अध्यक्षका लागि प्रस्ताव गरेका कडरिया पनि पछि हट्ने कुरा भएन । उनले पनि अध्यक्षमा उम्मेदवारी दिएका छन् । मंगलबार राति उनले मनोनयन दर्ता गरेका हुन् । चुनावी प्रक्रियाअन्तर्गत आज नेतृत्व चयनका लागि भोटिङ हुने बताइएको छ ।
त्यस्तै एक महिला र एक खुला उपाध्यक्षमा पाँच जनाले उम्मेदवारी दिएका छन् । खुलातर्फ राजकुमार ढकाल, विकास श्रेष्ठले उम्मेदवारी दिँदा महिलातर्फ आरती भट्टराई, अञ्जना शिवाकोटी र भवानी बजगाईंको उम्मेदवारी परेको छ । दीपक धामी, आरके रोमश र सुनील कँडेलले महासचिवमा उम्मेदवारी दिएका छन् ।
एमालेको भ्रातृ संगठनहरूमा ९ जना पदाधिकारी हुने व्यवस्था छ । सोही अन्तर्गत झण्डै ५० जना विद्यार्थी नेताहरू पदाधिकारीको लागि मैदानमा छन् । चार जना सचिवका लागि मात्र २६ जना मैदानमा छन् ।